- धर्मको रहस्य गुफाभित्र लुकेको छ, अर्थात् धर्मलाई यथार्थ र साङ्गोपाङ्ग बुझ्न निकै कठिन छ। त्यसैले, धर्मका रहस्यवेत्ता महाजनहरूले जुन मार्ग अपनाएका र उपदेश गरेका छन्, त्यही नै धर्मको मार्ग हो।
परापूर्वकालदेखि विद्वानहरूले 'धर्म' शब्दलाई विभिन्न तरिकाले परिभाषित गर्दै आएका छन्। शास्त्रमा पनि प्रसङ्गानुसार धर्मका विभिन्न परिभाषा र लक्षणहरू बताइएका छन्। 'संस्कृतको धृ भन्ने धातुबाट बनेको धर्म शब्दको अर्थ धारण गर्नु हो' - हिजोआज जनसामान्यमा यही निरुक्ति बढी प्रचारित र प्रसिद्ध छ।
नारदजी पनि भन्नुहुन्छ -
धर्मेति धारणे धातुर्माहात्म्ये चैव पठ्यते।
धारणाच्च महत्त्वेन धर्म एष निरुच्यते॥
(मत्स्यपुराण, अध्याय १३४, श्लोक १७)
धर्म शब्द धारण र महत्त्वको अर्थमा प्रयोग हुने धृ धातुबाट निष्पन्न भएको हो। महत्त्वपूर्वक धारण गरिनाले नै यसलाई धर्म भनिन्छ।
जसमा कुनैपनि वस्तुको सत्ता र उपयोगिता निर्भर गर्दछ, त्यही धर्म हो। यदि ती वस्तुले आफ्नो तत्तत् धर्म छोडिदिने हो भने, तिनको कुनै सत्ता वा उपयोगिता शेष रहँदैन। यही परिभाषा अनुरूप, आगोको धर्म ताप दिनु, कानको धर्म सुन्नु, गुड़को धर्म गुलियो हुनु - यस प्रकारको व्याख्या पनि लोकमा प्रसिद्ध छ। यस अर्थमा, धर्मले नै सम्पूर्ण सृष्टिलाई धारण गरेको छ, त्यसको सत्ता वा उपयोगीता सुरक्षित राखेको छ भन्ने तथ्य समेत सिद्ध हुन्छ।
त्यसैले, धर्मले यो सारा स्थावर र जङ्गम जगतलाई धारण गरेको छ भनेर शास्त्रहरू बताउँछन् —
धर्मेण धार्यते सर्वं जगत् स्थावरजङ्गमम्।
(कूर्मपुराण, पूर्वभाग, अध्याय २, श्लोक ५९)
(भविष्यपुराण, मध्यपर्व, अध्याय १, श्लोक २६)
वैदिक परिभाषाका अनुसार, वेदले प्रेरणा गरेको विधिवाक्य नै धर्म हो-
चोदनालक्षणोऽर्थो धर्मः। (पूर्वमीमांसासूत्र १।१।२)
यसैलाई थप स्पष्ट पार्दै लौगाक्षिभास्कर भन्छन् —
वेदप्रतिपाद्यः प्रयोजनवदर्थो धर्मः।
(अर्थसङ्ग्रह, धर्मलक्षणप्रश्न ४)
जो वेदद्वारा प्रतिपादित छ, प्रयोजनवान् छ र अनर्थरहित छ, त्यही नै धर्म हो।
पुराणहरू पनि बताउँछन् —
वेदप्रणिहितो धर्मो ह्यधर्मस्तद्विपर्यय:।
(श्रीमद्भागवतपुराण, स्कन्ध ६, अध्याय १, श्लोक ४०)
अर्थात्, "वेदले जे प्रतिपादन गरेको छ, त्यही धर्म हो; त्यसको विपरीत जे छ, त्यो अधर्म हो।"
यसरी विद्वानहरूको बुद्धिविनोदका लागि शास्त्रमा अनेकौँ व्याख्याहरू भएता पनि, 'धर्म' भन्नासाथ एउटा सामान्य व्यक्तिको मनमस्तिष्कमा भने धार्मिक अनुष्ठान, पूजापाठ र मठमन्दिरकै दृश्य आउने गर्दछन्। यसै कारण धर्मको वास्तविक तात्पर्य नबुझिकन तिनै दृश्यलाई नै केन्द्रमा राखेर धर्मलाई बुझिदिनाले, "आजको वैज्ञानिक युगमा धर्मको आवश्यकता के छ?" जस्ता प्रश्नहरू समाजमा उठ्न थालेका छन्।
व्याकरणका शाब्दिक निष्पत्ति र दार्शनिक दृष्टिले जे जसो परिभाषा र व्याख्या गरिए पनि, धर्मको सरल, बोधगम्य र व्यावहारोपयोगी अर्थ हो — कर्तव्य। एउटा व्यक्ति, समूह, समाज वा राष्ट्रको आफूलगायत यो सम्पूर्ण जड़चेतन, स्थावरजङ्गम, स्थूल-सूक्ष्म, दृश्य-अदृश्य अस्तित्वप्रतिको दीर्घकालीन कल्याणकारी कर्तव्य नै धर्म हो।
तर, 'कर्तव्य' शब्द जति सरल छ, त्यति नै जटिल पनि छ। किनकी, केही सबैका साझा कर्तव्य हुन्छन्, केही निश्चित वर्गका सामूहिक कर्तव्य हुन्छन् र केही नितान्त व्यक्तिगत कर्तव्य हुन्छन्। यतिमात्र नभएर व्यक्तिको भूमिका एवं समय-परिस्थितिका अनुसार पनि उसका भिन्न-भिन्न कर्तव्य, अथवा धर्म हुन्छन्। तसर्थ, शास्त्रहरू भन्छन् —
धर्मस्य तत्त्वं निहितं गुहायां।
महाजनो येन गतः स पन्थाः॥
(गरुडपुराण, आचारकाण्ड, अध्याय १०९, श्लोक ५१)
धर्मको रहस्य गुफाभित्र लुकेको छ, अर्थात् धर्मलाई यथार्थ र साङ्गोपाङ्ग बुझ्न निकै कठिन छ। त्यसैले, धर्मका रहस्यवेत्ता महाजनहरूले जुन मार्ग अपनाएका र उपदेश गरेका छन्, त्यही नै धर्मको मार्ग हो।
वेद एवं अन्य वैदिक शास्त्रहरूले पनि कर्तव्यका यिनै भेदहरूको प्रतिपादन गरेका छन्। म को हुँ, र त्यसका आधारमा मेरो कसप्रति के कर्तव्य हो - यसकै सूक्ष्मतम व्याख्या वैदिक शास्त्रमा गरिएको छ। सामान्यधर्म, विशेषधर्म, आपद्धर्म, वर्णधर्म, आश्रमधर्म, राजधर्म, स्त्रीधर्म, कुलधर्म, इत्यादि कर्तव्यका अनेकौँ भेदहरूको विवेचना वेदादि शास्त्रमा पाइन्छ। मानव-मानवबीच मात्र नभएर, हिन्दूधर्मले सम्पूर्ण सृष्टिप्रति आफ्नो कर्तव्य के हो भन्ने बृहद् दृष्टि राख्दछ र प्रकृतिका नियमहरू, जसलाई आजकल अङ्ग्रेजीमा "लॅज् ॲफ् नेचर्" पनि भनिन्छ, त्योसँगै सामञ्जस्यपूर्वक चल्दछ। 'म धर्म मान्दिनँ, मानवता मान्छु' भन्नु पनि धर्मको अर्थ नबुझ्नुको परिणाम हो; किनकी मानवता आफैँमा धर्मको एउटा स्थूल अङ्ग हो।
मनुस्मृतिमा धर्मको दशवटा आधारभूत लक्षणहरू बताइएको छ—
धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्॥
(मनुस्मृति, अध्याय ६, श्लोक ९२)
धैर्यता, क्षमा, मानसिक नियन्त्रण, चोरी नगर्नु, शौच, दश इन्द्रियमाथि नियन्त्रण, बुद्धि, विद्या, सत्य र अक्रोध - यी धर्मका दश लक्षण हुन्।
आफ्नो शरीरप्रति व्यक्तिको दायित्व छ: यसको सुरक्षा, स्वास्थ्य र पवित्रता कायम राख्नु; र यसमा केही अवाञ्छित विकार प्राप्त भएमा त्यसको समुचित शोधन गर्नु। यसैका लागि शास्त्रमा नित्यस्नान, दन्तधावन, शुद्ध वस्त्रधारण, आचमन, भक्ष्य-अभक्ष्य, स्पृश्य-अस्पृश्य, पेय-अपेय, इत्यादि शौचाचारका अनेकौँ सूक्ष्म विधिनिषेध एवं तिनको उल्लंघन भएमा प्राप्त हुनसक्ने विकारको शोधनार्थ प्रायश्चितको व्यवस्था पनि गरिएको छ।
आफ्नो मनप्रति व्यक्तिको दायित्व छ : मनलाई स्वस्थ, शान्त, प्रसन्न, नियन्त्रित, र पवित्र राख्नु, एवं प्राप्त विकारको शोधन गर्नु। शरीर विकृत हुँदा त केवल त्यही व्यक्तिको क्षति हुन्छ, तर मनोविकारले ग्रस्त भएको व्यक्ति आफूलगायत परिवार र समाजकै लागि समेत हानिकारक हुन्छ। त्यसैले, शास्त्रमा धैर्यता, क्षमा, अक्रोध आदिलाई धर्मको आधारभूत लक्षण बताइएको छ। केही समय यता, विश्व-समाजमा अनेकौँ गम्भीर मनोवैज्ञानिक विकारहरू तीव्र गतिमा फैलिँदै छन्, र त्यसको शमनका लागि प्रधानतः मनोपरामर्श (काउन्सेलिङ्) को नाममा व्यक्तिलाई 'जीवन दर्शन' बुझाउने प्रयास गरिन्छ। यथाविधि वैदिक दर्शनको सम्यक् अध्ययन तथा पर्याप्त चिन्तन गर्ने हो भने, दर्शन-विज्ञान-व्यावहारसम्मत समुन्नत एवं सर्वाङ्गीण जीवन-दर्शन केवल वैदिक धर्मभित्र नै प्राप्त हुन्छ।
यी दश लक्षणहरू पनि केही व्यक्ति स्वयंप्रति र केही अन्यप्रति कर्तव्यपरक नै छन्। जस्तै, धैर्यता, क्षमा जस्ता धर्म व्यक्तिको आफ्नो मनप्रतिको कर्तव्य हो। अधीर र प्रतिशोधयुक्त मनले मानसिक र शारीरिक अस्वस्थता समेत निम्त्याउँछ। वर्तमान समयमा तीव्रतापूर्वक बढ्दै गइरहेका दुश्चिन्ता (एङ्जायटी) लगायतका मनोवैज्ञानिक समस्यामा पनि धैर्यताको अभाव, क्षमा गर्न नसक्नु जस्ता कारणहरू अग्रपङ्क्तिमा आउँदछन्। त्यसैले, शारीरिक र विशेषतः मानसिक रूपमा स्वस्थ रहनका लागि धैर्यता, क्षमा, मनमाथि नियन्त्रण जस्ता धर्मका अङ्गहरू पालन गर्न २१औँ वा ४१औँ, हरेक शताब्दीमा अपरिहार्य छन्। हरेक कालमा यस धर्मको उतिकै उपयोगीता हुनाले नै यसलाई 'सनातनधर्म' भनिन्छ।
जसरी व्यक्तिको देश र समाजप्रति कर्तव्य छन्, त्यसैगरी विभिन्न धार्मिक अनुष्ठानहरू पनि त्यही कर्तव्यका नै सूक्ष्मतम स्वरूप हुन्। आफ्ना पितॄप्रतिको कर्तव्य श्राद्धको रूपमा, कुलप्रतिको कर्तव्य कुलपूजाको रूपमा, जल, अन्न, नदी, पर्वत, अग्नि, सूर्य लगायत सम्पूर्ण प्रकृतिप्रतिको कर्तव्य र कृतज्ञता, तिनका अधिष्ठाता देवीदेवताप्रतिको कृतज्ञता नै विभिन्न पूजापाठ र अनुष्ठानको रूपमा क्रियान्वित हुन्छन्। पर्याप्त शास्त्राध्ययन, परम्परागत विद्वानको सङ्ग एवं कर्मकाण्डमाथि पर्याप्त चिन्तन गर्नाले त्यसमा सन्निहित दार्शनिकता, व्यावहारिकता र वैज्ञानिकताको वोध सम्भव छ।
वैदिक विज्ञान लाखौँ वर्षदेखि हजारौँ पुर्खाहरूद्वारा सफलतापूर्वक परीक्षित र सर्वकालोपयोगी सृष्टिविज्ञान हो। कुनै पनि शताब्दीमा, कुनै पनि आधुनिक 'विकास' को युगमा धर्मको उपयोगीता समान रहन्छ। भर्खर केही दशकदेखि परीक्षणको क्रममा रहेको आधुनिक विकासको झिलिमिलिमा मोहित भएर धर्मको आवश्यकता नै देख्न छोड्नु भनेको घोर अदूरदर्शीताको परिचायक हो। एक अर्काप्रति कर्तव्यहीन र अकृतज्ञ समाजको स्वरूप कस्तो हुन्छ, कुनै पनि बुद्धिमानले सहजै अनुमान गर्न सक्दछ। व्यक्ति, समाज र राष्ट्रलाई व्यवस्थित गर्ने त्यही कर्तव्य र कृतज्ञता नै धर्म हो।
दुर्भाग्यवश हिजोआज 'धर्मनिरपेक्ष' राष्ट्रको परिकल्पना गरिएको छ। अर्थात्, यस्तो राष्ट्र - जसलाई आफ्नो कर्तव्यसँग केहीपनि सरोकार छैन; यस्तो राष्ट्र - जसलाई धैर्यता, सत्य, अनुशासन, शौच (सरसफाइ), आदिमा कुनै आस्था छैन : त्यही धर्मनिरपेक्ष राष्ट्र हो। संविधानका बाँकी विषयको पालनमा कमी-कमजोरी भएता पनि, धर्मनिरपेक्षताको अभ्यास भने हाम्रो देशका शासकवर्ग र यसमा आस्था राख्ने नागरिक, दुबै पक्षबाट पूर्ण इमानदारीता एवं सफलताका साथ भइराखेको देखिन्छ।
हरेक व्यक्तिको जीवन गतिशील छ, निष्क्रिय रहन सम्भव छैन। द्वैतभावले युक्त संसारमा तटस्थ रहन पनि सम्भव छैन। त्यो द्वैतभावमा इच्छापूर्वक वा अनिच्छापूर्वक हरेक व्यक्तिले स्वतः एउटा पक्ष लिएकै हुन्छ। कि व्यक्ति बोल्दछ, कि मौन रहन्छ; कि सत्य बोल्दछ, कि झूठ बोल्दछ। कि क्षमा गर्दछ, कि प्रतिशोधको भावना राख्दछ; कि कृतज्ञ रहन्छ, कि कृतघ्न बन्दछ। कि कर्तव्यपरायण रहन्छ, कि कर्तव्यहीन रहन्छ। एक पक्षलाई नमान्नु भनेको स्वतः अर्को पक्षलाई मान्नु हो। दुबैको बीचमा रहन, वा दुबैलाई नमान्न व्यावहारिक रूपमा सम्भव छैन। तसर्थ, 'धर्म मान्दिनँ' भन्नु स्वतः 'अधर्म' लाई मान्नु हो।
तर, आज कतिपय व्यक्ति अज्ञानका कारण धर्म नमान्नुमा गौरवको अनुभूति गर्छन् - अर्थात् उनीहरू स्वयंलाई अधीरता, प्रतिशोध, शारीरिक एवं मानसिक अनियन्त्रण, व्यभिचार, चोरी, असत्य, अपवित्रता, मूर्खता, क्रोध, आदिको पक्षधर हुनुमा गर्व गर्दछन्। हाम्रो समाज आज यस प्रकारको दयनीय स्थितिमा पुगिसकेको छ।
हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो इतिहास, हाम्रो परम्परा, हामीलाई आफ्नो पितापुर्खाबाट रगतमै प्राप्त मनोविज्ञान तथा हाम्रो माटो सुहाउँदो मौलिकताको विषयमा केही पनि ज्ञान नभएका, र योसँग सम्बन्ध वा सरोकार पनि नराख्ने कुनै व्यक्तिविशेषले - उसको आफ्नो देशविशेष एवं त्यहाँको तत्कालीन सामाजिक अवस्थालाई मध्यनजर राख्दै निर्माण गरेका केही नैतिक उपदेश, विधि, निषेध, नियम, र यसरी नै चलेका अनेकौँ मत, मतान्तर, पन्थ, सम्प्रदाय, आदिलाई "धर्म" को नाम दिएर प्रचार गरिनाले र धर्म भनेकै यही हो भन्ने भ्रम जनमानसमा व्याप्त भइदिनाले धर्म शब्दप्रति अनास्था उत्पन्न भइराखेको छ।
धर्म कसैले बनाउने वस्तु होइन, यो त व्यक्तिको अस्तित्वसँगै स्वतः अस्तित्वमा हुन्छ - जसरी चिनीको अस्तित्वसँगै गुलियोपनको पनि स्वतः अस्तित्व हुनजान्छ। त्यसैगरी व्यक्तिको जन्म भएसँगै उसले आफ्नो भूमिका अनुसारको कर्तव्य पनि सङ्गै लिएरै आउँछ - इतिहासको कुनै कालखण्डमा कसैले बनाएर उसलाई दिने होइन। जबदेखि सृष्टि छ, तबदेखि नै धर्म पनि छ। धर्म 'सनातन' छ। समयानुसार त्यही सनातन धमको पुनः उपदेश हुनसक्छ, तर नयाँ धर्मको रचना हुन सक्दैन।
हजार-दुईहजार वर्षअघि कसैले व्यक्त गरेका तत्कालीन समसामयिक आदेश, आग्रह र उपदेशहरू धर्म हुँदै होइनन्। ती उपदेशलाई सर्वोपरि एवं सार्वभौम ठानेर नितान्त भिन्न भूगोलमा छल वा बलपूर्वक प्रचार तथा अभ्यास गराउन खोज्नु नै धार्मिक द्वन्द्वको जड़ हो। मरुभूमिलाई मध्यनजर राखेर दिइएका उपदेशहरूको, त्यहाँका लागि उपयोगी हुनसक्ने 'मजहब' वा 'रिलिजन' हरूको नेपालजस्तो हराभरा प्राकृतिक सम्पदाले सम्पन्न भूमिमा कुनैपनि औचित्य र उपयोगीता नै छैन। हाम्रो माटो सुहाउँदो, हाम्रो प्रकृतिसँग सामञ्जस्य राख्ने धर्मको सूक्ष्म र पूर्ण विवेचन केवल यहीँको माटोमा उत्पन्न वेदपुराणादि धर्मशास्त्रले गर्दछन्, यहीँको माटोमा अनादिकालदेखि चलिआएका मौलिक सनातन परम्पराहरूले गर्दछन्।
॥ हर हर महादेव ॥
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।