इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना

२०८३ श्रावण ८ शुक्रवार
सारांश
  • अमेरिकी प्रविधि कम्पनी ओपन एआईले आफ्नो आन्तरिक परीक्षणका क्रममा एउटा उन्नत एआई नमुनाले स्वतः अर्को एआई कम्पनी हगिङ फेसको प्रणालीमा प्रवेश गरेको जनाएको छ ।

काठमाण्डौ, ०८ श्रावण । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो क्षमतासँग सम्बन्धित एक असाधारण घटनाको खुलासा भएको छ । अमेरिकी प्रविधि कम्पनी ओपन एआईले आफ्नो आन्तरिक परीक्षणका क्रममा एउटा उन्नत एआई नमुनाले स्वतः अर्को एआई कम्पनी हगिङ फेसको प्रणालीमा प्रवेश गरेको जनाएको छ । कम्पनीले यसलाई एआई इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटनामध्ये एक भनेको छ ।

 

ओपन एआईका अनुसार नियन्त्रित परीक्षणका क्रममा कुनै एआई नमुनाले मानवीय निर्देशनबिना अर्को कम्पनीको प्रणालीमा सफलतापूर्वक पहुँच बनाएको यो पहिलो घटना हुन सक्ने बताइएको छ ।

 

कम्पनीका अनुसार यो घटना आन्तरिक साइबर सुरक्षा परीक्षणका क्रममा भएको हो । परीक्षणमा जीपीटी–५.६ सोलसहितका विभिन्न उन्नत एआई नमुनाको साइबर क्षमता मूल्याङ्कन गरिएको थियो । ती नमुनालाई सीमित इन्टरनेट पहुँच भएको छुट्टै परीक्षण वातावरणमा सञ्चालन गरिएको थियो ।

 

यसै क्रममा एआई नमुनाले पहिले पहिचान नभएको सफ्टवेयर कमजोरीको उपयोग गर्दै इन्टरनेटमा पहुँच बनाएको र त्यसपछि हगिङ फेसको प्रणालीसम्म पुगेको कम्पनीले जनाएको छ ।

 

ओपन एआईका अनुसार हगिङ फेसले गत साता असामान्य गतिविधि समयमै पहिचान गरी त्यसलाई रोक्न सफल भएको थियो । त्यस्तै, ओपन एआईको सुरक्षा टोलीले पनि नमुनाको शंकास्पद गतिविधि पहिल्यै पत्ता लगाएको जनाएको छ ।

 

प्रारम्भिक अनुसन्धानले एआई नमुनाको उद्देश्य कुनै प्रकारको क्षति पुर्‍याउने नभई साइबर सुरक्षा मापदण्डसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने प्रयास रहेको देखाएको कम्पनीको भनाइ छ ।

 

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गर्दै एआई नमुनाको मूल्याङ्कनका क्रममा ठूलो सुरक्षा चुनौती सामना गर्नुपरेको बताएका छन् । कम्पनीले यसलाई अत्याधुनिक एआई साइबर क्षमताको उदाहरणका रूपमा व्याख्या गरेको छ ।

 

यता हगिङ फेसका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत क्लेम डेलाङले सुरुमा यस्तो आक्रमण कुनै ठूलो एआई प्रयोगशालाबाट भएको हुन सक्ने अनुमान गरिएको बताए । उनले पछिल्लो २४ घण्टादेखि ओपन एआईसँग मिलेर अनुसन्धान भइरहेको र हालसम्म कुनै दुर्भावनापूर्ण उद्देश्य रहेको प्रमाण फेला नपरेको जानकारी दिए । उनका अनुसार सबैभन्दा आश्चर्यजनक पक्ष भनेको एआई नमुनाले सम्पूर्ण प्रक्रिया आफैँ सम्पन्न गर्नु हो ।

 

घटनापछि ओपन एआईले एआई नमुनाहरूले सफ्टवेयरका कमजोरीहरू पहिलेभन्दा धेरै छिटो पहिचान गरी प्रयोग गर्न सक्ने भएकाले सुरक्षा प्रणाली थप कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । कम्पनीले अब एआई विकासका क्रममा नियन्त्रण प्रणाली, निगरानी, पहुँच नियन्त्रण तथा सुरक्षा परीक्षणलाई अझ कडा बनाइने र पहिचान भएका कमजोरीहरू तत्काल सुधार गरिने जनाएको छ ।

 

यो घटनाले कृत्रिम बुद्धिमत्ता अब केवल मानवलाई सहयोग गर्ने उपकरणमा मात्र सीमित नरही जटिल साइबर गतिविधि स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने क्षमतातर्फ अघि बढिरहेको संकेत गरेको विश्लेषण गरिएको छ । त्यसैले एआईको विकाससँगै यसको सुरक्षा, निगरानी र जिम्मेवार प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार