वैदिक ज्योतिषमा अधिकमास: वैदिक कालगणनापद्धतिको काठमाण्डु उपत्यकामा प्रयोग र पुनरुद्धार
२०८२ जेठ १३ गते मंगलवार
- कुनै कुनै वर्ष अधिकमास पर्नाले त्यो १३ महिनाको वर्ष हुञ्छ भनेर पनि सामान्यताया जानेसुनेकै कुरा हो । यो अधिकमास भनेको के हो यो किन आवश्यक भएको हो अनि हाम्रो सनातन वैदिक ज्योतिष अनुसार अधिकमास मान्ने पद्धति र अहिले प्रचलनमा रहेको पद्धतिमा के भिन्नता छ भनेर पनि यहाँ छोटकरीमा चर्चा गरिदैँछ।
वैदिक कालगणना-पद्धति ( काठमाण्डु उपत्यकामा लिच्छविकाल तथा मल्लकालमा पनि मानिने गरेको) अनुरूप आज जेठ (वृषमास)को १३ देखि असार (मिथुनमास)को ११ गतेसम्म अधिकमास(मलमास) परेको सन्दर्भमा अधिकमासका सम्बन्धमा छोटो चर्चा गरिदैँ छ। केही समय अघि वैदिक परम्परामा नयाँ वर्षको प्रारम्भको विषयमा लेखिएको वैदिक परम्परामा नयाँ वर्षको प्रारम्भ : ह्लोसार माघी जस्ता नयाँ वर्षको वैदिकसिद्धान्तसितको सम्बन्ध भन्ने लेखमा (बिन्दुपोष्ट, २०८१ मङ्सिर १५) पनि वैदिक कालगणनाका केही सिद्धान्त प्रस्तुत गरिएका थिए ।
सनातन कालगणनापद्धति
हाम्रो सनातन कालगणना पद्धति वा सजिलोका लागि भन्दा पात्रो बनाउने पद्धतिमा सूर्य र चन्द्रमाको समन्वय गरेर गणना गरिञ्छ। हाम्रा सबैजसो चाडपर्व अनि श्राद्ध जस्ता अत्यन्त महत्त्वपूर्ण कर्म चन्द्रमाको मैना अनि तिथि अनुसार गरिञ्छ भन्ने कुरा सामान्यतया सबैजसोलाई थाहा छ । अनि कुनै कुनै वर्ष अधिकमास पर्नाले त्यो १३ महिनाको वर्ष हुञ्छ भनेर पनि सामान्यताया जानेसुनेकै कुरा हो । यो अधिकमास भनेको के हो यो किन आवश्यक भएको हो अनि हाम्रो सनातन वैदिक ज्योतिष अनुसार अधिकमास मान्ने पद्धति र अहिले प्रचलनमा रहेको पद्धतिमा के भिन्नता छ भनेर पनि यहाँ छोटकरीमा चर्चा गरिदैँछ।
अधिकमासको आवश्यकता
सूर्यको वरिपरि पृथ्वीले भ्रमण गर्न लाग्ने समयलाई सौर वर्ष भनिञ्छ जुन लगभग ३६५ दिनको हुने हुनाले हाल चलनमा रहेको मिति लेख्ने पद्धति (निरयण सौरमानको पात्रो)मा रहेका १२ सौरमासका दिन जोड्दा धेरैजसो वर्षमा ३६५ दिन हुन आउँछ। कुनै वर्ष ३६६ दिन पनि हुञ्छन् (वास्तविक ३६५.२४ दिन)। अयनचलनको व़ास्ता नगरी गणना गरिने भएकाले यो पद्धतिलाई निरयण गणना भनिञ्छ। (अयनचलनका विषयमा विस्तृतमा चर्चा कुनै अन्य समयमा गरिनेछ।) हाम्रा चाडपर्वको आधार चन्द्रमाका मैना भने कि २९ कि ३० दिनका मात्र हुने (चान्द्रमास लगभग साढे २९ दिनको हुनाले) भएकाले १२ चान्द्रमास अथवा १ चान्द्रवर्षमा सामान्यतया ३५४ दिन हुञ्छन् ।
पृथ्वीले सूर्यको परिक्रमा गर्दा आफ्नो कक्षमा २३.५ डिग्री ढल्केको कारणले नै उत्तरायण, दक्षिणायन तथा ऋतुहरुको उत्पत्ति पनि हुञ्छ। हामी पृथ्वीको उत्तरी गोलार्ध (उत्तरी पाटो)मा भएकाले हामीले आकाशमा हेर्दा दक्षिणायनको अन्त्यमा (चल्तीको पुस ६ वा ७ गते) सूर्यको कोण (ढल्काइ) र उत्तरायणको अन्त्य (असार ६ वा ७ गते) माभन्दा धेरै हुञ्छ।
अधिकमासको आवश्यकता पर्नुमा सूर्यको वरिपरि पृथ्वीले भ्रमण गर्न लाग्ने समय (३६५.२४ दिन) र १२ व़टा चान्द्रमास ( शुक्लप्रतिपदादेखि औँसी) को समय (सामान्यतया ३५४ दिन) को अन्तर लगभग ११ दिनको हुने भएकाले निरन्तर १२ चान्द्रमासको वर्ष मान्दै गएमा सूर्यको वरिपरि पृथ्वी घुम्नाले हुने अयन परिवर्तन र प्रत्यक्ष ऋतुसित चान्द्रमासको तालमेल नबसी प्रत्येक वर्ष ११ दिन जति अगाडि सर्दै जाञ्छ। यो कुरा तिथि पनि दिइएको कुनै पनि भित्तेपात्रो नै हेरे पनि सजीलै बुझ्न सकिञ्छ। उदाहरणका निम्ति गत साल २०८१को पात्रो वा भित्तेपात्रोमा वैशाख(मेषमास)मा शुक्लपञ्चमी वैशाखको ३० गते परेको छ र २०८२को वैशाख(मेषमास)को १९ गते अर्थात् ३० गतेभन्दा ११ दिन अघि नै एस वर्ष शुक्ल-पञ्चमी परेको छ। यदि अधिकमासको व्यवस्था भएन भने चान्द्रमास र सौर अयन तथा ऋतुहरुको सम्बन्ध रहन सक्तैन। अत: चन्द्रमा र सूर्यको निरन्तर समन्वय गरेर चल्ने हाम्रो सनातन वैदिक कालगणनापद्धतिमा प्रत्येक तेस्रो वर्षमा एउटा अधिकमास थपेर चान्द्रमास र सूर्यको अयन अनि ऋतुसितको सम्बन्धमा निरन्तर तालमेल राख्ने गरिञ्छ। वेदमा पनि अंहसस्पति वा अंहस्पत्य भनेर १३औं मैनाका रूपमा अधिकमासको उल्लेख हुनुका साथै पुन: पुन: वर्ष १२ वा १३ मैनाको हुञ्छ भनेर भनिएको छ।
अधिकमासको गणना वा अधिकमास कैले राख्ने भनेर कसरी निर्धारण गरिञ्छ ?
माथिको वर्णनबाट अधिकमास किन आवश्यक छ भनेर स्पष्ट भयो। अब अधिकमास कैले कैले मान्ने भनेर प्रश्न उठ्छ। आजभोलि चलेको आधुनिक पद्धतिमा सूर्यका १२ राशिको भ्रमणको आधारमा १२ राशि-सङ्क्रान्तिहरु मान्ने चलन छ। तर वेद-वेदाङ्गमा ( श्रुति र स्मृतिमा) मेषादि १२ राशिको उल्लेख पाइन्न। अत: ती राशिमा सूर्य प्रवेश गर्दा मानिने १२ राशि-सङ्क्रान्ति र तदनुसारका १२ सौर सङ्क्रान्ति तथा सौर मैनाका नाम पनि पाइन्नन् ।केवल कालगणनाका दृष्टिले साढे ३० दिनको सौरमास हुञ्छ भनेर मानिञ्छ। आजभोलि चलेको अवैदिक पद्धतिले अधिकमास पनि इनै १२ राशिका सङ्क्रान्तिका आधारमा परिभाषित गरेको हुनाले कुनै वर्षमा २ अधिकमास समेत पर्न सक्छ अनि सोही वर्षमा क्षयमास पनि मानी फेरि १३ मैनाको नै चान्द्रवर्ष बनाउने पनि गरिञ्छ। सामान्य दृष्टिले हेर्दा पनि १३ मैनाको वर्ष हुँदा २ अधिकमास अनि फेरि १ क्षयमास मानेर गणना गर्नु अनावश्यक कुरो भएको र सूर्य र चन्द्रमाको गतिको समन्वय गर्न आवश्यकता अनुसार अयनको अन्तमा १ अधिकमास मान्नु नै प्राकृतिक तथा सहज भएको कुरा बुझ्न सकिञ्छ। आधुनिक सिद्धान्तज्योतिषले मानेको अधिकमासको परिभाषाले नै उत्पन्न गरेको भएको समस्याको समाधान गर्नका निम्ति आधुनिक पद्धतिको अधिकमासको परिभाषाले गर्दा कुनै कुनै वर्षमा त एकै वर्षमा २ अधिकमास परेर १४ मैनाको वर्ष हुन जाने तर वर्षमा १३ मैनाभन्दा बढी हुन नमिल्ने हुनाले क्षयमासको परिभाषा बनाई १ मैना क्षय (नष्ट ) भएको भन्ने गर्छ । यो कुरो प्रकृतिसम्मत पनि नभएको कुरा समय नष्ट हुन सक्तैन भन्ने कुरो सरल हुनाले सामान्य बुद्धि भएकाले पनि बुझ्न सक्छन् । वैदिक पद्धतिले कालगणना गर्दा अधिकमासको गणनापद्धतिको विशिष्टताले गर्दा माथि भनिए जस्तो कालगणनाका लागि सार्थक मान्न नसकिने कुनै वेला एकै वर्ष २ अधिकमास अनि क्षयमास मानेर दोहोरो कार्य गर्ने आवश्यकता पर्दैपर्दैन । वैदिकपद्धतिमा साढे २ वर्षमा बढीमा एउटा मात्र अधिकमास पर्छ, (कुनै वेला ३ वर्षमा पर्छ) क्षयमास भन्ने कुरा नै हुँदैन।
लगधमुनिप्रोक्त वैदिकपरम्परामा गुरुमुखबाट पढिदैँ आएको ज्योतिषको एकमात्र ग्रन्थ “पञ्चसंवत्सरमयम्’ बाट प्रारम्भ हुने लगधमुनिप्रोक्त वेदाङ्गज्योतिष हो। यो अत्यन्त छोटो (४४ श्लोक भएको यजुर्वेदीको र ३६ श्लोक भएको ऋग्वेदीका गरी २ पाठ भएको) ग्रन्थमा कालगणनाका (पात्रो बनाउनका ) लागि चाहिने मूल सिद्धान्त बताइएका छन् ।
वेदाङ्गहरुलाइ वैदिक परम्परामा महास्मृति भनिञ्छ र वेद (श्रुति) पछिका अत्यन्त अकाट्य ग्रन्थका रूपमा मानिञ्छ। वेदाङ्गज्योतिषको उपलब्ध पाठमा धनिष्ठा नक्षत्रको पैलो विन्दुमा सूर्य पुग्दा उत्तरायण लागी सोही बेला शुक्ल प्रतिपदा परेको बेला प्रारम्भ भएको ५ वर्षे युगलाइ आदियुग भनी आदियुगको उदाहरण मात्र दिएर ५ वर्षे युगको मध्य र अन्त्यमा अधिकमास पर्छन् जस्ले गर्दा एक युगमा ६२ चान्द्रमास ६० सौर मास र ६७ नाक्षत्रमास हुञ्छन् भनिएको छ। यो वैदिक कालगणनापद्धति विविध कारणले विगत १५०० वर्षजतिदेखि व्यापक प्रयोग नहुने परिस्थिति आएकाले प्रत्येक ५ वर्षमा २ अधिकमास राख्ता त्यो आवश्यकता भन्दा बढी भै सौर अयन र ऋतुसँगको समन्वयमा त्यसले बाधा पर्ने भएकाले वैदिक पद्धतिमा अधिकमास व्यावहारिक रूपमा कसरी कैले कैले राखिने हो भन्ने विषयमा धेरै थरि चिन्तन वा मतहरू प्रसारित भैराखेका थिए।
तर वैदिकमन्त्रसङ्ग्रह भन्ने ग्रन्थमा पिताजी (शिवराज आचार्य कौण्डिन्न्यायन) द्वारा वेदवेदाङ्ग अनि अरु धेरै ग्रन्थको गम्भीर अध्ययन गरी वैदिक कालगणना-पद्धति सम्बन्धी निष्कर्ष प्रकाशित गरिएपछि यसमा स्पष्टता आएको हो (२०५२, पृ. १३७)। वेदाङ्गज्योतिषको कौण्डिन्न्यायनव्याख्यान वाराणसीको चौखम्बा विद्याभवनबाट प्रकाशित भएपछि अधिकमासको गणनाको पनि विस्तृत व्याख्या समेत सार्वजनिक रूपमा उपलब्ध भयो (वेदाङ्गज्योतिषम्, सोमाकरभाष्य-कौण्डिन्न्यायनव्याख्यानसहितम्, २०६२, पृ. ३९६–४१२)। यसबाट वैदिक अधिकमास-गणना-पद्धति विषयका लामो समयदेखिका भ्रम तथा कल्पनाहरूको खण्डन भै वास्तविक पद्धति यो रहेछ भन्ने कुराको स्थापना भएर पूर्ण रूपमा वैदिकपद्धतिकै प्रयोग गरी वैदिक तिथिपत्र प्रकाशित हुन सकेको हो । वैदिक कालगणनासिद्धान्तको पुनरुद्धार गरी पुन: प्रयोगमा ल्याउने हाम्रो धार्मिक सांस्कृतिक इतिहासमा नै अत्यन्त महत्त्वपूर्ण कार्य नेपालका विद्वान्-बाट भएकाले यो सबै विद्वान्-का लागि प्रेरणादायक पनि छ । तल यो पद्धति सरल रूपमा वर्णन गरिएको छ ।

वेदाङ्गज्योतिषले बताएको अधिकमासपद्धतिको नेपालमा संरक्षण
वर्तमानमा व्यापक रूपमा प्रचलित सूर्यसिद्धान्त इत्यादि ग्रन्थमा वेदवेदाङ्गमा नभएका मेष, वृष इत्यादि १२ राशिका आधारमा सौर महिनाहरुको गणना गरिञ्छ। ई मेषादि १२ राशि अनि आइत, सोम जस्ता ७ बारको प्रचलन गत १६०० वर्ष जतिदेखि मात्र बाह्यप्रभावले गर्दा भएको हो भन्ने कुरा इतिहासका विषयमा रुचि राख्ने र ज्योतिषका परम्परामा ध्यान दिनेहरुका लागि ज्ञान भएकै कुरो हो। अत: मेषादि १२ राशिमा क्रमश: सूर्यको अवस्थिति हुँदा बन्ने सौर मासहरू (मेषमास, वृषमास इत्यादिलाई नै वैशाख, जेठ इत्यादि भन्ने चलन चलेको छ) पनि आधुनिक समयमा चलेका हुन्। वैदिक परम्परामा नभएका ई मैनाका आधारमा अधिकमास मान्ने चलन पनि पछि चलेको चलन हो भनेर सजीलै बुझ्न सकिञ्छ। भास्कराचार्यले सिद्धान्तशिरोमणि भन्ने ग्रन्थमा दिएका कुनै पनि सङ्क्रान्ति नपर्ने चान्द्रमास नै अधिकमास हुञ्छ र २ वटा सङ्क्रान्ति परेमा क्षयमास हुञ्छ भन्ने परिभाषाको आधार नै मेषादि १२ राशिमा सूर्य जाने सङ्क्रान्ति भएको हुनाले यो आधुनिक अधिकमास गणना पद्धति हो हाम्रो परम्पराको हैन भनेर जान्न सकिञ्छ। क्षयमास भन्ने कुरा नै अप्राकृतिक भएको कुरो माथि भनीसकियो। नयाँ पद्धतिले गणना गर्ने चलन चलेपछि पनि नारद र भारद्वाजका मत भनी नाम दिएर पनि पुन: वैदिकसिद्धान्त अनुसार उत्तरायण वा दक्षिणायनको अन्तमा नै (आषाढमा अथवा पौषमा नै) अधिकमास मान्न पर्ने अरू महिनामा मान्न नहुने नियम पनि बनाइएको कुरा राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको हस्तलिखित ग्रन्थ धर्मनिर्णयतिथिसारसङ्ग्रहको उद्धरण दिएर लुचियानो पेतेक् भन्ने अन्वेषकले वि.सं. २०१५ मा प्रकाशित गरेको देखिञ्छ।
मेषादि राशिमा सूर्यको भ्रमणका आधारमा अधिकमास तथा क्षयमासको परिभाषा बनाएर मान्न थालिएपछि वेदाङ्गज्योतिषको सिद्धान्तको पठनपाठन तथा प्रयोग सुदृढ हुन नसकेका कारणले मूल वैदिक अधिकमास गणना कसरी गरिञ्छ भनेर समेत बुझ्न कठिन हुन गएको परिस्थितिमा आधुनिक कालका ज्योतिषी तथा कालगणनाका अनुसन्धाताहरुले वैदिक सिद्धान्तमा अधिकमासको गणनाका विषयमा विविध किसिमका कल्पना गरेको देखिञ्छ। उदाहरणका निम्ति भारतका आधुनिक कालका सिद्धान्तज्योतिषका प्रसिद्ध विज्ञ वेङ्कटेश केतकरले गरेको कल्पना वास्तविकतासित मिल्दैन। नेपालका आधुनिककालका गणितज्ञ अनि सिद्धान्तज्योतिष तथा इतिहासका अनुसन्धाता नयराज पन्तले पनि “लिच्छविसंवत्-को निर्णय” भन्ने ग्रन्थमा पूर्व लिच्छवि संवत् (शकसंवत्) कस्तो हो (कहिले र कुन मैनाबाट प्रारम्भ हुने हो) भनेर निर्णय गर्नका लागि वेदाङ्गज्योतिषमा बताइएको वैदिक परम्पराको अधिकमास पद्धतिको प्रयोग गर्न खोज्दा अधिकमासको गणनापद्धति नै बुझ्न नसकेकाले पूर्व लिच्छविसंवत्-को निर्णय गलत हुन गएको हो। साथै तदनुसार नै चाँगुनारायणमा रहेको मानदेवका पालामा राखिएको नेपालकै इतिहासमा अत्यन्त महत्त्वपूर्ण अभिलेखको वास्तविक मिति वि.सं ५२० का सट्टा वि.सं ५२२ हो भनेर गलत मिति भनिएको हो।
वेदाङ्गज्योतिषले बताएको अधिकमासपद्धतिको गहन अनुसन्धान
काठमाण्डु उपत्यकामा नेपालको इतिहासमा विद्या कला कौशल आर्थिक समृद्धि जस्ता कारणले स्वर्णकाल मानिएको लिच्छविकालमा मात्र हैन आजभन्दा ५०० वर्ष अघि मल्लकालसम्म पनि वेदाङ्गज्योतिषको सिद्धान्त (वैदिक कालगणना) अनुरूपको केवल उत्तरायण वा दक्षिणायनको अन्तमा पर्ने अधिकमास (क्रमश: द्वितीयाषाढ तथा द्वितीय पौष भनिने ) प्रचलनमा रहेको गौरवपूर्ण इतिहास ती समयका अभिलेखहरु तथा ताडपत्रका लेखोटहरुको अध्ययनबाट स्पष्ट हुञ्छ। पूर्वलिच्छविसंवत् अर्थात् वर्तमान शकसंवत् ४४९, ४७९, ४८७, ५१७ मा आषाढमा तथा संवत् ४३५ र ५१९ मा पौषमा अधिकमास परेको कुरा लिच्छविकालका अभिलेखहरुका सङ्ग्रहहरुमा प्रकाशित पाइन्छ (अभिलेखहरुको विवरण वेदाङ्गज्योतिषको कौण्डिन्न्यायन व्याख्यानमा पनि समाविष्ट छ पृ. ४११) । मल्लकालका अधिकमास परेका वर्षहरूको विस्तृत किसिमको विवरण महेशराज पन्तद्वारा लिखित पूर्णिमा (इतिहासप्रदान त्रैमासिक पत्रिका) को ११४ औँ अङ्क (वि.सं २०६१) मा प्रकाशित “ताडपत्रका लिखतपत्रमा अधिमास” शीर्षकको लेखमा पाइन्छ। वैदिकपद्धतिबाट नै अधिकमास मानेको पछिल्लो उदाहरण ताडपत्रका प्रमाणका आधारमा नेपाल संवत् ७६९ (वि.सं. १७०६) भनेर उनको अनुसन्धानले देखाएको कुरा त्यहाँ उल्लिखित छ । अहिले पनि उपत्यकामा यस्तो वेदाङ्गज्योतिषोक्त अधिकमासको विचार गर्ने परम्पराको मान्यता रहेको कुरो वि.सं. २०४८ मा चल्तीको सिद्धान्तज्योतिषअनुसार वैशाखमा अधिकमास परेको भए पनि वैदिक सिद्धान्तमा वैशाखमा अधिकमास पर्नै नसक्ने र त्यो महिना शुद्ध नै हुने हुँदा मत्स्येन्द्रनाथ-रथारोहण गर्न हुने मानिएको थियो भन्ने कुराबाट पनि बुझ्न सकिञ्छ। वि.सं. २०४८ का चल्तीका पात्रा हेर्दा वैशाखमा अधिकमासारम्भ भन्दाभन्दै पनि मत्स्येन्द्रनाथरथारोहणम् भनेर समेत लेखिएको देखिञ्छ । यसका साथै काठमाण्डु उपत्यकामा कृष्णप्रतिपदामा महिना नफेरिई ( पूर्णिमान्त मान नमानी) वेदाङ्गज्योतिषअनुरूप शुक्लप्रतिपदामा प्रारम्भ भै औँसीमा सकिने (अमान्त) मैना मान्ने प्रचलन पनि अहिलेसम्म नै छँदैछ । अनि उपत्यकाको मूल परम्परामा अहोरात्रात्मक तिथि ( एक दिनमा एक तिथि हुने) वैदिक सनातन सिद्धान्त पनि विशेष गरी नवरात्र र तिहारमा प्रयोग भैरहेको छ। तेसैले वेदाङ्गज्योतिषमा बताइएका सनातन वैदिक सिद्धान्त प्राचीन कालदेखि वैदिक संस्कृतिको केन्द्रका रूपमा रहेको काठमाण्डु-उपत्यकामा व्यवहारमा पालना हुँदै आएको स्पष्ट बुझ्न सकिञ्छ।

लिच्छविकालमा र मल्लकालमा पनि धेरैसमयसम्म द्वितीयाषाढ तथा द्वितीय पौषका रूपमा नै अधिकमास मानिएको कुरामा ध्यान गए पनि वेदाङ्गज्योतिषमा उदाहरणका रूपमा धनिष्ठा नक्षत्रका आदिमा सूर्य र चन्द्रमा सँगै हुँदा परेको शुक्लप्रतिपदालाइ आदियुगको अवधारणा बनाई पञ्चवर्षात्मक (५ वर्षे) युगका मध्य र अन्तमा अधिकमास पर्छन् भनेर भनिएको छ । तर ५ वर्षे युगका मध्य र अन्तमा (प्रत्येक साढे २ वर्ष वा ३० चान्द्रमास पछि) निरन्तर अधिकमास मानीरहँदा अलिक समयमा चान्द्रमास र सूर्यको अवस्थिति (पृथ्वीको अवस्थिति)को तारतम्य नमिल्ने हुँदै जाने कुरालाइ कतिसमयपछि कसरी मिलाउन सकिला? भनेर विभिन्न अन्वेषकहरूद्वारा गरिएका थरि थरिका कल्पना वास्तविक समाधान नभै केवल कल्पना भएको कुरो काठमाण्डुमा रहेको वेदवेदाङ्गको गहन अध्ययन अध्यापनको उद्देश्यले स्थापित स्वाद्ध्यायशालामा विशेष अनुसन्धान भै वास्तविक रूपमा वैदिक अधिकमास कसरी गणना गरिञ्छ भन्ने निर्णय वेदाङ्ज्योतिषको कौण्डिन्न्यायन व्याख्यानमा प्रकाशित भए पछि प्रमाणित भयो । वास्तविक रूपमा उत्तरायण वा दक्षिणायन लाग्ने दिन पत्ता लागेपछि सो दिनमा कृष्णपक्षको दशमी वा त्यो भन्दा पछिको तिथि परेमा त्यो मैना नै अधिकमास हुन जाने कुरो अनुसन्धानबाट पत्ता लगाउने कार्य भयो। रत्नकरण्डिका ग्रन्थको यो वचन पनि पत्ता लाग्यो—
दशमीमभ्यतिक्रम्य यदा सङ्क्रमते रविः।
द्विराषाढः स विज्ञेयो विष्णुः स्वपिति कर्कटे ।।
चान्द्र महिनाको कृष्णपक्षको दशमी तिथि अथवा त्यो भन्दा पछिका कुनै तिथिमा दक्षिणायन लाग्ने दिन परेमा त्यो मैना नै द्वितीय आषाढ नामको अधिकमास (उत्तरायणको अन्तमा पर्ने अधिकमास) हुञ्छ भनेर यो श्लोकबाट स्पष्ट बुझिञ्छ र सबै ५ वर्षे युगमा २ अधिकमास पर्ने अवस्था कसरी आउन्न र ३० वा ३६ चान्द्रमास पछि १ अधिकमास पर्छ भनेर पनि स्पष्ट रूपमा ज्ञात हुञ्छ। यो सिद्धान्त द्वितीय पौष ( दक्षिणायनको अन्तमा पर्ने अधिकमास) निम्ति पनि समान रूपमा मान्य हुञ्छ। सूर्य उत्तरायण वा दक्षिणायन लाग्ने दिन र ती दिनको लगत्तै आउने औसीँको दिनमा ६ वा त्यो भन्दा कम दिनको फरक भएमा त्यो औंसीमा समाप्त हुने मैना अधिकमास हुन जानेकुरा यो सिद्धान्तले बताएको छ। आजभोलि पुस(धनुर्मास)को ६ वा ७ गते सूर्य उत्तरायण लाग्छन्, असार(मिथुनमास)को ६ वा ७ गते सूर्य दक्षिणायन लाग्छन्। सूर्यको वास्तविक अयनारम्भ पत्ता लगाएर नै वैदिकपद्धतिमा काल गणना गरिन्थ्यो भन्ने कुरा वेदाङ्गज्योतिषको आठौँ श्लोकको “उत्तरायणमा दिनमान (सूर्योदयदेखि सूर्यास्तसम्मको समय) बढ्दै जाञ्छ र दक्षिणायनमा घट्दै जाञ्छ” भन्ने भनाइले र अन्य ग्रन्थहरुमा छायाको लमाइबाट अयनको ज्ञान हुञ्छ भन्ने कुरा उल्लेख भएबाट स्पष्ट बुझ्न सकिञ्छ। एस वर्ष मिथुनमास(असार)को ७ गते कृष्णपक्षको एकादशी तिथि परेको छ। तसर्थ माथि वर्णन गरिएको सिद्धान्त अनुसार आज वृषमास ( जेठ)को १३ गते शुक्लप्रतिपदाबाट प्रारम्भ हुने मैना द्वितीयाषाढ अर्थात् उत्तरायणको अन्तमा पर्ने वैदिकसिद्धान्तको अधिकमासका रूपमा मानिने मैना भनेर मानिएको हो । (चल्तीमा आज १३ गते औँसी भनिए पनि हिजो १२ गते दर्शश्राद्धको दिन नै वैदिक गणनाले औँसी मानिने हुनाले आज १३ गते शुक्ल प्रतिपदा मानिएको हो) ।
यो अधिकमासको गणनाको वास्तविक पद्धति पत्ता लगाउने कार्य भएपछि नै वैदिक पद्धतिको पूर्ण प्रयोग गरी वैदिक सिद्धान्त पच्छ्याएको वैदिक तिथिपत्र निर्माण हुन सम्भव भएको हो, जुन गत १५ वर्षदेखि काठमाण्डु उपत्यकामा नै अवस्थित स्वाद्ध्यायशालाकुटुम्बबाट प्रकाशित भै आस्तिक सनातनधर्मावलम्बीहरुको प्रयोगका लागि उपलब्ध भएको छ। यो वैदिक तिथिपत्रलाई वेदमा नै महिमा गाइएको देवताको आत्मा भनेर जानिएको हिमालयका पार्श्वमा रहेको विविध शास्त्रको उद्गमस्थलका रूपमा चिनिएको हिमवत्-खण्डको गौरवमा एउटा थप योगदान रूपमा ऋषिमुनिप्रोक्त कालगणना नै लोक र परलोक दुवैका लागि कल्याणकारी छ भनेर बुझ्ने मौका पाएका वैदिक सनातन धर्मावलम्बीहरुले लिएका छन् ।
वैदिकतिथिपत्रम् (वि.सं. २०८२) जालस्थानमा (अन्लाइन्) नि:शुल्क उपलब्ध छ। https://archive.org/details/vaidika-tithipatram-5090-kali-samvat-2082-vs
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।