म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड

२०८२ माघ १८ आइतवार
सारांश
  • उनले अहिले नयाँ पुस्ताले मागिरहेको सुशासन र भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा आफुले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा भएको बताउदै देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् ।

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् ।

 

प्रचण्डले भनेका छन्- 'धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन् । तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ ।'

 

उनले अहिले नयाँ पुस्ताले मागिरहेको सुशासन र भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा आफुले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा भएको बताउदै देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् ।

 

उनले भने- 'तपाईँहरूले आज जे मागिरहनुभएको छ भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू मैले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा हुन्। मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।'

 

प्रचण्डले आफ्नो निजी जीवन बारे बोल्दै भने- 'मेरो जीवनको यात्रा एउटा खुल्ला किताब जस्तै छ। म त्यो पिता हुँ, जसले आफ्नै आँखा अगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्यो। म त्यो श्रीमान् हुँ, जसको जीवनसंगिनीले बीच बाटोमै साथ छोडेर गइन्। मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरू मात्र होइन, हजारौँ सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु।

 

एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ । तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बगाए। मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन । परिवर्तन अनिवार्य छ, र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ ।'

 

प्रचण्डले आफु खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताउदै देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने बताए । उनले आफ्नो काम अझै नसकिएको भन्दै  हार मान्न तयार नभएको समेत बताएका छन् । उनले भनेका छन्- हलिउडमा एउटा चर्चित संवाद छ 'या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू ।' यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन। तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन ।'

 

प्रचण्डले आफु नयाँ विचारहरूका लागि सधैँ खुला रहेको बताउदै नयाँ पुस्तालाई स्वागत गर्ने र नयाँपनलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । उनले प्रश्न सोध्न नछोड्न आग्रह गर्दै आफु त्यसको जवाफ दिन तयार रहेको र अझ बढी दबाब दिन समेत आग्रह गरेका छन् ।

 

प्रचण्डले अब अर्को २० वर्ष परीक्षण र त्रुटि गर्दै नयाँ नेताहरू जाँच्ने समय नभएको भन्दै गम्भीरतापूर्वक सोच्न सबैलाई आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार