मकवानपुर क्षेत्र नं. १ को निर्वाचनः महालक्ष्मी उपाध्याय ‘डीना’ को संसदीय सान्दर्भिकता

२०८२ माघ २१ बुधवार
सारांश
  • ४० वर्ष लामो राजनीतिक अनुभव, पार्टीको उच्च तहमा पहुँच र संसदीय प्रक्रियाको गहिरो ज्ञान भएका कारण उनको उपस्थिति यसपटकको संसद्मा किन अनिवार्य छ भन्ने तथ्यहरूले उनको उम्मेदवारीलाई थप बलियो बनाएका छन् ।

मकवानपुर: आगामी फागुन २१ गते हुने निर्वाचनले मकवानपुर क्षेत्र नं. १ मा यतिबेला चुनावी माहोल तताएको छ । नेपाली कांग्रेसका तर्फबाट महालक्ष्मी उपाध्याय ‘डीना’, नेकपा एमालेबाट रामेश्वर राना, नेकपाबाट विजय गौतम, रास्वपाबाट प्रकाश गौतम र राप्रपाबाट दीपक सिंह लगायत चुनावी मैदानका सशक्त खेलाडीका रूपमा देखा परेका छन् । 

 

मकवानपुर १ का लागि यो चुनाव केवल एकजना जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यसले राष्ट्रिय राजनीतिमा मकवानपुरको पहुँच र संसद्मा प्रभावकारी नेतृत्वको उपस्थितिलाई पनि निर्धारण गर्नेछ ।

 

यस निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ प्रमुख उम्मेदवारका रूपमा मैदानमा छिन् । ४० वर्ष लामो राजनीतिक अनुभव, पार्टीको उच्च तहमा पहुँच र संसदीय प्रक्रियाको गहिरो ज्ञान भएका कारण उनको उपस्थिति यसपटकको संसद्मा किन अनिवार्य छ भन्ने तथ्यहरूले उनको उम्मेदवारीलाई थप बलियो बनाएका छन् ।

 

 

राजनीतिक निरन्तरता र ४० वर्षको सांगठनिक अनुभव

 

महालक्ष्मी उपाध्याय ‘डीना’ को राजनीतिक पृष्ठभूमि कुनै आकस्मिकता होइन, बरु यो चार दशक लामो निरन्तर संघर्षको परिणाम हो । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय उपाध्यायले पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बहालीका लागि आफ्नो सम्पूर्ण जीवन खर्चिएकी छिन् । उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ तहदेखि सुरु भएर नेपाली कांग्रेसको सह–महामन्त्री जस्तो शक्तिशाली पदसम्म पुग्यो । यसबीचमा उनले भोगेका राजनीतिक उतारचढाव, जेल जीवन र हिरासतका अनुभवहरूले उनलाई एक परिपक्व र अनुभवी नेताका रूपमा स्थापित गरेका छन् । मकवानपुरको सन्दर्भमा, उनले यहाँका प्रत्येक गाउँ र बस्तीका समस्याहरूलाई नजिकबाट बुझेकी छिन् ।

 

राजनीतिमा अनुभवको महत्व यसकारण हुन्छ कि अनुभवी नेताले मात्र राज्यको नीति निर्माणमा परिपक्व भूमिका खेल्न सक्छ । डीना उपाध्यायले पार्टीको केन्द्रीय कार्यसमिति र संविधानसभा सदस्यका रुपमा लामो समय रहेर काम गरेकी छिन् । उनले संविधान निर्माणका साथै पार्टीको विधान निर्माण, संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनका हरेक मोर्चामा आफूलाई प्रमाणित गरिसकेकी छिन् । उनको यो अनुभव मकवानपुर क्षेत्र नं. १ का मतदाताका लागि एउटा ठूलो पुँजी हो । 

 

निर्वाचन जित्नु र संसद्मा गएर आफ्नो क्षेत्रको मुद्दालाई प्रभावकारी ढंगले राख्नु दुई फरक कुरा हुन् । डीनासँग ती मुद्दाहरूलाई राष्ट्रिय स्तरमा बहसमा ल्याउन सक्ने राजनीतिक क्षमता छ । उनले विगतमा गरेका संघर्षहरूले नै उनलाई आजको अवस्थामा ल्याएको हो । उनको राजनीतिक यात्रामा निष्ठा र अडान सधैं प्रधान रहेका छन् । कुनै पनि राजनीतिक लोभ वा अवसरका लागि उनले आफ्नो आदर्श कहिल्यै त्यागिनन् । त्यसैले, मकवानपुरका मतदाताले उनलाई एक भरोसायोग्य नेताका रूपमा हेरिरहेका छन् । ४० वर्षको यो लामो लगानीलाई यसपटक मकवानपुरका मतदाताले उच्च मूल्यांकन गर्ने अपेक्षा गरिएको छ ।

 

 

संसदीय भूमिका र ३३ प्रतिशत महिला सहभागिताको नेतृत्व साथै ५० प्रतिशतको लक्ष्य

 

नेपालको संसदीय इतिहासमा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन डीना उपाध्यायले खेलेको भूमिका ऐतिहासिक छ । उनी केवल एक सांसदका रूपमा मात्र सदनमा रहिनन्, बरु नीति निर्माणको तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिन् । विशेषगरी संविधान निर्माणका क्रममा र पार्टीको विधान परिमार्जन गर्दा उनले राज्यका हरेक निकायमा महिलाको ५० प्रतिशतको सहभागिताको माग सशक्त उछाइन् र ३३ प्रतिशत सहभागिता अनिवार्य लागु गराउन भूमिका खेलिन् । जसको फल आज नेपालको राजनीतिले पाइरहेको छ । उनले संसद्मा पटक–पटक उठाएको एउटा मुख्य विषय हो– “संख्यात्मक उपस्थिति मात्र पर्याप्त छैन, निर्णायक तहमा महिलाको पहुँच हुनुपर्छ ।” उनले विगतमा संसद्मा बोल्दै भनेकी थिइन् कि जबसम्म महिलाहरू नीति निर्माण र कार्यान्वयनको मुख्य तहमा पुग्दैनन्, तबसम्म समावेशी लोकतन्त्रको लक्ष्य पूरा हुन सक्दैन ।

 

उनी संसद्मा रहँदा केवल महिलाका मुद्दामा मात्र सीमित रहिनन् । उनले जलस्रोत राज्यमन्त्रीका रूपमा कार्यभार सम्हाल्दा जलस्रोतको उचित उपयोग र ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण नीतिगत निर्णयहरू गराएकी थिइन् । उनको संसदीय दक्षता यसकारण पनि आवश्यक छ कि उनले ऐन, कानुन र नियमावलीहरू बनाउँदा जनमैत्री हुनुपर्छ भन्नेमा सधैं जोड दिएकी छिन् । अहिले पनि धेरै पुराना कानुनहरूका कारण जनताले सेवा पाउन कठिनाइ भइरहेको सन्दर्भमा, ती कानुनहरूको संशोधन र परिमार्जनका लागि डीना जस्तो अनुभवी व्यक्तिको संसद्मा उपस्थिति अनिवार्य देखिन्छ । उनले विगतमा सदनमा प्रस्तुत गरेका तर्कहरू र विधेयकहरूमाथिको छलफलमा राखेका धारणाहरूले उनको उच्च बौद्धिक क्षमतालाई पुष्टि गर्छन् । मकवानपुर क्षेत्र नं. १ बाट उनी संसद्मा पुग्दा केवल एउटा जिल्लाको प्रतिनिधि मात्र होइन, सिंगो देशकै नीति निर्माणमा प्रभाव पार्न सक्ने एक सक्षम विधायकको उपस्थिति हुनेछ । उनले महिला सशक्तिकरणका लागि गरेका कानुनी लडाइँहरू र सदनमा दिएका अभिव्यक्तिहरूले उनलाई एक सफल संसदीय व्यक्तित्वका रूपमा स्थापित गरिसकेका छन् । त्यसैले, संसद्मा एक सशक्त र अनुभवी आवाजको रूपमा उनको उपस्थिति यसपटकको मुख्य आवश्यकता हो ।

 

सुरक्षित बाटो त्यागेर प्रत्यक्ष निर्वाचनको मैदानमा

 

यसपटकको निर्वाचनमा डीना उपाध्यायको एउटा निर्णयले सबैको ध्यान आकर्षित गरेको छ । 

 

नेपाली कांग्रेसको सह–महामन्त्री जस्तो उच्च पदमा रहीसकेकी उनी समानुपातिक तर्फको बन्दसूचीमा पहिलो नम्बरमा बसेर सहजै सांसद बन्ने अवसर उपलब्ध थियो । त्यसका अलावा राष्ट्रिय सभाको सहज बाटो पनि थियो । तर, उनले त्यो सुविधायुक्त र सुरक्षित बाटो रोजिनन् । उनको स्पष्ट अडान थियो कि संसद्मा जानाका लागि जनताको प्रत्यक्ष मत र विश्वास प्राप्त गर्नुपर्छ । यो निर्णयले उनको आत्मविश्वास र मकवानपुरका जनताप्रतिको उत्तरदायित्वलाई प्रस्ट पार्छ । 

 

प्रत्यक्ष निर्वाचनमा जाँदा जनतासँग सिधै जोडिन पाइने, उनीहरूका समस्या सुन्न पाइने र निर्वाचित भएपछि जनताप्रति जवाफदेही हुन सहज हुने उनको मान्यता छ । समानुपातिकबाट सांसद बन्नु र प्रत्यक्ष निर्वाचित भएर आउनुमा राजनीतिक वजन र नैतिक शक्तिको ठूलो अन्तर हुन्छ ।

 

डीनाले यसपटक प्रत्यक्ष निर्वाचन रोज्नुको पछाडि मकवानपुर क्षेत्र नं. १ को विकास र यहाँका अधुरा योजनाहरूलाई पूर्णता दिने दृढ संकल्प रहेको देखिन्छ । उनले चुनावी सभाहरूमा भनेकी छिन्– “मलाई पदको लोभ छैन, मलाई त मकवानपुरका जनताको सेवा गर्ने र यहाँको मुहार फेर्ने अवसर चाहिएको हो ।” एउटा नेताले जब सुरक्षित विकल्प छाडेर संघर्षको मैदान रोज्छ, त्यसले उसको नेतृत्व क्षमता र इमानदारितालाई झल्काउँछ । मकवानपुरमा लामो समयदेखि देखिएको राजनीतिक शून्यता र विकासको सुस्त गतिलाई चिर्नका लागि एक शक्तिशाली र प्रत्यक्ष निर्वाचित नेतृत्वको आवश्यकता छ । 

 

डीना उपाध्यायले प्रत्यक्ष निर्वाचनमा उत्रिएर आफूलाई जनताको कसीमा जाँचिन तयार गरेकी छिन् । यो कदमले उनलाई मतदातामाझ थप लोकप्रिय बनाएको छ । त्यो सँगै पार्टीभित्र देखिएका विगतका तितो–मिठोको अवस्था सेटल भएको छ । यसले कार्यकर्ताहरूमा उत्साह पैदा भएको छ  । प्रत्यक्ष निर्वाचित सांसदको हैसियतले केन्द्र सरकारसँग बजेट र योजनाका लागि बार्गेनिङ गर्न जति सहज हुन्छ, त्यो समानुपातिक सांसदका लागि हुँदैन । त्यसैले, मकवानपुरको समग्र विकासका लागि र केन्द्रमा जिल्लाको दह्रो उपस्थिति जनाउनका लागि डीना उपाध्यायले रोजेको यो प्रत्यक्ष निर्वाचनको बाटो अत्यन्तै सराहनीय र रणनीतिक रूपमा सही छ ।

 

हेटौँडालाई ‘साँच्चिकै’ प्रदेश राजधानी बनाउने संकल्प

 

बागमती प्रदेशको राजधानीलाई हेटौंडामा लैजानको लागि तत्कालीन समयमा नेतृत्वलाई उच्च दवाव सिर्जना गराएकी डिना र नेपाली कांग्रेसले राजधानी त हेटौंडा लैजान सफल भयो तर राजधानीले पाउनुपर्ने प्रशासनिक गरिमा र पूर्वाधार अझै अपुरो छ । महालक्ष्मी उपाध्याय ‘डीना’ को मुख्य चुनावी एजेन्डा नै हेटौँडालाई ‘साँच्चिकै’ र ‘पूर्ण’ प्रदेश राजधानी बनाउनु हो । राजधानी भनेको केवल केही सरकारी भवनहरू हुनु मात्र होइन, यसको कनेक्टिभिटी, पूर्वाधार र सेवा प्रवाह अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्छ भन्ने उनको मान्यता छ । अहिले पनि धेरै प्रादेशिक संरचनाहरू हेटौँडामा पूर्ण रूपमा स्थापित हुन सकेका छैनन्, जसका कारण कर्मचारी र सेवाग्राहीलाई काठमाडौँकै मुख ताक्नुपर्ने अवस्था छ । 

 

डीनाले यसपटकको संसद्मा हेटौँडाको यो अधुरो पहिचानलाई पूर्णता दिन विशेष पहल गर्ने संकल्प गरेकी छिन् । उनले हेटौँडालाई काठमाडौँ र तराईसँग जोड्ने फास्ट ट्रर्याक, कान्ति लोकपथ र सुरुङ मार्ग जस्ता आयोजनाहरूलाई समयमै सम्पन्न गराई हेटौँडालाई ‘ट्रान्जिट हब’ का रूपमा विकास गर्ने योजना अघि सारेकी छिन् ।

 

उनको दृष्टिकोणमा हेटौँडाको विकास हुनु भनेको सिंगो मकवानपुरको आर्थिक गतिविधि बढ्नु हो । उनले हेटौँडालाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्नका लागि आवश्यक पर्ने चक्रपथ निर्माण, ढल निकास र व्यवस्थित बसोबासका योजनाहरूलाई केन्द्र सरकारको बजेटमा प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएकी छिन् । राजधानी सहरमा हुनुपर्ने विशेषज्ञ अस्पताल, प्राविधिक विश्वविद्यालय र आइटी पार्क जस्ता संरचनाहरू निर्माण गरी हेटौँडालाई शैक्षिक र स्वास्थ्य केन्द्रका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ । प्रदेश राजधानीका रूपमा हेटौँडाको विकास हुँदा यहाँको पर्यटन र व्यापारमा पनि ठूलो टेवा पुग्ने उनको विश्लेषण छ । 

 

 

डीना उपाध्याय जस्तो केन्द्रमा प्रभाव राख्ने नेता संसद्मा हुँदा मात्र हेटौँडाको यो गुरुयोजनाले मूर्त रूप पाउने सम्भावना रहन्छ । उनले विगतमा जलस्रोत राज्यमन्त्री हुँदा देखाएको कार्यक्षमताले पनि उनी ठूला पूर्वाधार आयोजनाहरू अघि बढाउन सक्षम छिन् भन्ने पुष्टि गर्छ । हेटौँडाको गौरव बढाउन र यसलाई देशकै नमूना राजधानी सहर बनाउनका लागि डीनाको स्पष्ट मार्गचित्र र दृढ इच्छाशक्ति यसपटकको निर्वाचनको मुख्य आकर्षण बनेको छ ।

 

किन डीनालाई नै भोट ?

 

यो निर्वाचनमा मतदाताका सामु धेरै उम्मेदवारहरू छन्, तर डीना उपाध्यायलाई नै भोट दिनुपर्ने केही ठोस र वस्तुपरक आधारहरू छन् । 

 

पहिलो आधार भनेको उनको ‘नीतिगत पहुँच र प्रभाव’ हो । डीना नेपाली कांग्रेसको सह–महामन्त्री रहिसकेकी छिन् । उनले निर्वाचन जित्दा उनी केवल एक सामान्य सांसद मात्र हुन्नन्, उनी सत्ता र शक्तिको केन्द्रमा सिधै संवाद गर्न सक्ने र मन्त्रिपरिषद्मा प्रभाव पार्न सक्ने नेतृत्व हुन् । मकवानपुरको विकासका लागि केन्द्र सरकारबाट बजेट ल्याउन, प्रदेश सरकारलाई प्रभाव पार्न र योजना स्वीकृत गराउन उनको यो हैसियत अरू उम्मेदवारको तुलनामा निकै माथि छ । 

 

दोस्रो आधार उनको ‘स्वच्छ र निष्कलंक छवि’ हो । ४० वर्षको लामो राजनीतिक जीवनमा उनीमाथि कुनै पनि भ्रष्टाचार वा आर्थिक अनियमितताको आरोप लागेको छैन । उनको इमानदारिता र निष्ठा नै उनको सबैभन्दा ठूलो राजनीतिक पूँजी हो ।

 

तेस्रो आधार उनको ‘संसदीय अनुभव’ हो । संसद् भनेको विकास बजेट माग्ने ठाउँ मात्र होइन, यो कानुन बनाउने ठाउँ पनि हो । डीनासँग संसद्का समितिहरूमा बसेर कानुन निर्माण गरेको र राज्यका जटिल मुद्दाहरूमा बहस गरेको गहिरो अनुभव छ । नयाँ र अपरिपक्व व्यक्तिलाई संसद्को प्रक्रिया बुझ्न नै धेरै समय लाग्छ, तर डीनाले पहिलो दिनदेखि नै मकवानपुरको पक्षमा प्रभावकारी भूमिका खेल्न सक्छन् ।

 

चौथो आधार ‘महिला नेतृत्व र सामाजिक न्याय’ हो । संसद्मा महिलाका मुद्दा, किसानका समस्या र सुशासनको पक्षमा उनले सधैं निर्भीकतापूर्वक आवाज उठाउँदै आएकी छिन् । उनको जितले मकवानपुरका हजारौँ महिला र पिछडिएका समुदायको आवाजलाई राष्ट्रिय मञ्चमा पु¥याउने ग्यारेन्टी गर्छ । 

 

पाँचौँ आधार ‘स्थानीयता र जवाफदेहिता’ हो । उनी मकवानपुरकै माटोमा जन्मी–हुर्की यहीँको राजनीतिमा खारिएको नेता हुन् । उनका लागि हेटौँडा र मकवानपुर केवल निर्वाचन क्षेत्र मात्र होइनन्, उनको कार्यथलो पनि हुन् । उनी निर्वाचनपछि पनि यहीँका जनताको सुखदुःखमा उपलब्ध हुने नेतृत्व हुन् । 

 

यी सबै कारणहरूले गर्दा मकवानपुर क्षेत्र नं. १ का सचेत मतदाताले यसपटक अनुभवी, पहुँचवाला र निष्ठावान् नेताका रूपमा डीना उपाध्यायलाई नै रोज्नुपर्ने देखिन्छ ।

 

 

कृषि, उद्योग र सुशासनको ठोस कार्ययोजना

 

मकवानपुर क्षेत्र नं. १ को आर्थिक र सामाजिक रूपान्तरणका लागि डीना उपाध्यायले अघि सारेको कार्ययोजना अत्यन्तै व्यावहारिक र समयसापेक्ष देखिन्छ । मकवानपुरको एक ठूलो हिस्सा कृषिमा आधारित छ । तर, किसानहरूले समयमा मल नपाउने, सिँचाइको असुविधा र उत्पादनको उचित मूल्य नपाउने समस्या वर्षौँदेखि भोग्दै आएका छन् । उपाध्यायले यो विषयलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएकी छिन् । उनले रासायनिक मलको निर्भरता घटाएर प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने र माटोको उर्वराशक्ति बचाउनका लागि राज्यस्तरबाटै विशेष प्याकेज ल्याउनुपर्ने कुरामा जोड दिएकी छिन् । उनको तर्क छ कि जबसम्म किसानको जीवनस्तर सुध्रिँदैन, तबसम्म देशको अर्थतन्त्र बलियो हुन सक्दैन । यसका लागि उनले संसद्मा कृषि क्षेत्रको बजेट वृद्धि र किसानलाई उत्पादनका आधारमा सिधै अनुदान दिने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

 

कृषिसँगै हेटौँडाको औद्योगिक विकास पनि उनको प्राथमिकतामा छ । हेटौँडालाई बागमती प्रदेशको राजधानी घोषणा गरिए पनि यहाँका पुराना उद्योगहरू धराशायी हुँदै गएका छन् । डीनाले ती उद्योगहरूको पुनरुत्थान गर्ने र नयाँ औद्योगिक क्षेत्रहरूको विस्तार गरी स्थानीय युवाहरूलाई रोजगारी दिने योजना अघि सारेकी छिन् । उनले रोजगारीका लागि विदेश पलायन हुने युवाहरूको संख्या घटाउन स्थानीय तहमै सीपमूलक शिक्षा र उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति बनाउने बताएकी छिन् । 

 

यसका साथै, सुशासनको मुद्दामा पनि उनको स्पष्ट अडान छ । भ्रष्टाचार न्यूनीकरण र सरकारी सेवामा सहज पहुँच उनका राजनीतिक लक्ष्य हुन् । उनले भनेकी छिन् कि सरकारी कार्यालयहरूमा जनताले पाउने सास्तीको अन्त्य हुनुपर्छ र प्रविधिको प्रयोग गरी सेवालाई झन्झटमुक्त बनाउनुपर्छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा मकवानपुरमा देखिएका समस्या समाधानका लागि उनले जिल्लाका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र हेटौँडा अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने ठोस खाका तयार पारेकी छिन् । 

 

यी एजेन्डाहरू केवल नारामा मात्र सीमित छैनन्, बरु उनको विगतको कार्यक्षमता र अनुभवका आधारमा कार्यान्वयन योग्य देखिन्छन् । त्यसैले, मकवानपुरको चौतर्फी समृद्धिका लागि डीना उपाध्यायको नेतृत्व यसपटक अपरिहार्य देखिएको छ ।

 

नयाँ पुस्ताको माग र पार्टी रूपान्तरणको एजेन्डा

 

वर्तमान राजनीतिमा नयाँ पुस्ताका चाहना र आवश्यकतालाई बुझ्न सक्ने नेतृत्वको खाँचो छ । डीना उपाध्यायले यसलाई गम्भीरताका साथ लिएकी छिन् । उनले अघि सारेको “बदलिन्छौँ हामी, बदल्छौँ कांग्रेस” भन्ने नाराले पार्टीभित्र र बाहिर एक प्रकारको हलचल पैदा गरेको छ । उनले स्पष्ट रूपमा स्वीकार गरेकी छिन् कि पुराना पुस्ताका नेताहरूले समयको माग अनुसार आफूलाई परिमार्जन गर्नुपर्छ । उनले ‘जेन–जी’ (न्भल–श्) अर्थात् नयाँ पुस्ताका युवाहरूको भावना, प्रविधिप्रतिको उनीहरूको लगाव र उनीहरूले चाहेको पारदर्शी राजनीतिको पक्षमा आफूलाई उभ्याएकी छिन् । युवाहरूले राजनीतिमा केवल गफ होइन, परिणाम खोजिरहेका छन् भन्ने कुरा उनले आफ्ना चुनावी सभाहरूमा पटक–पटक उल्लेख गरेकी छिन् ।

 

उनले भनेकी छिन्– “अब बहानाबाजी गरेर उम्किने समय छैन, हामीले जनताका सामु गरेका प्रतिबद्धताहरू पूरा गर्नैपर्छ ।” यो अभिव्यक्तिले उनको उत्तरदायित्व बोधलाई झल्काउँछ । तात्कालिन अवस्थामा पार्टीको सह–महामन्त्रीका हैसियतले उनले नेपाली कांग्रेसलाई थप लोकतान्त्रिक, समावेशी र आधुनिक बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्ने र उनीहरूको क्षमतालाई देश निर्माणमा लगाउने उनको सोचले गर्दा यसपटक मकवानपुरका युवा मतदाताहरू उनीप्रति आकर्षित देखिएका छन् । उनले राजनीतिलाई पेशा होइन, सेवाका रूपमा बुझ्नुपर्छ भन्ने मान्यता राख्छिन् । उनको स्वच्छ छवि र सधैं जनताको माझमा रहनु नै उनको जितको मुख्य आधार हो । 

 

मकवानपुर क्षेत्र नं. १ का मतदाताले यसपटक एउटा यस्तो नेता खोजिरहेका छन्, जसले केन्द्रमा आफ्नो कुरा दृढतापूर्वक राख्न सकोस् र जिल्लाको हितका लागि कसैसँग सम्झौता नगरोस् । डीना उपाध्यायमा ती सबै गुणहरू विद्यमान छन् । उनको जितले केवल एकजना सांसदको संख्या थप्ने मात्र होइन, बरु मकवानपुरको भविष्यलाई उज्यालो बनाउने र नेपाली राजनीतिमा एउटा सकारात्मक सन्देश दिने निश्चित छ । फागुन २१ को निर्वाचन मकवानपुरका लागि एउटा ऐतिहासिक अवसर हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार