मार्क्सवाद पढाएर कोहि उधमी बन्दैनन्

२०८२ असार १५ आईतवार
सारांश
  • राज्यले व्यवसाय गर्ने होइन । निजी क्षेत्रसङ्ग प्रतिस्पर्धा पनि गर्ने होइन । व्यवसाय गर्न, उत्पादन गर्न, वितरण गर्न निजी क्षेत्र सक्षम हुन्छन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ । सेना तथा प्रहरी जस्तो संस्थाले विकास निर्माणमा सहयोग गर्ने त हो तर आफैं ठेक्कामा सहभागि हुने होइन । यो नीजि तथा अन्य सार्वजनिक क्षेत्रको हो ।

आयोजना निर्माण गर्न किन राज्य आफै तम्सिने गर्छ ?
हाम्रो सरकारको एउटा विचित्रको व्यवहार रहेको छ । साना-ठुला सबै किसिमका आयोजनाहरु राज्य वा सरकार आफै निर्माण गर्न तम्सिने गर्दछ । आखिर किन सबै आयोजना सरकार आफै बनाउन अघि सर्दछ ? यस प्रश्नको उत्तर खोज्न सर्वप्रथम हामी यसको सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्दछ । यसलाई 'ट्र्याङ्गल अप्रोच' बाट बुझौँ - कुनैपनि देश वा समाज सफल हुनकोलागि तिनवटा पक्षको महत्त्वपूर्ण भूमिका रहन्छ । 

 

पहिलो - राज्य वा सार्वजनिक क्षेत्र । दोश्रो - निजी क्षेत्र वा बजार । तेश्रो - ज्ञान वा प्राज्ञिक क्षेत्र । यी तीनवटै क्षेत्रबिच समन्वय, सामञ्जस्य र सहकार्य हुनु अत्यावश्यक हुन्छ । यहाँ राज्यको भूमिका अभिभावकको हो । राज्यले स्रोतको व्यवस्थापन लगायतका काम र लगानी गर्ने वातावरण निर्माण गर्ने हो । संरचना निर्माण गर्ने हो । अनुगमन र विनियमन गर्ने हो । भने निजी क्षेत्रले उत्पादन गर्ने, रोजगारी सृजना गर्ने, दायित्त्व अनुसारको कर राज्यलाई तिर्ने आदि । त्यस्तै,  प्राज्ञिक क्षेत्रले राज्य र बजारका लागि आवश्यक ज्ञानको निर्माण,  कानून वा संरचनात्मक सुधारको आवश्यकता खोजी गरी तथा बजार र सार्वजनिक क्षेत्रको लागि उपयुक्त मानवीय पूँजीको निर्माण गर्नु तथा अध्ययन अनुसन्धानबाट प्राप्त ज्ञानका आधारमा अन्य थप सुझाव र पृष्ठपोषणको काम गर्ने हो ।

 

हाम्रो राज्य र सरकार आफ्नो भूमिकाको विषयलाई लिएर अस्पष्ट र प्रचूर द्धिविधामा रहने गरेको छ । राज्यले व्यवसाय गर्ने होइन । निजी क्षेत्रसङ्ग प्रतिस्पर्धा पनि गर्ने होइन । व्यवसाय गर्न, उत्पादन गर्न, वितरण गर्न निजी क्षेत्र सक्षम हुन्छन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ । सेना तथा प्रहरी जस्तो संस्थाले विकास निर्माणमा सहयोग गर्ने त हो तर आफैं ठेक्कामा सहभागि हुने होइन । यो नीजि तथा अन्य सार्वजनिक क्षेत्रको हो । राज्यले निजी क्षेत्रसङ्ग प्रतिस्पर्धा गर्दा उत्पादकत्त्व बढ्दैन बरु यस्तो प्रतिस्पर्धाले बजारलाई सँधै अस्थिर बनाउछ । राज्यले यता आफ्नो मूल भूमिका अनुगमन तथा नियमन नगर्दा निजी क्षेत्रले ईमान्दारिता नदेखाउने, कर छलि गर्ने आदि गतिविधि गर्नसक्छ । त्यसकारण राज्य सदैव आफ्नो भूमिकालाई लिएर स्पष्ट हुनुपर्दछ । राज्यको निजी क्षेत्रलाई सहजीकरणको नीतिले संसारमा कयौँ प्राईभेट कम्पनीले सफलता हात पारेको तथ्य हाम्रो सामु यथेष्ट छ ।

 

यसैबिच हाम्रो प्राज्ञिक वर्गले  भने पूर्ण रुपमा राज्य र प्राईभेट क्षेत्रबाट अलग अर्थात आइसोलेटेड भएर बसेको छ । उसले न सरकार वा राज्यलाई कुनै किसिमको भूमिकालाई लिएर प्रश्न उठाउन सकेको छ, न कुनै उपयुक्त ज्ञानको उत्पादन मार्फत राज्यको नीति तथा संरचनात्मक सुधारमा यथेष्ट भूमिका निर्वाह गर्न सकेको छ । अझ बजारसम्बन्धी त उनीहरुको ज्ञान शुन्यप्रायः रहेको देखिन्छ । निजी क्षेत्रले भोगेको समस्यालाई लिएर पनि उनीहरु अनविज्ञ वा कमजोर बुझाइमा देखिन्छन् । हो, यसमा प्राज्ञिक वर्गप्रति राज्यले आफ्नो तर्फबाट सहजीकरण गर्नुपर्ने कुराहरुमा चुकेको होला ! माथी भनेजस्तो राज्य धेरै कुरामा आफ्नो भूमिकाप्रति अस्पष्ट छ नै ।  त्यसकारण हाम्रा यी तीन क्षेत्र - राज्य, निजी क्षेत्र र प्राज्ञिक वर्ग छुट्टाछुट्टै तीन दिशामा मूख फर्काएर बसेको स्थितिमा हाम्रो विकासको सम्भावना न्युन हुने नै भयो । यसर्थ, यी तीनै क्षेत्रबिच कसिलो सहकार्य एवं समन्वयको खाँचो छ, साझा धारणाको आवश्यकता छ ।

 

पूँजी विरुद्ध नकारात्मक भाव
नेपालमा जनताहरू पूँजी विरुद्ध द्रोहभाव किन राख्छन् भन्ने प्रश्न सबैले बुझ्नु आवश्यक छ । यसमा हाम्रो शिक्षा प्रणालीको पनि दोष छ । हाम्रो शिक्षा प्रणालीले उत्पादनलाई जोड्ने सिकाइ भन्दा सजिलो मनोरञ्जन वा कलाका क्षेत्रमा बढी बाल बालिकालाई संलग्न बनाउछ । उत्पादनमा जोड्न वा उद्यमशीलताका क्षेत्रको खोज तथा अनुसन्धान  र अभ्यासको भन्दा परका विषयलाई बढी प्राथमिकतामा राखेको पाइन्छ । राज्यको लगानीमा पूर्णरुपमा कुनै अमुक वाद र दर्शनलाई खरो पढाइ हुन्छ । पूँजीको सम्मान कुनै वाद वा दृष्टिकोणले गर्ने होइन यो अभ्यास र स्रोतको महत्वम बुझाइबाटमात्र प्राप्त हुन्छ ।

 

विश्वबिध्यालयमा मार्क्सवाद वा अन्य कुनै एक निश्चित विचारधारा पढाइनु हुँदैन । विश्वविद्यालय स्तरमै यस्ता विषयको तालिम हुँदा युवाहरूमा पूँजीलाई लिएर नकारात्मक भाव पैदा गराइ रहेको छ । यसले हाम्रो युवाहरुमा हुनसक्ने उद्यमशिलतालाई विस्तार भन्दा सस्तो लोकपृयतालाई प्रोत्साहन मार्फत उनिहरूको उद्यमशीमशीलतालाई नष्ट गर्न सघाउ पुर्याएको छ । 

 

अर्को, हाम्रो सामाजिक सिकाइले पनि गलत दिशा लियो । समाजलाई विविध कोण विभाजन गरियो । स्वार्थ समूहले आफ्ना अनुकूलनमा गलत भाष्यहरू समाजमा स्थापित गर्न सफल भए । राज्यबाट अपेक्षाकृत विकास प्राप्त नभएपछी जनतामा देखिएको असन्तुष्टी एक राजनीतिक एजेण्डा बन्ने रहेछ । त्यस्तो राजनीतिक एजेण्डाले नीतिगत संरचनाहरुमा प्रहार गर्दछ । त्यसैको फलस्वरूप नेपालमा वितरणमुखी अर्थनीति हावी भयो, जसले गर्दा सामाजिक लोकपृयता बढ्यो तर त्यसले दिर्धकालिन रुपमा पूँजी निर्माणमा राज्यको प्राथमिकता परेन । यसबाट नेपालको आर्थिक परिस्थितिले झनै उल्टोबाटो समात्यो ।

 

कतिपयले (विशेष गरेर कम्युनिष्ट दल निकट नेता-कार्यकर्ता-बुद्धिजीविले) आफ्नो तत्कालिन लाभ हेरेर पूँजी विरुद्ध भाष्य निर्माण गरे । पूँजी हुनेहरु सामन्ती, शोषक, दलाल हुन्छन् भन्ने गलत बुझाई प्रसार गरे । पूँजी शोषणको माध्यम हो भन्ने भनाईलाई समाजमा व्यापक बिक्रि गरे ।  पूँजी सबैसङ्ग हुन्छ भन्ने हुँदैन, मानिसलाई आफूसङ्ग नभएको चिजको विरोध गर्न उक्साए । जनताहरुले आर्थिक विकासको अपेक्षा राख्ने तर तिनै जनता पूँजी विरुद्ध नकारात्मक भाव राख्ने हाम्रो सामाजिक मनोविज्ञानमा व्यापक परिवर्तन हुन जरुरी छ । तपाईं गाडी चढेर हिंड्न रुचाउनुहुन्छ तर सडक निर्माणमा बिरोध गर्नुहुन्छ, यो विरोधाभाषबाट हामी निस्कनुपर्दछ । कम्युनिष्ट फिलोसफी जन-जनको मस्तिष्कमा बस्न सफल भएको छ । यसबाट यथाशिघ्र छुटकारा लिनुपर्दछ । आर्थिक उदारता र सम्पत्तिमा निजी स्वामित्त्वले चीनको आर्थिक छलाङ हामीले प्रत्यक्ष देखेकै छौँ । चीनले सन् १९९५ देखि २००५ को बिचमा झण्डै १ लाख सार्वजनिक संस्थानहरुलाई निजीकरण गरेको थियो । यहि बिचमा भारतले २५ हजार सार्वजनिक संस्थानहरुलाई निजीकरण गऱ्यो । नेपालले अहिलेसम्म अस्तित्वमा रहेका जम्मा ४४ वटा सार्वजनिक संस्थाहरू रहेका छन ।

 

नेपालका दलहरुमा हुन नसकेको आर्थिक बहस
पार्टीगत रुपमा नेपालको दलहरू लगायत संसदीय समितिमा समेत आर्थिक नीतिबारे अहिलेसम्म बहस भएको मैले सुनेको छैन । बजेटबारे छलफल हुने त गर्छ तर त्यो छलफल बजेटको कार्यक्रमलाई लिएर हुनेगरेको छ । त्यहाँ हुने बहस भनेको – कस्को निर्वाचन क्षेत्रमा कति पर्यो वा मेरो निर्वाचन क्षेत्र वा जिल्लामा बजेट कम वा परेन लगायतका विषयमामात्र केन्द्रित भएको देखिन्छ । वार्षिक कार्यक्रमका विषयमा छलफल हुन्छन तर नेपालको समग्र आर्थिक नीति कस्तो हुने र त्यसको संरचनात्मक सुधार कसरी गर्ने भन्ने विषयमा बहश शुल्यप्राय छ । यसले हाम्रो विधायिकी दक्षतामा समेत प्रश्न गर्नुपर्ने अवस्था आएको छ । हाम्रो विधायिकी बहशको दायरा विस्तार गर्नु आवश्यक छ ।

 

संविधानको 'समाजवाद'
हाम्रो सन्दर्भमा, हाम्रो संविधानले परिकल्पना गरेको समाजवाद कस्तो खालको हो ? यो उन्मुख मात्रै हो कि पूर्णरुपमा प्राप्त गर्ने किसिमको हो ? यसको लक्ष्य के हो प्रष्ट छैन । त्यसकारण सैद्धान्तिक रुपमा हाम्रो मार्गदर्शक सिद्धान्तहरु गलत छन् । साधारतया भन्नुपर्दा समाजवाद भन्ने बित्तिकै राज्य नियन्त्रित अर्थ-व्यवस्था वा समाजकल्याण राज्यको पहिलो भूमिका हो । त्यसकारण संविधानले प्रावधान गरेको 'समाजवाद-उन्मुख अर्थ-व्यवस्था'  तत्कालको लागि पूँजी निर्माण र विकासका लागि घातक छ ।

 

हामी नेपालमा गजबको 'हिपोक्रेसी' देख्न सक्छौँ । राजनीतिक दलका नीतिगत तहका पधाधिकारीहरु हुनुहुन्छ, संसदमा प्रतिनिधित्त्व गर्ने माननीयहरु हुनुहुन्छ, मन्त्री आदि हुनुहुन्छ जसले समाजवादको पक्षमा बोल्नुहुन्छ, समाजवादलाई प्रवर्द्धन गर्नुहुन्छ तर उहाँहरुकै निजी अस्पताल, विद्यालय र क्याम्पस छन् । विभिन्न होटेल, रेष्टुराँ, घर-जग्गा, वित्तिय संस्था आदिमा लगानी छ । त्यसकारण जसरी निजी सम्पत्ति, लगानी, नाफा, प्रतिस्पर्धा आदिको उदार-अर्थनीतिले ग्यारेन्टी गर्दछ त्यसरी नै समाजवादले यस्ता विषयमा बन्देज लगाउँदछ ।  


तीनखम्बे अर्थनीतिः सिद्धान्ततः गलत
हामीले बुझ्नुपर्ने कुरा के भने अर्थतन्त्रमा जहिलेपनि दुईवटा पक्षहरु हुने गर्छन् । एउटा सार्वजनिक क्षेत्र, अर्को, निजी क्षेत्र । तेस्रो पद्धती के हुनसक्छ भने - निजी र सार्वजनिकबिचको सहकार्य । दुर्भाग्य, हाम्रो सरकारी दस्तावेजमै तीनखम्बे अर्थ-नीति अन्तर्गत सार्वजनिक,  नीजि र सहकारीलाई समेटिएको छ । जुन सैद्धान्तिक रुपमै गलत छ । सहकारी एउटा खम्बा हुनै सक्दैन । बरु यसलाई निजी क्षेत्रको एउटा अङ्ग बनाउनु पर्दछ । अहिले नेपालको 'ग्रे इकोनोमी'को ठुलो आकार हुनुको कारण पनि सहकारीलाई तीनखम्बे नीति अन्तर्गत राखेर हो । त्यसैले सहकारी एक सहायक वित्तीय विधी हुनसक्छ तर एउटा सिङ्गो संरचना नै मानेर हेर्नु हुँदैन ।

 

पूँजी निर्माणको तरिका 
हामीलाई विकासकोलागि लगानी चाहिन्छ । लगानीकोलागि पूँजी निर्माण गर्नुपर्ने हुन्छ । तपाईंको आम्दानी, उपभोग र खर्चको दृष्टिकोणबाट हेर्दा - आम्दानीबाट उपभोग र खर्च घटाएर बचेको बचतलाई लगानी गरेपछि पूँजी निर्माण हुने हो । तपाईंको आम्दानीलाई जबसम्म लगानीसङ्ग जोड्नु हुँदैन तबसम्म तपाईं धनी बन्न सक्नुहुन्न । नेपालीको समस्या के भने - धनी बन्न पूँजीको सम्मान गर्नुपर्छ भन्ने ज्ञान नै छैन । त्यही ज्ञानको अभावमा नै पूँजी विरुद्ध द्रोहभाव राख्ने गर्छन् । रेमिट्यान्सको दुरुपयोग हुनुको कारण पनि यहि हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप लेखहरु