चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती

२०८२ माघ ०८ विहिवार
सारांश
  • फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको ५ नम्बर क्षेत्र बनेको छ ।

काठमाण्डौ, ८ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको ५ नम्बर क्षेत्र बनेको छ ।

 

यो  झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो । यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनपछि अस्तित्वमा आएको थियो । झापा ५ मा दमक नगरपालिकाका सबै १० वटा वडा, कमल गाउँपालिकाका सबै ७ वडा, गौरादह नगरपालिकाको वडा १ देखि ८ नम्बर वडासम्म  र गौरीगन्ज गाउँपालिकाका ३ देखि ६ नम्बर वडा समेटिएको छ ।

 

झापा- ५ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ६३ हजार ३७९ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १८५ मतदान केन्द्र तोकिएको छ ।

 

पछिल्लो निर्वाचन:

 

यस क्षेत्रमा २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेर जितेका थिए । त्यस्तै नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । त्यस्तै रास्वपाका सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए ।

त्यस्तै समानुपातिकतर्फ सबै भन्दा बढी यस क्षेत्रबाट नेकपा एमालेले ३५ हजार ८७२ मत प्राप्त गरेको थियो । त्यस्तै रास्वपाले १८ हजार २०५,  नेपाली कांग्रेसले १६ हजार ८५९, माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत प्राप्त गरेका थिए ।

 

उम्मेदवार:

 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी एक पटक चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाहको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाली कांग्रेसबाट मन्दरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता रञ्जित तामाङको उम्मेदवारी परेको छ । त्यस्तै, यस क्षेत्रमा १० जना स्वतन्त्र उम्मेदवारले पनि आफ्नो उम्मेदवारी दिएका छन् । यता राप्रपाले लक्ष्मी प्रसाद संग्रौलालाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृति पार्टीले समिर तामाङलाई उम्मेदवार बनाएको छ ।

 

निष्कर्ष:

 

निष्कर्षमा झापा- ५ मा ओली र बालेनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । बालेनको क्रेज अहिले देश भर रहेको कुरालाई नजर अन्दाज गर्न सकिन्न । तर ओलीको क्षेत्रमा गएर बालेनले जित निकाल्न मेहनत भने गर्नुपर्ने देखिन्छ । ओलीले जित्दै आएको क्षेत्र र उनले समग्र झापामा गरेका काम बारे स्थानीयको नकारात्मक टिप्पणी नहुनु बालेनका लागि चुनौती हुन सक्छ ।

 

ओलीका लागि निरन्तर चुनाव जितिरहेको र स्थानीय हुनुको फाइदा हुने देखिन्छ । तर मनोनयन दर्ता पछिको अवस्थालाई हेर्दा उनले ढुक्कसँग चुनाव जित्न सक्छ भनेर भन्ने अवस्था भने देखिदैन ।

 

यस क्षेत्रमा खासगरी राप्रपा र काँग्रेसका मतदाताको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । यस अघिका निर्वाचनमा राप्रपा र एमालेबीच तालमेल हुने गरेको थियो र त्यो यस बर्ष पनि लगभग हुने दाबि गरिएको छ । अर्कोतर्फ काँग्रेसले चुनाव नजित्ने अवस्थामा आफ्ना मतदातालाई आफूमै राख्न सफल हुन्छ वा ओली या बालेनप्रति जान दिन्छ भन्ने पनि महत्वपूर्ण हुने देखिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार