निर्वाचनको मुखमा राज्यकोषमाथि 'ब्रह्मलुट': म्यादी प्रहरीको पोसाक खरिदमा ४० करोडमाथिको सेटिङ
२०८२ माघ १७ शनिवार
- नेपाल प्रहरीका उच्च अधिकारी र सीमित ठेकेदारहरूको मिलेमतोमा बजार मूल्यभन्दा झन्डै दोब्बर बढी रकमको टेन्डर स्वीकृत गरेर राज्यकोषको व्यापक दुरुपयोग गरिएको हो।
काठमाडौं: आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन गर्न भर्ना गरिएका १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको नीतिगत भ्रष्टाचार भएको तथ्य फेला परेको छ।
नेपाल प्रहरीका उच्च अधिकारी र सीमित ठेकेदारहरूको मिलेमतोमा बजार मूल्यभन्दा झन्डै दोब्बर बढी रकमको टेन्डर स्वीकृत गरेर राज्यकोषको व्यापक दुरुपयोग गरिएको हो।
प्रहरी प्रधान कार्यालयले एक जना म्यादी प्रहरीका लागि आवश्यक पोसाक र बन्दोबस्तीका सामग्री खरिद गर्न ६ हजार ५ सय रुपैयाँको दररेट स्वीकृत गरेको छ, जबकि बजारको वास्तविक मूल्य यसको आधा मात्रै छ। प्राविधिक विश्लेषण अनुसार एक जना म्यादी प्रहरीका लागि दुई सेट पोसाक तयार पार्दा जम्मा ६ मिटर ४० सेन्टिमिटर कपडा आवश्यक पर्छ। बजारमा प्रति मिटर २ सय २५ रुपैयाँ पर्ने उच्च गुणस्तरको पीभी सुटिङ कपडा प्रयोग गर्दा पनि कपडाको कुल लागत १ हजार ४ सय ४० रुपैयाँ मात्र हुन्छ। यसमा गार्मेन्टको प्रकृति अनुसार प्रति व्यक्ति ३ सय २५ देखि ५ सय रुपैयाँसम्म सिलाइ ज्याला, दुई जोर जुत्ताको १ हजार रुपैयाँ (प्रतिजोर ५ सयका दरले), एउटा लठ्ठीको २२ रुपैयाँ ५० पैसा, कम्मरमा बाँध्ने पेटी (बेल्ट) को १ सय ५० रुपैयाँ र दुई जोर मोजाको १ सय २० रुपैयाँ मात्र पर्न आउँछ। यसरी एउटा स्वेटरसहितका सम्पूर्ण सामग्री जोड्दा पनि एक जना म्यादीको कुल खर्च ३ हजार ५ सय रुपैयाँभन्दा बढी पुग्दैन। तर, प्रहरीले प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भुक्तानी दिने सम्झौता गरेर प्रति म्यादी प्रहरी झन्डै ३ हजार रुपैयाँ सिधै भ्रष्टाचार गरेको देखिन्छ।
तर, भ्रष्टाचारको जालो यतिमा मात्रै रोकिएको छैन। एकातिर ३ हजार रुपैयाँ पनि नपर्ने सामग्रीलाई ६ हजार ५ सय रुपैयाँमा खरिद गर्ने सम्झौता गरिएको छ भने अर्कोतिर कपडाको गुणस्तरमा समेत ठुलो खेलबाड गरिएको छ। सम्झौतामा प्रति मिटर २ सय २५ रुपैयाँ पर्ने पीभी सुटिङको मूल्य राखिए पनि ठेकेदारहरूले नाफा कमाउनका लागि प्रति मिटर जम्मा १ सय २५ रुपैयाँ मात्रै पर्ने कमसल पोलिस्टर सुटिङ कपडा प्रयोग गरिरहेका छन्। जसले गर्दा मैदानमा खटिने म्यादी प्रहरीहरूको पोसाक दुई थरीको देखिने निश्चित भएको छ। कतिपय ठाउँमा गुणस्तरीय कपडा र कतिपय ठाउँमा अत्यन्तै कमसल र 'टाटेपाटे' सिलाइ भएका पोसाक देखिने हुँदा निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल र सङ्गठनको छविमा समेत धक्का पुग्ने देखिएको छ।
यस सेटिङमा विगत लामो समयदेखि प्रहरीको ठेक्कापट्टामा एकाधिकार जमाउँदै आएका ज्ञानेन्द्र बस्नेतको जय सलिना इन्टरप्राइजेज, मित्र लामाको समृद्धि इन्टरनेसनल, श्रवण अग्रवाल र राजमान मिश्रा जस्ता ठेकेदारहरूको नाम जोडिएको छ। प्रहरी प्रधान कार्यालयले नै विभिन्न जिल्लाहरूमा यी निश्चित ठेकेदारहरूलाई पोसाक आपूर्तिको जिम्मा दिन भन्दै मौखिक र लिखित दबाब दिएको छ।
यहाँ उल्लेख भएका टेन्डर हालेका गार्मेन्ट कम्पनीहरूमध्ये अधिकांशको त वास्तविक गार्मेन्ट समेत छैन, जसले टेन्डर हात पार्नकै लागि एजेन्सी खडा गरेका छन् र काम चाहिं अन्य गार्मेन्टलाई अझै सस्तोमा गराएर काम गरिरहेका छन।
निर्वाचन प्रयोजनका लागि सार्वजनिक खरिद ऐनको झन्झटिलो प्रक्रिया पुरा गर्नु नपर्ने प्रावधानको फाइदा उठाउँदै प्रहरीले सिधै 'कोटेसन' र 'सेटिङ'का भरमा यो करोडौँको घोटालालाई वैधानिकता दिने प्रयास गरेको छ।
सरकारले कपडाको गुणस्तर तोके पनि मूल्य नतोक्नु र गृह मन्त्रालयले यस विषयमा कुनै प्रभावकारी अनुगमन नगर्नुले यो भ्रष्टाचारमा राजनीतिक तहको पनि मौन समर्थन रहेको आशंका उब्जाएको छ। एकातर्फ राज्यकोषमा ४० करोडभन्दा बढीको सिधा क्षति पुगेको छ भने अर्कोतर्फ सुरक्षाकर्मीले पाउने पोसाकको गुणस्तरमा समेत चरम लापरबाही भएको छ। यस विषयमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरी राज्यकोषको दुरुपयोग रोक्न जरुरी देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड
-
गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन
-
उदयपुर सिमेण्टका तत्कालिन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्धा दायर
-
नेपाली कांग्रेसमा अब कुनै गुट छैन, पार्टीको जिम्मेवारी युवाको काँधमा: शुक्रराज शर्मा
-
नागढुङ्गा–मलेखु सडक विस्तारमा ढिलाइ : तीन वर्षमा ३७ प्रतिशत मात्रै काम, ६ महिना म्याद थप
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।