इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

२४ चैत्र, २०८२, मगलवार
सारांश
  • मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

सन् १९७९ को ईरानी इस्लामिक क्रान्ति भनेको शाह मोहम्मद रेजा पहलावीको एकाधिकारवादी शासन, द्रुत आधुनिककरण, र पश्चिमी शक्तिसँगको नजिकको सम्बन्ध प्रति व्यापक असन्तोषबाट जन्मिएको थियो भनेर भनिन्छ । शाहको ह्वाइट रिभोल्युसनले आर्थिक र सामाजिक परिवर्तनहरू ल्याए पनि, यसले असमानता बढायो, परम्परागत संरचनालाई विघटन ग¥यो, र धार्मिक नेताहरू, बौद्धिक व्यक्तिहरू, मजदूरहरू र विद्यार्थीहरूबीच रिस र असन्तोष सिर्जना गरेको जानकारहरु बताउछन् । खुफिया प्रहरीेले (साभाक) गरेको राजनीतिक दमनले विरोधको भावनलाई अझ बलियो बनायो । 

 

सन् १९७८ सम्ममा, देशभरमा सामूहिक प्रदर्शन, हडताल, र हिंसात्मक दमनको चक्रले व्यापक विस्तार पायो । फलस्वरुप निर्वासित धर्मगुरु आयातुल्लाह रुहोल्लाह खुमैनी प्रतिरोधको एकीकृत प्रतीकको रूपमा उभिए । अन्ततः शाहले जनवरी १९७९ मा ईरान छाडे, र खुमैनी त्यसै वर्षको फेब्रुअरीमा व्यापक जनसमर्थन सहित फर्किए । यो सम्पूर्ण घट्नामा सेनाको प्रभावकारीता निष्प्रभावी भयो । यसले राजतन्त्रको पतनको बाटो तयार ग¥यो । यद्यपि क्रान्तिले सुरुमा विविध राजनीतिक समूहहरूलाई पनि समेटेको थियो । तर सत्तामा आएको केही समय पछिनै खुमैनी र उनका समर्थकहरूले छिट्टै शक्ति केन्द्रित गरे । मार्च १९७९ मा भएको जनमतसंग्रहले धर्मनिरपेक्ष र बामपन्थी समूहहरूलाई बाहिर राख्दै इस्लामिक गणतन्त्रको स्थापना गर्न व्यापक रूपमा समर्थन ग¥यो । 

 

यो घट्नाक्रम पछि बनेको नयाँ संविधानले सर्वोच्च नेतामा अन्तिम अधिकार राख्यो । यो संविधान अनुसार धार्मिक न्यायाधीशको संरक्षकत्वको सिद्धान्तअनुसार धार्मिक अधिकारमा आधारित शासनको स्थापना ग¥यो । यसरी, क्रान्तिले मात्र शाहको पतन गराएन । यो क्रान्तिले राजतन्त्रलाई धार्मिक अधिकारमा आधारित प्रणालीले प्रतिस्थापन ग¥यो । ईरानको राजनीति र समाजमा एउटा फरक युगको सुरुवात गर्यो । 


इरान भित्रको प्रमुख समुहरु
यसरी धार्मिक सवोच्च नेताको व्यवस्थामा इरानलाई परिणत गराएपछि त्यहाँ विभिन्न विचारधाराहरुका समुहरु देखापर्दै गए । जसको आफ्नै विचारधारा, नीति दृष्टिकोण र शासनमा प्रभाव अहिले इरानमा छ । पहिलो भनेको परम्परावादी वा प्रिन्सिपलिस्टहरू समुहरु हुन् । जसमा अतिवादीहरु पनि समावेश छन् । इस्लामिक गणराज्यका मूल सिद्धान्तहरू सुरक्षित राख्न, धार्मिक मान्यताहरू कायम राख्न र धार्मिक संस्थाहरूको अधिकारलाई बलियो बनाउन जोड यो विचारधाराका व्यक्तिहरुले इरानमा दिन्छन् । आर्थिक रूपमा, उनीहरू राज्य–केन्द्रित वा नियन्त्रणमा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिन्छन् । सामाजिक सहयोग कायम राख्छन् र घरेलु बजारको सुरक्षा गर्छन् । उनीहरुको विचारमा राज्यको सुरक्षा संस्थाहरूमा निर्भर रहन्छ, र पश्चिमसँगको संलग्नतामा शंका राख्नुपर्छ र बाह्य दबाबको प्रतिरोधमा गर्नुपर्छ भन्ने विचार परम्परावादी वा प्रिन्सिपलिस्टहरूको छ ।


इरानमा मध्यमार्गी वा व्यवहारमुखी सिद्धान्त बोक्ने मानिसहरु इस्लामिक गणराज्यका सिद्धान्तहरू स्वीकार्छन् तर सामाजिक–आर्थिक नीतिमा लचकता अपनाउँछन् । उनीहरू प्रायोगिक शासन, बजारसँगको संलग्नता र क्रमिक सुधारलाई प्राथमिकता दिन्छन् । उनीहरु स्थिरता र सहमति खोज्छन् । विदेश नीतिमा उनीहरू यदि अर्थतन्त्रलाई लाभ पु¥याउँछ भने कूटनीतिक संलग्नतामा विश्वास गर्छन् । उनीहरुलाई अतिवादी र सुधारवादी बीचको स्पष्ट समूहको रूपमा चिनिन्छ । 


सुधारवादी वा इस्लामिक लिबरलहरू राजनीतिक सुधार र बढी राजनीतिक सहभागिताको वकालत गर्छन् । उनीहरु इस्लामिक ढाँचाभित्र नागरिक अधिकारको प्रवद्र्धन गर्नुपर्छ भनेर जिकिर गर्छन् । यो समुहका व्यक्तिहरु प्रायः बजार सुधारलाई सामाजिक सुरक्षा सहित समर्थन गर्छन् र परम्परावादी संग तुलना गर्दा राज्यको नियन्त्रण कम चाहन्छन् । साथै उनीहरू नागरिक स्वतन्त्रता, कानूनको शासन, र अन्तर्राष्ट्रिय समुदायसँग पुनः संलग्नताको पक्षमा छन् । यो समूहले संस्थागत सुधार र पारदर्शी शासन प्रवद्र्धनमा केन्द्रीय हुन्छ भनेर मानन्छ ।


उग्रवादी वा कट्टरवादी समूह भने शासन भित्र कडा क्रान्तिकारी सिद्धान्तमा जोड दिन्छन् । प्रायः उनीहरुको विचार अत्यधिक परम्परावादी विचारधारासँग मेल खान्छ । उनीहरूको नीति निजीकरणको विरोध गर्ने र राज्यको भूमिका बलियो बनाउन प्राथमिकता दिन्छन् । उनीहरुको विचारमा असहमतिलाई दमन गरेर क्रान्तिकारी शुद्धता कायम राखिन्छ । यी समूह प्रायः विश्व शक्तिहरूसँग संलग्नतामा पनि विरोधी हुन्छन् ।


अन्ततः वामपन्थी वा राजतन्त्र समर्थकहरू, इस्लामिक गणराज्य प्रणाली बाहिर काम गर्छन् । उनीहरु देश बाहिर प्रवासमा छन् । यो विचारधारा समाजवाद, स्वतन्त्र बजार तथा राजतन्त्रसम्मको आवश्यकताको चर्चा गर्छ  । यो समुहको विचार भनेको लोकतान्त्रिक वा धर्मनिरपेक्ष शासनमा केन्द्रित छ । प्रायः उनीहरु पश्चिमी वा विश्व समुदायसँग संलग्नतामा विश्वास गर्छन् ।


इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स
इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स जसलाई फारसीमा सेपाह भनिन्छ । यो सन् १९७९ को ईरानी क्रान्तिपछि नयाँ इस्लामिक गणतन्त्र र यसको क्रान्तिकारी आदर्शहरूको सुरक्षा गर्न स्थापना गरिएको थियो । मे १९७९ मा नियमित सेना (आर्टेश) सँग समानान्तर सैन्य बलको रूपमा यो फौजको निर्माण गरिएको थियो । यो फौजले सिधै ईरानको सर्वोच्च नेतासँग सम्पर्कमा रहन्छ तथा प्रतिवेदन पेश गर्छ । यसले समयसँगै आफ्नो भूमिकालाई परम्परागत सैन्य सीमाभन्दा धेरै पर विस्तार गरेको छ । जसमा आन्तरिक सुरक्षा, शासनको संरक्षण, र आर्थिक तथा राजनीतिक गतिविधिहरू पनि समावेश छन् । यसमा विभिन्न शाखाहरू छन्, जस्तै स्थलगत, नौसैनिक, र हवाई बलहरू, बासिज मिलिसिया, र विदेशी अपरेसनमा विशेषज्ञता राख्ने प्रतिष्ठित कुद फोर्स रहेका छन् । 


यद्यपि ईरानी संविधानले आईआरजिसी लाई औपचारिक विदेश नीति निकायको रूपमा तोकेको छैन । तर यसले तेहरानको विदेश नीति निर्माण र कार्यान्वयनमा भूमिका खेल्छ । विशेष गरी क्षेत्रीय सुरक्षा र रणनीतिमा, मुख्य भूमिका यो फौजको  रहेको छ । कुद फोर्समार्फत यसले लेबनन, इराक, सिरिया, यमन, र प्यालेस्टाइन क्षेत्रहरूमा सहयोगी समूहहरूलाई प्रशिक्षण, वित्तीय सहायता, उपकरण, र समन्वय प्रदान गर्दछ । जसलाई ईरानले पश्चिमी र इजरायली प्रभावको बिरूद्ध “प्रतिरोध धुरी” अर्थात् एक्सिस अफ रेसिस्टेन्स भनिरहेको छ । प्रॉक्सी र सहयोगी मिलिसियाहरूलाई समर्थन गरेर यो फौजले परम्परागत सेना प्रयोग नगरी ईरानी शक्ति प्रदर्शन गर्छ । क्षेत्रीय प्रतिद्वन्द्वीहरूलाई निरुत्साहित गर्छ, र आफ्नो सुरक्षा हितसँग सम्बन्धित द्वन्द्वको परिणामलाई आकार दिन्छ । सर्वोच्च नेतासँगको नजिकको सम्बन्धले यसलाई विदेश नीतिमा कडा र कट्टर नीतिहरूलाई बल दिने क्षमता दिन्छ । यो फौज एक शक्तिशाली सैन्य, राजनीतिक र आर्थिक संस्था हो । जसले केवल शासनको सुरक्षा मात्र गर्दैन । क्षेत्रीय प्रोक्सी, रणनीतिक गठबन्धन, र मध्यपूर्वमा सुरक्षा अपरेसनमार्फत ईरानको विदेश नीतिमा पनि प्रमुख प्रभाव पार्दछ ।


निष्कर्ष
पछिल्ला वर्षहरूमा, ईरानको संयुक्त राज्य अमेरिका र इजरायलसँगको सम्बन्ध दशकौंको शत्रुता र प्रोक्सी संघर्षपछि खुलेआम सैन्य द्वन्द्वमा परिणत भएको छ । १९७९ को क्रान्ति पछिको ईरानी नीति भनेको इजरायल प्रतिको दुश्मनी र मध्यपूर्वमा आफूले परिचालित गरेको मिलिटेन्ट समूहहरूको समर्थनमा आधारित छ । साथै, मध्यपूर्वमा शुन्नी इस्लामको प्रतिनिधित्व साउदी अरबले गर्छ भने शियाको प्रतिनिधित्व ईरानले गर्छ । त्यसैले सम्पूर्ण इस्लामको संरक्षण र नेतृत्व कसले गर्ने भन्ने द्वन्द्व चरममा पुगेको छ ।


यसै सन्दर्भमा, साउदी अरबको वैचारिक धारमा रहेको कतारले आफ्नो स्वतन्त्र अस्तित्व निर्माण गर्दैछ । कतारले साउदी नेतृत्वको विदेश नीति नलिँई आफ्नै नीति अपनाएको छ । जसको परिणामस्वरुप साउदी अरबबाट कतारमाथि नाकाबन्दी समेत लागेको थियो । कतारले तालिबान, हमास लगायतका संगठनका कार्यालयहरू स्थापना गर्न दिएको पनि संचारमाध्यममा उल्लेख भएको छ । यही कारणले मध्यपूर्व बुझ्न कठिन छ; कुन समूह कहिले निर्माण हुन्छ र कुन समूह कहिले कस्को विरुद्धमा जान्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ ।


अहिलेको पछिल्लो द्वन्द्व पनि इजरायल र ईरानबीचको अस्तित्वगत संघर्ष हो । यसलाई अझ व्यापक रूपमा सभ्यताको लडाई पनि भन्न सकिन्छ । जहाँ यहुदी र शिया–इस्लामबीचको टकराव छ । अर्थात, मध्यपूर्वको इस्लामिक दर्शन भित्र इजरायललाई दुश्मन करार गरिएको छ । साउदी, कतार, युएई लगायतका देश इजरायलसँग प्रत्यक्ष भिडन्तमा छैनन्, तर यीबीच पूर्ण शान्ति पनि छैन । तर इरानसँग भने इजरायलको कडा द्वन्द्व पहिलेदेखि देखिन्थ्यो । किनभने इजरायलको भनाइमा, इरानले आणविक हतियार बनाउँछ, जसले इजरायलको अस्तित्व समाप्त पार्न सक्छ । यही कारणले इजरायलले इरानलाई पराजीत गर्नु आवश्यक छ भन्ने नीति अपनाएको छ । 

 

यस युद्धमा अमेरिका इजरायललाई व्याकअप दिँदै संलग्न छ, र यसको प्रत्यक्ष प्रभाव हर्मुज नहरमा देखिएको छ । हर्मुज नहरबाट तेल लगायत विभिन्न कच्चा पदार्थ विश्व बजारमा जान्छ । यदि यो नाका अबरुद्ध भयो भने, विश्व अर्थतन्त्र दबाबमा आउँछ ।


मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।


त्यसैले नेपाल जस्तो देश, जसको जवानी युवापुस्ताको प्रत्यक्ष रूपमा खाडीमा र अप्रत्यक्ष रूपमा भारतमार्फत इन्धनमा निर्भर छ, आफ्नो वैकल्पिक र दिगो व्यवस्थापन सकेसम्म छिटो सुनिश्चित गर्नु आवश्यक छ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप लेखहरु