- पृथ्वी नारायण शाहले राज्य एकिकरण अभियानमा आफ्नो नाता सम्बन्ध र जात भनेनन्। उनको जेठान अंग्रेजसँग लागेका थिए। उनलाई नुवाकोटमा थुनेर दुख दिएर मारे । उनि आफ्नो योजना र उद्देश्यमा स्पष्ट थिए। सबैभन्दा पहिलेनै मकवानपुर राज्य जिते, त्यो उनको आफ्नै ससुराली हो।
(इतिहास संस्कृतिविद प्रा.डा. रमेश ढुंगेलसँग पृथ्वी जयन्तीका सन्दर्भमा गरिएको कुराकानीमा आधारित सम्पादित लेख।)
पृथ्वी नारायण शाहलाई एकाथरीले आधुनिक नेपालको एकिकरणकर्ता मान्छन भने अर्काथरीले चाहिँ उनलाई विस्तारवादीका रुपमा मानेको देखिन्छ । ति अर्काथरी जसले पृथ्वी नारायण शाहलाई विस्तारवादी, साम्राज्यवादी वा अर्काको राज्य खाईदिने व्यक्तिका रुपमा मान्छन। म तिनीहरूलाई उनीहरूको धृष्टता भन्छु। तर इतिहासको कसीमा हेर्दा हामीले नेपाल त्यतिबेला कस्तो अवस्थामा थियो, अनि पृथ्वी नारायण शाह कहाँका थिए, कहाँबाट त्यो राज्य एकिकरणको विचार उत्पन्न भयो, यी कुरा हामीले हेर्नुपर्छ।
पहिलो कुरा नेपालको इतिहास कहिले खुम्चने, कहिले अलि ठुलो हुने त्यस्तो भईरहेको थियो। तैपनि त्यतिबेला आधुनिक नेपालको स्वरुप जुन लामो समयसम्म रहने गरी शक्ति एकीकृत भएको थिएन। किरातको समय, लिच्छविको समय भनेको धेरै अगाडिको कुरा भयो। त्यतिबेला नेपाल लिच्छविकालमा कहाँसम्म थियो र किराँतकालमा कहाँसम्म थियो भन्ने यी विषय पनि छन्। तर त्यो चाहिं धेरै विगतको कुरा हो।
लिच्छविहरूको समयमा पनि उपत्यका बाहिर अलि पर परसम्म अभिलेखहरू पाईएका छन्। र लिच्छविको अभिलेख उपत्यका वरिपरी र गोरखासम्म अथवा नुवाकोटका छेउछाउसम्म र उदयपुरसम्म लिच्छवि कालका त्यतिबेलाका सिक्काहरू, माटाका ट्याबलेटहरू अलि परसम्म पनि पाईएका छन्। तर पाईए पनि नेपालको प्राचिन इतिहासमा ति अभिलेखहरूले के बताउछन भने, यहाँका शासकले पूर्वतर्फका किराँतहरू आफै स्वतन्त्र हुन उठदाखेरी आक्रमण गरेर जितेर आए भनेर मानदेवले भनेका कुराहरू र मल्लपुरी विजय गरेको कुराहरू यस्तै कुराहरू पाईएका छन्।

सिङ्गै हिमालय क्षेत्र किराँतहरूको थियो। नेपाल नाम नै 'निप' भन्ने जातिबाट भएको भन्ने सिधान्त चाहिं बढि प्रमाणित भएर आएको छ। 'नेप' र 'आलय' भएर नेपाल भएको भन्ने मुनिको प्रशंग मनगढन्ते कुरा हो । 'ने' भन्ने त मान्छेको नाम नै हुँदैन तर 'निप' जाति र 'आल' प्रत्यय लागेर नेपाल भन्ने चाहिं बढि प्रमाणिक हुन आउछ। तर 'निप' चाहिं के हो भन्दा किराँत हो। अब किराँत चाहिँ को हुन् थाहा छैन। अहिलेको लिम्बु र राई मात्रै किरात होइननन्, लेप्चा पनि किराँत नै हो। सुनुवारहरू किराँत हुन्। राईभित्र पनि विभिन्न किसिमका छन्। अब लेप्चा भनेको त सिक्किममा भए, ति चाहिं मान्छेले बुझ्दैनन्। अनि अब कति किराँतहरू अन्य जात भएर अन्य समुदाय भएर बसेका छन्। अब यहाँका लिच्छवि काल आउनुभन्दा पहिले अगाडिका किराँतहरू के भए ? उपत्यकाका महर्जन भए कि, खेतीवाल भए कि भन्ने देखिन्छ।
तर आधुनिक नेपालको सन्दर्भमा त्यतिबेलाको कुरा अर्कै हो।
खसहरूको साम्राज्य थियो। तर उनीहरूले नेपाल एकीकरण गरेका त होइनन्। खसहरुको नेपाल निर्माणमा उनीहरूको संस्कृति, उनीहरूको आनीबानी र उनीहरूको सभ्यताको असर छ तर खस साम्राज्य नेपाल होइन । खसहरू पछि नेपालका शासक बनेर आए। तर खस साम्राज्य चाहिं नेपाल भन्दा धेरै ठुलो थियो। कैलाश मानसरोवर देखि कुमाउ-गढवाल हुँदै केरुङ्ग कुती सबै, जोंखार भनेको जोङ्खा भन्छन, अहिले त्यतातिर मंग्युर त्यो सेन्ट्रल एसियाको तिब्बतको तल तल चाङ्कु नदीको छेउछाउ र रसुवाबाट झरेर दक्षिणमा झण्डै लखनउ वा तराईको मैदानीसम्म फैलिएको थियो।
बोधगया र त्यहाँको ४२ ओटा गाउँ खस शासकले बोरा भरी सुन दिएर मुगलबाट स्वतन्त्र तुल्याएको कुरा छदैछ। त्यसैले खस साम्राज्य शक्तिशाली पनि थियो ।
तर नेपाल नामको अपनत्व पृथ्वी नारायण शाहले नै गरे, उनैले त्यो जग बसाले। पुर्ण चाही उनले होइन, उनि पछिको शासकहरूले गरे। पृथ्वी नारायणको अभियान पुर्व तर्फ मोडियो, टिष्टामा साध लाग्यो।
पुर्वमा विजयपुर, चौदण्डी, मकवानपुर आदि राज्यहरू थिए। त्यसमा हरिहरपुर सानो राज्य पनि थियो। मकवानपुर उनको आफ्नै ससुराली र पाल्पा मावली राज्य थियो । ति दुवै राज्यहरू तिरहुतहरूलाई कज्याएको र व्यापारको कारणले अलि सम्पन्न थिए। गरिब देशको राजा भएकोले, पृथ्वी नारायणलाई उनीहरूले हेप्थे। उनलाई माथि उठन यी कुराहरूले पनि प्रभाव पारेको हुन सक्छ।
शुरुमा उनलाई ठुलो राज्यको राजा हुने अभिलाषा पलायो पनि होला, तत्कालिन सामन्ती युगमा। तर गर्दै जाँदा उनि एकीकरण कर्ता हो कि, विस्तारवादी हो भन्ने कुरामा चाहिँ शुरुवातमा उनलाई ठुलो राज्यको राजा हुने कुरा जुन संसारभरी चलेको चलन छ, त्यो देखिन्छ। उनले भनेका छन्, यो कुरा त प्रमाणित छ। उपत्यकालाई चन्द्रागिरीबट हेरेको र लोभ लागेको कुरा दिव्योपदेशामा लेखेका छन्। दिव्योपदेशामा "मेरा साना दुखले आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया" भनेका छन् । यहाँ 'चेतना भया' भनेको चेतना होस् भन्ने होइन, 'यदि तिमीहरूको बुद्धि छ भने', 'बुझ्ने क्षमता छ भने' भन्ने हो, यो त 'कण्डिसनल केस' भयो। गर्र्या, भन्या, भया भनेको चाहिं के हो भने यो अर्डर दिएको होइन, 'यदि तिमी सक्छौं भने' भनेको जस्तै हो।
यो राज्य रहिरहोस भन्ने भाव उनमा आयो । यसो हुँदा त एकीकरण कर्ताको बोलि आयो नि, आएन र !
दिव्योपदेशामा "यो राज्य चार जात छत्तिसै वर्णको साझा फुलबारी हो", यसरी सबैको साझा हो भनेका छन्। "तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्" भनेका छन्।
"चुरेमा बहुत काटिनेछ", भन्नुको अर्थ काटने मार्ने भनेको होइन। काटिने भनेको खेतको गर्र्हा काटने कुरा अथवा जमिन खेतीयोग्य बनाउने कुरा गरेको हो। त्यो बेला त्यहाँ जंगल थियो। पछि त्यो जंगलको ठाउँमा गर्र्हा बन्छन, गर्र्हा बन्ने ठाउमा गर्र्हा बनाई चुरेमा बहुत काटिनेछ भन्नको तात्पर्य त्यो उब्जनी भुमि हो, अहिले उब्जनी भएको छैन। त्यसमा बस्ति बसाउनु, अनि ठाउँ ठाउँमा 'लमसट बाधी', गढि किल्ला तुल्याउनु भनेका हुन् ।
उनले "दक्षिणको बादशाह महाचतुर छ, हिन्दुस्थाना दबाई राषेछ. सरजिमी मा परिरहेछ" भनेका छन्। दक्षिणको बादशाह भनेको अंग्रेजलाई भनेको हो, त्यसले त्यहाँ हिन्दुहरूलई दबाईरहेको छ, त्यो त एकदिन अवश्य आउछ । अनि के भन्छन भने "जाई कटन नगर्नु, झिकी कटन गर्नु।" यसको अर्थ आफै जाई नलाग्नु तर आए भने नछोडनु भनेको हो। पहिले आफुले आक्रमण नगर्नु, आफ्नो सामर्थ्य र भुरणनितिले जति सकिन्छ त्यति मात्र गर्नु भन्ने हो। उत्तरको बादशाह ठुलो छ, घाहा राख्नु भने । घाहा भनेको असल सम्बन्ध हो।
तर दक्षिणकोसँग चाहिँ घाहा राख्न सकिदैन, किनभने त्यो खानकै लागि आएको हो, लुटन आक्रमण गर्न आएको हो। त्यसैले त्यससँग विश्वास गर्न सकिन्न।
अंग्रेजलाई त उनले फिरंगी नै भनेका छन्। फिरंगी उर्दु शब्द हो, जसको अर्थ घुमुवा, चाख्दै हिडने हुन्छ। त्यसैले पृथ्वी नारायण शाह ति फिरंगीलाई उनीहरूकै देश सात समुन्द्र पारी धपाईदिनुपर्छ भन्थे। जाई कटन नगर्नु अर्थात आफू जान्ने भएर आक्रमण गर्न नजानु तर आउँदा खेरी उम्कन नदिने गरी ठिकपार्नुपर्छ भन्ने उनको नीति थियो। ठ्याकै त्यही भयो सिन्धुलिगढिमा, उनकै समयमा ।
पृथ्वी नारायण शाहले राज्य एकिकरण अभियानमा आफ्नो नाता सम्बन्ध र जात भनेनन्। उनको जेठान अंग्रेजसँग लागेका थिए। उनलाई नुवाकोटमा थुनेर दु:ख दिएर मारे । उनि आफ्नो योजना र उद्देश्यमा स्पष्ट थिए। सबैभन्दा पहिलेनै मकवानपुर राज्य जिते, त्यो उनको आफ्नै ससुराली हो। पहिले विजय गरेको नुवाकोट त सानो अंश मात्रै हो, राज्य होइन। व्यापारका कारण कहलिएको एउटा नाका मात्रै हो । त्यो कान्तिपुरका राजा जय प्रकाश मल्लको राज्य अन्तर्गत थियो। त्यसैले उनले शुरुमा जितेको राज्य नै मकवानपुर हो ।
पृथ्वी नारायणमा शुरुमा ठुलो राज्यको राजा हुने सोच भएपनि पछि राज्य जित्दै जाँदाखेरी एउटा एकीकरण कर्ताको अवधारणा उनमा पुरै आईसकेको थियो। नेपाल ढुङ्गो भन्थे उनले, त्यो भनेको फ़ुटाउन नसक्ने बलियो भन्न खोजेको हो। ढुङ्गो बनाउने भनेको कुरा एकीकरण हो।
अघि खसहरूको कुरा गरियो, ति त बाईसे र चौबिसे राज्यमा विभक्त हुन पुगे। पुरेत बाहुन देखि भान्जा भान्जीलाई समेत राज्य बाढने युग आयो । ति सबै विखण्डित हुन पुगे। अनि त्यतिबेला आफ्नै खेतबारीको सुरक्षा हुन सक्दैनथ्यो, उता अंग्रेज शक्तिशाली भएर आईरहेको अवस्था थियो । हिमालयमा एउटा बलियो ढुङ्गो नबने त यो देश बन्ने नै थिएन । त्यसकारण यसलाई त्यसरी नै मुल्यांकन गर्नु पर्र्यो।
उनि देश बनाउने नायक नै हुन् र आधुनिक नेपालको निर्माता नै हो। यसको अर्थ छैन कि उनले कसरी शुरुवात गरे। नरभूपाल शाह, उनकै पिताले पनि नुवाकोट जित्न प्रयास गरेका थिए। पहिले पाल्पाको मुकुन्द सेनले गरेका थिए तर उनले छोराछोरीलाई बाढेर सके। यक्ष मल्लले पनि राज्य अलि ठुलो बनाउदै गएको हो तर असफल भए। सफल भएको त पृथ्वी नारायण शाह मात्रै हुन्। उनि किन सफल भए भन्ने कुरा त दिव्योपदेशमै उल्लेख छ।
म दिव्योपदेश भन्दा पनि त्यसलाई निर्देशिका भन्छु, आधुनिक नेपालको लागि 'रोडम्याप' हो। त्यसमा के छैन ? उधोग छैन कि, न्याय छैन कि, प्रशासन छैन कि, राज्य बनाउने कुरा, भूराजनीति छैन कि, के छैन ? सबैथोक छ, सैनिक संरचनाका बारेमा पनि उल्लेख छ। अनि आफुले कसरी दुखले आर्जेको मुलुक हो त्यो सबै दिव्योपदेशमा दु:ख बेसाएका छन् ।
राज्यको भाग खोज्ने भाईहरूलई 'जिब्रो थुति माग्लास' भनेका छन्। माधव प्रसाद घिमिरेको एउटा कविता मलाई मन पर्छ, 'यो राज्य बाढने चिज होइन" भन्ने।
शिकारीहरू मिलेर जंगल जाने अनि शिकार गरेर आ-आफ्नो भाग लिएर आ-आफ्नो घर जाने जस्तो होइन। यो त बाँचिरहने ढुङ्गो हो।
हामीले एउटा अन्याय गरिरहेका छौँ। अहिले संसारभरीका देशहरूको नोट (मुद्रा) हेर्यौं भने त्यहाँ कोहि अब्राहम लिंकनको तस्विर हुन्छ, कुनै जर्ज वासिङ्ग्टनको हुन्छ, कुनैमा महात्मा गान्धीको हुन्छ। उहिल्यै राजाको बेलामा पैसामा पृथ्वी नारायण शाहको तस्विर भैसक्नुपर्ने। अहिले पनि त्यो तुरुन्तै निर्णय गरेर गर्न सकिन्छ, गर्नुपर्छ। हाम्रो देशको मुद्रामा मान्छे नभएको मुलुकजस्तो कसैको तस्विर छैन। जुन मुलुकले बुद्ध जन्माएको छ, जुन मुलुकले पृथ्वी नारायण शाह जन्माएको छ, अनेक ज्ञानी ऋषि मुनिहरूलाई जन्म दिएको छ, मानविय संस्कृतिको पराकाष्ठा छ, त्यत्रो अंग्रेजहरूसँग युद्ध गरेर देश बचाएका छन्। यो देश जसले दुई ओटा विशाल साम्राज्य बिचमा रहेर आफ्नो स्वतन्त्र अस्तित्व जोगाएको छ, त्यो देशमा चाहिं मान्छेको अनुहार भएको कोहि पनि छैनन् ? पर्वत शिल जस्ता मात्रै राख्ने ? हाम्रो देशमा मान्छे नै छैन, कुनै सभ्यता नै छैन भनेर देखाउन खोजिएको हो ? त्यसैले पृथ्वी नारायण शाहलाई बडो गौरवकासाथ अब चाहिँ देश निर्माताको रुपमा नोटमा राख्नुपर्छ, कहिल्यै नकाटिने गरी।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।