अनावश्यक विवादमा तानिएको विषय: पशुबलि

२०८१ असोज १७ गते, विहिबार
सारांश
  • सनातनधर्ममा 'पशुबलि' अत्यन्त गहन र विस्तृत विषय हो। वेदादिशास्त्रबाट अहिंसापरक वचनहरू तथा हिंसा र मांसाहारबाट हुने दुष्परिणामका वचनहरू प्रस्तुत गरेर त्यसैको आधारमा बलिको खण्डन गर्ने प्रयास गरिएको पाइन्छ।

धर्मनियन्त्रित शासनतन्त्रमा शिथिलता आएसँगै, समाजमा केही समययता धार्मिक व्यवस्था पनि अनियन्त्रित बन्दै गइरहेको देखिन्छ। येन-केन-प्रकारेण अरुभन्दा विलक्षण देखिएर आफ्नो पृथक् पहिचान स्थापित गर्ने उद्देश्यले नै कतिपय व्यक्तिहरू धार्मिक विषयको - परम्परासँग असामञ्जस्य हुनेगरी फरक व्याख्या गरिदिएर लोकको दृष्टिमा आउने, तथा शास्त्रीय परम्परामा खलल पुऱ्याउने कुकृत्यमा अग्रसर देखिन्छन्।अनादिकालदेखि सामञ्जस्यपूर्वक चलिआएको सनातनधर्म, संस्कृति र परम्परासँग सैद्धान्तिक एवं व्यावहारिक रूपमा समेत मेल नखाने अनेकौँ नयाँ नयाँ मत, पन्थ, संघ, संस्था र समूह दिनानुदिन उत्पन्न भइरहेका छन्।

 

यसरी जरोबिना बीचबाट पलाउँदा वैदिक प्रणालीको बारेमा अनभिज्ञ हुने गरेका कारण, ग्रन्थहरूको अविधिपूर्वक जथाभावी अध्ययनले वैदिक धर्म र शास्त्रका विषयमा स्वयं पनि भ्रमित भइ, आफ्ना भ्रामक व्याख्याको प्रचार-प्रसारको माध्यमबाट यी मतानुयायीले अन्यलाई पनि भ्रमित गराउँदै आएको पाइन्छ। फलस्वरूप, अनेकौँ शास्त्रीय विषयहरू आज अनावश्यक रूपमा विवादित बनेर समाजमा परस्पर विरोध र सर्वसाधारणमा भारी अन्यौलको स्थिति सिर्जना गरिदिएको छ। यसरी नै विवादमा पारिएको एउटा विषय हो - पशुबलि।

 

प्रतिवर्ष नवरात्रि नजिकिएसँगै, केही समूहहरू सक्रिय भएर योजनाबद्ध रूपमा बलिको विरोधमा लेख्ने, बोल्ने गर्दछन्। दशैँ लागेसँगै देशका चर्चित पत्रपत्रिका र विद्युतीय मिडियामा, टीका लगाउँदा प्रयोग हुने चामलका एक एक दानाको आर्थिक हिसाब-किताबदेखि लिएर मांसाहारबाट स्वास्थ्यमा हुने गम्भीर 'प्राणघातक' असरको वैज्ञानिक विश्लेषणहरू प्रकाशित हुन थाल्छन्। हिन्दूको सहिष्णुता र सहनशीलताको गलत फाइदा उठाउँदै, अर्को समूह पशुपतिनाथ लगायतका मन्दिरको अगाडि बलिको विरोधमा नाराहरू लेखिएको ठूल्ठूला ब्यानर बोकेर दिनभर प्रदर्शनमा उभिन्छन्। यहाँसम्म कि मासुबिना एक गाँस निल्न नसक्नेहरूमा पनि दशैँको बेला एकाएक पशुप्रेमको खहरे भेल उर्लिएर पशुबलिको अटल बाँधलाई हल्लाउन अग्रसर हुन्छ।

 

तर, जसै नवरात्रि सकिन्छ, तब यी पशुप्रेमीहरू एक्कासि अन्तर्ध्यान हुन्छन्; उनीहरूको दर्शन प्राप्त गर्न 'फ्रेस हाउस', 'सेकुवा कर्नर्' र 'तन्दुरी भोजनालय' पुग्नुपर्छ। वर्षभरी ती ब्यानर कहाँ लुकाइन्छ, कसैलाई थाहा हुँदैन। तब पत्रपत्रिका र डिजिटल मिडियामा विभिन्न स्वास्थ्यकर्मीका अन्तर्वार्ता लिँदै, मासुमा हुने पौष्टिक तत्त्वहरू र मांसाहारको फाइदाको चर्चा सुरु हुन थाल्दछ। पशुबलि दिइनु उचित हो वा होइन, धर्मशास्त्रले के भन्छ, यो अलग विषय हो, जसको चर्चा यसै लेखमा गरिनेछ। तर पशुबलि केवल हिन्दूधर्ममा हुने गरेको अभ्यास भने होइन, अन्य कतिपय मतावलम्बीले पनि आआफ्ना पर्वमा पशुबलि दिने गर्दछन्।

 

विश्वस्तरमा हेर्दा, नेपाल-भारतजस्ता सिमित भौगोलिक क्षेत्रको पनि सिमित हिन्दूहरूले अभ्यास गर्ने पशुबलिको तुलनामा नेपाल लगायत विश्वभर रहेका अन्य मतावलम्बीले आफ्ना पर्वहरूमा 'कयौँ गुणा बढी' पशुहत्या गर्ने तथ्य विश्वमासु टड्कारै छ। परन्तु आश्चर्य, केवल तथाकथित पशुप्रेमीहरू भने यसबाट बेखबर छन्। उनीहरूका धार्मिक स्थलमा 'पशुबलि रोकौँ' भन्ने ब्यानरसहित कुनै अभियन्ता उभिएको देखिँदैन। ती पर्वका अवसरमा कुनै पत्रपत्रिकामा 'पशुबलि गलत हो' भन्ने लेख आउँदैनन्, बरु 'हार्दिक शुभकामना' आउँछन्। बलिकै कारण हिन्दूधर्म र दशैंजस्तो पर्वको जोड़दार विरोध गर्नेहरू नै, अन्य मतावलम्बीले बलि दिने पर्वमा भने अत्यन्त उत्साहपूर्वक शुभकामना र मुबारक बाँड्ने गर्दछन्। मन्दिरमा बलिको विरोधको कार्यक्रम सकेर, हतारिँदै होटलमा मासुभात खानेहरू पनि भेटिएकै छन्। यसबाट, पशुबलि-विरोधका यावत् अभियानहरू कुन उद्देश्यले कहाँबाट परिचालन हुँदैछन् भनेर बुझ्न गाह्रो नहोला।

 

पशुबलिको चौतर्फी आलोचनाको बीचमा, हाम्रा अधिकांश धर्मगुरुहरूले पनि शास्त्रीय परम्पराको रक्षार्थ धर्मको पक्षमा आफ्नो आवाज उठाउनुको सट्टा, धर्मपरम्पराविरोधीकै 'हो मा हो' मिलाउँदै आफ्नो समय, श्रम, अनुयायी र वर्चस्व कायम राख्ने अत्यन्त सजिलो बाटो छान्नुभएको देखिन्छ। यसैबीच, विष्णुतत्त्वको उपासना गर्ने सम्प्रदायमा लाग्नुभएका कतिपय विद्वानहरू, साम्प्रदायिक सङ्कीर्णताले ग्रस्त भएर आफ्नै साम्प्रदायिक मान्यता नै एकमात्र सत्य हो, र मेरै उसापनापद्धतिमात्र सर्वोपरि, सार्वभौम एवं सर्वमान्य हुनुपर्छ भन्ने भावनाले भावित हुँदै, शास्त्रको एकपक्षीय वचनमात्र प्रस्तुत गरेर शैवशाक्तादि तथा बहुसंख्यक नेपाली हिन्दूहरूको उपासनापद्धतिको विरोधमा उद्दत देखिनुहुन्छ, जुन दुःखद विषय हो। बलिको विरोध गर्नेहरूले हिंसा, अहिंसा, मांसाहार र पशुबलिजस्ता स्पष्ट सीमारेखा भएका विषयलाई, आपसमा छ्यासमिस् बनाएर, केही कोरा भावुकता र तर्कहरूको मिश्रणका साथमा श्रोतालाई प्रस्तुत गरी अलमल्याउने गरेको पाइन्छ।

 

नेपाली हिन्दूको परम्परा निगम (वेद) र आगम (तन्त्र) दुबै पद्धतिमा आधारित छन्। 'नेपाल' भनिरहँदा, यहाँ एउटा तथ्य पनि उल्लेख गरिदिनु उचित होला, कि राष्ट्रनिर्माता बड़ामहाराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बृहद् अभियान सुरु गर्दा सल्ल्यान-कोटकी देवीको उपासना गर्नुभएको थियो। त्यसै क्रममा देवीले स्वप्नमा सात-आठ वर्षीया कन्याको रूपमा दर्शन दिएर, दुईवटा खड्ग वहाँलाई प्रदान गर्नुभयो। आफूले उनको मनोकांक्षा पुऱ्याइदिएको र त्यसको बदलामा आफूलाई पनि केही चाहिएको कुरा समेत देवीले बताउनुभयो।

 

देवीमाईको यही आदेश बमोजिम नै पृथ्वीनारायण शाहले नित्यपूजाका निमित्त सातवटा राँगा र सातवटा बोका थप गरी, बोर्लाङघाटको आम्दानी तथा घाटको छेवैमा रहेको टार पनि सल्ल्यान-कोटकी माईलाई सङ्कल्प गरेर दिनुभएको थियो।(१) यसरी ऐतिहासिक रूपमा देवी भगवतीकै अनुग्रहले प्राप्त शाक्तभूमि नेपालको संरचनाको महा-अभियान पनि पशुबलि दिएरै सुरु भएको पाइन्छ।

 

सनातनधर्ममा 'पशुबलि' अत्यन्त गहन र विस्तृत विषय हो। वेदादिशास्त्रबाट अहिंसापरक वचनहरू तथा हिंसा र मांसाहारबाट हुने दुष्परिणामका वचनहरू प्रस्तुत गरेर त्यसैको आधारमा बलिको खण्डन गर्ने प्रयास गरिएको पाइन्छ। शास्त्रको बलाबल नबुझ्नाले, र हिंसा, अहिंसा, बलि तथा मांसाहारको उचित मीमांसा नगरिकन जथाभावी प्रमाण-सङ्ग्रह गर्नाले बलिको विरोध हुने गर्दछ।

 

वैदिक-सनातनधर्ममा कसैको व्यक्तिगत अथवा सामूहिक भावुकतालाई धर्म र अधर्मको निर्णयमा प्रमाण मानिँदैन। के धर्म हो, के पाप हो, के गर्न हुने, के नहुने - यसमा शास्त्र नै एकमात्र प्रमाण हुन् भन्नेमा सम्पूर्ण वैदिक विद्वानहरू स्पष्ट नै छन्। धर्म र अधर्मको निर्णय कसैको तर्क वा व्यक्तिगत भावनाको आधारमा होइन, वेदको आधारमा गरिन्छ — चाहे ती तर्क वा भावना जतिसुकै प्रबल किन नहोउन्। भीड़को भावनालाई हेरेर धर्मको निर्णय हुँदैन।

 

मांसाहार निषेधको रहस्य :

शास्त्रले 'वृथामांस' को निषेध गरेको छ। देवताको उद्देश्यले नबनाइएको असंस्कृत मांसलाई वृथामांस भनिन्छ। आधुनिक परिप्रेक्ष्यमा होटल, रेष्टुराँ आदिमा गएर मांसजन्य परिकारको भक्षण गर्नु, र पसलबाट मांस किनेर तरकारीको रूपमा प्रयोग गर्नु जस्ता गतिविधि यस कोटिमा पर्दछन्। शास्त्रमा जहाँ मांसाहारको निन्दा वा निषेध गरिएको छ, जहाँ त्यसबाट नरकप्राप्ति हुने उल्लेख छ, ती वचनहरू यही वृथामांसको विषयमा बताइएका हुन् भन्ने बुझ्नु जरुरी छ। यस प्रकारका प्रशस्त निषेधात्मक वचन विभिन्न पुराण, महाभारत र मन्वादि स्मृतिमा भेटिन्छन्। तर, अज्ञानवश अथवा नियतवश कतिपयले वृथामांसको निषेधलाई पशुबलिको निन्दामा प्रमाण बनाएर प्रस्तुत गरिदिने, र शास्त्रको गहन अध्ययनको अवसर नपाएका सोझासाझा हिन्दूलाई अलमल्याउने गरेको पाइन्छ।

 

शास्त्रीय भोजनविधान :

वैदिक शास्त्रहरूमा भोजनको अवधारणा मांसाहार र शाकाहारमा आधारित नभएर, भक्ष्य (खान हुने) र अभक्ष्य (खान नहुने) मा आधारित रहेको छ। मांसरहित पदार्थ पनि भक्ष्य र अभक्ष्य दुबैथरी हुन्छन्; मांसजन्य पदार्थ पनि भक्ष्य र अभक्ष्य दुबैथरी हुन्छन्। उदाहरणार्थ, प्याज, छ्यापी, लशुन, च्याउ आदि वस्तुहरू शाकाहारी हुँदाहुँदै पनि शास्त्रमा अभक्ष्य बताइएको छ।(२) भेड़ा, बोका‍‍, मृग, खरायो, वनकुखुरा, आदि मांसाहार हुँदाहुँदै पनि शास्त्रमा भक्ष्य बताइएको छ।(३) देवताको, पितॄको वा ब्राह्मणको उद्देश्यले नभएर व्यक्तिगत भोजनको उद्देश्यले बनाइएको तिलमिश्रित खिचड़ी, खीर, हलुवा, घ्यूमा पकाएको रोटी पनि शास्त्रमा वर्जित गरिएको छ।(४) त्यसैगरी मधुपर्क, पशुयज्ञ, देवकार्य र पितॄकार्यमा मेध्य मांसको प्रयोगको विधान पनि शास्त्रमा गरिएको छ।(५) 'देवताको उद्देश्यले नभएर जसले आफ्नै तृप्तिको लागि भोजन बनाउँछ, चाहे त्यो शाकाहारी परिकार नै किन नहोस्, उसले केवल पाप नै खान्छ' भन्ने तथ्य भगवद्गीताबाट पनि स्पष्टै छ।६ जुन शास्त्रमा हिंसा र मांसाहारको निन्दा गरिएको पाइन्छ, तिनै शास्त्रमा भक्ष्याभक्ष्यको प्रसङ्गमा यी तथ्यहरू पनि कहीँ संक्षेपमा, र कहीँ विस्तारमा उल्लेख गरिएको छ। तर, बलिको विरोध गर्नेहरूले केवल आफ्नो अनुकूल हुने एकपक्षीय श्लोकहरू मात्र सङ्कलन गरेर हिन्दू समाजमा भ्रमको खेती एवं शास्त्रसँग खेलबाड गरिरहेका छन्।

 

श्राद्ध र मांस :

जुन सूत्रग्रन्थको आधारमा हामी वाजसनेयी माध्यन्दिनी शुक्ल यजुर्वेदीय नेपाली हिन्दूहरूको जन्मदेखि मृत्युसम्मको सोह्र संस्कारहरू सम्पादन गरिन्छ, वेदजतिकै मान्य त्यस 'पारस्कर-गृह्यसूत्र' मा पनि अन्नप्राशन (भात-खुवाइ) संस्कारमा विभिन्न उद्देश्यका लागि सम्बन्धित पंक्षीको मासुले नै बच्चाको प्राशन गराउनुपर्ने विधान गरिएको छ।(७) कतिपय नेपाली समाजमा तिनै पंक्षीको चुच्चोलाई चम्चाको रूपमा प्रयोग गरी त्यसैले अन्न खुवाउने परम्परा पनि आजसम्म छँदैछ। सोही ग्रन्थमा अष्टकाश्राद्धमा पुआ, मांस र शाकले यजन गर्नुपर्ने विधान छ।(८) श्राद्धमा मांसको प्रयोगको विधान अनेकौँ शास्त्रमा पाइन्छ। 

 

जुन 'श्रीमद्भागवतम्' को आधारमा विशेषतः वैष्णव मतावलम्बीले बलिको विरोध गर्दछन्, त्यसैमा पनि राजा इक्ष्वाकुले वशिष्ठजीलाई गुरु बनाएर अष्टकाश्राद्ध गर्न लाग्नुभएको, र त्यसका लागि आवश्यक मेध्य पशुको मासु लिएर आउन आफ्ना पुत्रलाई वनमा पठाउनुभएको प्रष्ट उल्लेख छ।(९) देवीभागवत(१०), ब्रह्मपुराण(११), वायुपुराण(१२), हरिवंशपुराण(१३), ब्रह्माण्डपुराण(१४) लगायतका ग्रन्थमा पनि यो प्रसङ्ग यसै रूपमा पाउन सकिन्छ। मनुस्मृति(१५), अग्निपुराण(१६), ब्रह्मपुराणदेखि(१७) विष्णुपुराणजस्ता(१८) वैष्णवप्रधान ग्रन्थमै समेत श्राद्धमा कुन कुन पशुपंक्षीको मांसले पितॄगण कति समयका लागि तृप्त हुन्छन् भनेर निकै विस्तृत वर्णन गरिएको पाइन्छ। यसरी गृह्यसूत्रले नै विधान गरेको हुँदा यी पौराणिक विधान पनि वेदसम्मत नै हुन् भन्ने प्रष्टै छ। कसैले पशुप्रति भावुकतावश चित्त नबुझाउनु, र यसलाई पापकर्म देख्नु अलग विषय हो। पाप नामक केही वस्तु हुन्छ भनेर पनि शास्त्रबाटै सबैलाई ज्ञात भएको हो; तसर्थ कुन कर्म पाप हो र होइन - यसको निर्णयमा पनि शास्त्र नै प्रमाण हुन्छन्, कसैको चित्त वा भावना धर्ममा प्रमाण हुँदैनन्।

 

वैष्णव पुराण र पशुबलि :

विष्णुपुराणका अनुसार गोवर्द्धन पर्वतको पूजा गर्दा, श्रीकृष्णकै आदेश बमोजिम व्रजवासीले विधिवत् पशुबलि दिएर, त्यसको मासु चढाएरै पूजा गरेका थिए।(१९) श्रीकृष्णले मेध्य पशुहरूको वध गर्नुभएको(२०), अर्जुनले मेध्य पशुको वध गरेका(२१), राजा बनिसकेका युधिष्ठिरले अर्जुनद्वारा वध गरिएका तिनै पशुको मांस श्राद्धकर्ममा प्रयोग गरेका(२२), सम्पूर्ण देवताको उपस्थितिमा दक्ष प्रजापतिले गरेको यज्ञमा बोकाको बलि दिइएको(२३), इत्यादि अनेकौँ प्रसङ्ग भागवत पुराणबाटै पनि प्रष्ट छ। तर, भागवतबाट यी प्रसङ्गहरू लुकाएर केवल बलिको निषेध गरेजस्तो लाग्ने केही श्लोकहरू सङ्कलन गरी एकपक्षीय प्रस्तुति दिने गरिन्छ। भागवतले कहीँपनि विधिवत् गरिने शास्त्रविहित पशुबलिको निन्दा गरेको छैन; विधिपूर्वक कुनै विशेष पर्व वा अनुष्ठानमा दिइने पशुबलिलाई भागवतले पनि समर्थन नै गर्दछ। तर, केही विशेष कोटिका व्यक्तिलाई लक्ष्य गर्दै भागवतको परम्परामा पशुबलिलाई केही हदसम्म निरुत्साहित गर्ने प्रयास भने अवश्य पनि भएको छ। राजा पुरञ्जनको प्रसङ्ग, श्रीकृष्ण र उद्धवजीको संवाद, आदि स्थानमा अविधिपूर्वक गरिने पशुहत्यालाई निरुत्साहित गरिएको छ। राजा प्राचीनबर्हि आदिको प्रसङ्गमा, कर्ममार्गको अनुशरण गर्दै बलि दिनुमा नै आशक्ति राखेर गरिने अनियन्त्रित पशुहत्यालाई निरुत्साहित गर्ने प्रयास भएको छ। जसले शास्त्रमा नियत गरिएको अनुसार पशुघात नै पनि गर्दछ, उसलाई त्यसको कर्मबन्धनले बाँध्दैन, पाप लाग्दैन, पशुबलि दिँदैमा नरक जानु पर्दैन - यो तथ्य भागवतमा पुरञ्जनकै प्रसङ्गमा ख्यापित गरिएको छ।(२४)

 

एक वाक्यमा भन्नुपर्दा, शास्त्रमा जहाँ जहाँ पशुहिंसाको निषेध वा निन्दा गरिएका वचनहरू छन्, तिनको तात्पर्य 'अविहित पशुहिंसा' को निषेधमा हो, अविधिपूर्वक आफ्नै मनोमानीले गरिने पशुहिंसामा हो; स्वयं शास्त्रले नै विधान गरेको हिंसामा होइन भन्ने बुझ्नुपर्दछ। जहाँ हिंसा गर्नु मूल उद्देश्य होइन, अपितु कुनै शास्त्रीय अनुष्ठानको सम्पादन गर्ने प्रकृयामा बलि दिनुपर्ने आदेश शास्त्रले नै गरेको छ, न त त्यसलाई हिंसा मानिन्छ, न त त्यहाँ कुनै दोष, अशुद्धि, पाप वा नरकको प्रश्न आउँछ। "वैदिकी हिंसा हिंसा न भवति", अर्थात् शास्त्रले नै विधान गरेको हिंसालाई हिंसा नै भनिँदैन भन्ने विद्वानहरूमाझ प्रष्टै छ र शास्त्रबाट पनि प्रष्टै छ। "अशुद्धमिति चेन्न शब्दात्"(२५) जस्ता ब्रह्मसूत्रको वचनबाट पनि वेदले विधान गरेको पशुबलिमा कुनै अशुद्धि नहुने, पाप नलाग्ने कुरा स्पष्ट छ। वैष्णव पद्धतिमा प्रत्यक्ष पशुबलि दिइँदैन, तर वैष्णव सम्प्रदायका वैष्णवाचार्यले समेत यस सूत्रको व्याख्यामा पशुबलिमा कुनै पाप हुँदैन भनेरै स्वीकार गरेको पाइन्छ।

 

मातॄरूपेण संस्थिता :

दुर्गासप्तशती (चण्डी) को ग्रन्थबाट "या देवी सर्वभूतेषु मातॄरूपेण संस्थिता" को प्रमाण देखाउँदै, सम्पूर्ण प्राणीहरूकी माता देवीभगवती नै हुनुहुन्छ, र माताले आफ्नै सन्तानको बलि लिनुहुन्न भनेर प्रचार गरिएको पनि देखिन्छ। तर, त्यही दुर्गासप्तशतीको वैकृतिक-रहस्यमा बताइएको देवीको पूजाविधानमा "रुधिराक्तेन बलिना मांसेन सुरया नृप । प्रणामाचमनीयेन चन्दनेन सुगन्धिना॥"(२६) जस्ता प्रमाणहरूबाट देवीलाई बलि चढाउनुपर्ने, रगत र मांस अर्पण गर्नुपर्ने एवं अनादिकालदेखि हाम्रो परम्परामा पनि गरिँदै आएको विधान छर्लङ्गै छ। यसका साथै, 'बलि' शब्दको अर्थ 'अर्पण गर्नु, उपहार दिनु' मात्रै हो, पशुको वध गर्नु भनिएको हुँदै होइन भन्ने तर्क पनि यसै प्रमाणबाट निरस्त हुन्छ।

 

बलिको अर्थ उपहार:

बलि शब्दको अर्थ उपहार हुन्छ भन्नेमा दुईमत नै छैन। शास्त्रमा पशुबलिका अतिरिक्त अन्य सामग्रीका लागि पनि बलि शब्दको प्रयोग भएकै छन्। 'उपहार' ले कुनै निश्चित सामग्रीको ग्रहण वा निषेध गर्दैन, उपहारमा जुन सामग्री पनि हुनसक्छ। वस्तुतः जसलाई जे चिज प्रिय छ, उसलाई त्यही नै उपहारस्वरूप प्रदान गरिन्छ, र यो हाम्रो दैनिक जीवनमै पनि अभ्यास गरिँदै आएको विषय हो। यसै अनुरूप, देवीलाई पशुको रक्त र मांस प्रिय भएकाले वहाँलाई उपहारस्वरूप पशुबलि प्रदान गरिन्छ भनेर बुझ्न केहीपनि गाह्रो छैन। 

 

"देवीले बलि लिँदै लिनुहुन्न" भन्दै, केही दम्भी र पूर्वाग्रहग्रस्त व्यक्तिहरू देवीलाई के उपहार प्रिय लाग्न पाउँछ र पाउँदैन भन्ने समेत आफैँले निर्धारण गरिदिन खोज्छन्। देवीपुराणमा स्वयं महादेवले नै देवी कालीलाई, "बलिप्रिया मांसभक्ष्या रूधिरासवभक्षिणी"(२७), "छिन्नमस्ता छागमांसप्रिया छागबलिप्रिया"(२८) इत्यादि बताउनुभएको छ। अर्थात् देवीलाई पशुबलि प्रिय लाग्छ, छाग (बोका) को मांस प्रिय लाग्छ, बोकाको बलि प्रिय लाग्छ, वहाँले रुधिर (रक्त) पान गर्नुहुन्छ, आदि। बृहद्धर्मपुराणमा पनि देवीलाई, "बलिमांसप्रिये कालि मत्स्यासवसुखग्रहे"(२९), "बलिमांसप्रिया श्यामा व्याघ्रचर्मपिधायिनी"(३०) इत्यादि नामले संवोधन गरिएको छ। त्यसैले, बलि शब्दको उपहार भन्ने अर्थकै आधारमा, देवीको प्रसङ्गमा त्यसले पशुको वधपूर्वक मांस, रक्त आदिको उपहार चढाउने भन्ने अर्थ पनि शास्त्र एवं परम्परा, दुबैबाट सिद्ध हुन्छ।

 

दशैँ र पशुबलि:

वेदमा वर्णित श्रौतयाग अन्तर्गतका पशुयागहरूको प्रायोगिक दृश्य सामान्यजनको दृष्टिमा कमै पर्दछ। नेपालको सन्दर्भमा औँलामा गन्न सकिने केही वैदिक ब्राह्मणसम्म मात्र ती यागहरू सिमित हुन पुगेका छन्; जसका कारण एकातर्फ ब्राह्मण हुनका लागि शाकाहारी नै हुनुपर्छ भन्ने गलत भाष्य समाजमा स्थापित भएको छ। अर्कोतर्फ, शाकाहारी बनेकै कारण धेरै व्यक्तिहरू कुनै अति महान् धार्मिक उपलब्धि भएको र आफ्नो मुक्ति वा वैकुण्ठप्राप्ति निश्चित भइसकेको भ्रममा रहने समेत गर्दछन्।

 

कतिपय देवीका मन्दिरहरूमा दिइने पशुबलि, र दशैँका अवसरमा हुने पशुबलि देखेर नै बलिको विरोध हुने गरेको छ। एउटा सामान्य व्यक्तिले प्रत्यक्ष बलि भइरहेको देख्ने यिनै अवसरमा हो। यसमा प्रायः आक्षेपकर्ताले 'मासु खानका लागि गरेको' भन्ने आरोप लगाउने गर्दछन्। आजको समयमा कसैलाई मासु नै खाने इच्छा भएमा जुनसुकै समयमा, जतिसुकै मात्राको जुनसुकै पशुपंक्षीको मासु सजिलै उपलब्ध छ, र हरेक समय हरेक मासुपसल खचाखच भरिएकै हुन्छन्। दशैँ कुर्नुपर्ने कुनै बाध्यता छैन। तर केवल दशैँमा मात्र उसले बलि दिन्छ। किन? उसको परम्परामा नवरात्रमा पशुबलि दिनुपर्ने विधान छ, त्यसैले त्यही अवसरमा दिन्छ - मासु खान नपाएर होइन। 

 

वृथामांसको विषयमा पहिले नै प्रष्ट बताइएको छ, तर परम्परा अनुसार देवीदेवताको उद्देश्यले विशेष पर्व वा अनुष्ठानमा दिइने बलि, वर्षमा एकदिन गरिने कार्य न त वृथामांस हो, न हिंसाप्रतिको व्यक्तिगत आशक्ति नै हो। यो एक विशुद्ध शास्त्रसम्मत परम्परा हो, जसलाई कुनै नरक जानु पर्दैन, हत्याको दोष लाग्दैन, बरु त्यो पशुको समेत कल्याण हुन्छ।

 

दशैँ (नवरात्रि) कसरी मनाउने? शास्त्रमा त्यसको विधान पनि अनेकौं शास्त्रमा दिइएको छ। देवीभागवतपुराणमा राजा जनमेजयलाई स्वयं वेदव्यासजी नवरात्रिको विधान बताउँदै भन्नुहुन्छ —
मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसनम्।
महिषाजवराहाणां बलिदानं विशिष्यते॥
देव्यग्रे निहता यान्ति पशवः स्वर्गमव्ययम्।
न हिंसा पशुजा तत्र निघ्नतां तत्कृतेऽनघ॥
अहिंसा याज्ञिकी प्रोक्ता सर्वशास्त्रविनिर्णये।
देवतार्थे विसृष्टानां पशूनां स्वर्गतिर्ध्रुवा॥
(देवीभागवतपुराण, स्कन्ध ३, अध्याय ४६, श्लोक ३२-३४)
अर्थात्, जसले मांसाहार गर्दछन्, उनीहरूले नवरात्रिमा पशुहिंसा गर्नुपर्दछ। राँगो, बोका र बँदेलको बलि दिनु उत्तम हुन्छ। देवीको अगाडि बलि दिइएका पशुहरूले अविनाशी स्वर्गको प्राप्ति गर्दछन्। त्यसरी दिइएको बलिमा पशुको कुनै हिंसा हुँदैन। यज्ञका लागि गरिएको हिंसा अहिंसा नै हो भनेर सम्पूर्ण शास्त्रहरूको निर्णय रहेको छ।

 

त्यसैले, आआफ्नो कुलपरम्परा अनुसार जे को बलि दिने गरिएको छ, त्यसको यथावत् पालन गर्नु नै उसको लागि धर्म हो। यदि कसैको परम्परामै कुभिण्डो इत्यादिको बलि दिने चलन छ भने, उसको लागि त्यही धर्म हो - कसैले पनि उसलाई आफ्नो परम्पराविरुद्ध बोकाकै बलि दिनका लागि जबर्जस्ती गर्न सक्दैन। तर, उसले पनि अरुलाई उनीहरूको परम्पराविरुद्ध पशुबलि नदिनका लागि, वा कुभिण्डोको बलि दिनका लागि जबर्जस्ती गर्न सक्दैन।

 

देवीभागवतपुराणमा माता सीताको रावणद्वारा हरण भइसकेपछि चिन्तित रामलाई नारदजीले असोज महिनामा गरिने नवरात्रको विधान बताउनुहुन्छ— "नवरात्रमा जप, होम, र उपवासको विधानले गरिएको देवी भगवतीको पूजन सर्वसिद्धिदायक हुन्छ। देवीलाई मेध्य पशुको बलि दिएर, दशांश हवन गरेर हजुर अत्यन्त शक्तिशाली बन्नुहुनेछ। पहिलेको समयमा ब्रह्मा, विष्णु, शिवजी र देवराज इन्द्रले पनि यसै गरेका थिए। हे राम! सुखी मनुष्यले यो नवरात्र व्रत गर्नुपर्दछ, र दुःखकष्टमा परेका व्यक्तिले त अझ विशेष गरी यो व्रत गर्नुपर्दछ। विश्वामित्र, भृगु, वशिष्ठ र कश्यपले पनि यो व्रत गरेका थिए। पत्नी हरण भएका गुरु वृहस्पतिले पनि यो अनुष्ठान गरेका थिए। त्यसैले, सीताको प्राप्ति र रावणको वध पनि गर्नका लागि हजुर यो नवरात्र व्रत गर्नुहोस्। पहिले इन्द्रले वृत्रासुको वध गर्नका लागि, शिवजीले त्रिपुरको वध गर्नका लागि, र विष्णुले पनि मधु दैत्यको नाश गर्नका लागि सुमेरुपर्वतमा यो व्रत गरेका थिए। त्यसैले, हे राम! हजुर पनि आलस्यरहित भएर विधिपूर्वक यो व्रत गर्नुहोस्।"(३१)

 

देवी सावित्रीलाई धर्मराज बताउनुहुन्छ — जसले महिष, छाग, मेष आदि, एवं नैवेद्य, धूप, दीप, नृत्य, गीत, वाद्य, इत्यादिले देवीको शारदीय महापूजा गर्दछ, ऊ सात मन्वन्तरसम्म शिवलोकमा निवास गरेर निर्मल बुद्धि, अतुल धनसम्पत्ति, पुत्रपौत्र आदिले युक्त फेरि उत्तम जन्म प्राप्त गर्दछ —
शारदीयां महापूजां प्रकृतेर्यः करोति च।
महिषैश्छागलैर्मेषैः खड्गैर्भेकादिभिः सति॥
नैवेद्यैरुपहारैश्च धूपदीपादिभिस्तथा।
नृत्यगीतादिभिर्वाद्यैर्नानाकौतुकमङ्‌गलम्॥
शिवलोके वसेत्सोऽपि सप्तमन्वन्तरावधि।
पुनः सुयोनिं सम्प्राप्य नरो बुद्धिं च निर्मलाम्॥
अतुलां श्रियमाप्नोति पुत्रपौत्रविवर्धनीम्।
महाप्रभावयुक्तश्च गजवाजिसमन्वितः॥
राजराजेश्वरः सोऽपि भवेदेव न संशयः।
(देवीभागवतपुराण, स्कन्ध ९, अध्याय ३०, श्लोक ७८-८२)

 

देवीपुराण (महाभागवतपुराण) मा भगवान् महादेव नारदजीलाई बताउनुहुन्छ, कि देवीको समान कोही पनि आराध्य छैन। त्यसैले, जसले मोहवश देवीको उपासना गर्दैन, ऊ निश्चय नै पापात्मा हो। जसले देवीको सपर्याविधान (पूजापद्धति) को लोप गर्दछ, त्यो पापीको लागि नरकमा पनि कुनै ठाउँ छैन— 
नास्ति देव्या समो लोके समाराध्यतमो मुने।
यस्तां मोहान्न सेवेत स पापात्मा न संशयः॥
न तस्य विद्यते स्थानं कुत्रापि मुनिसत्तम।
यस्तत्सपर्यालोपं वै करोति च स पापकृत्॥
(महाभागवतपुराण, अध्याय ४८, श्लोक १३-१४)

 

देवीको त्यो पूजापद्धति के हो? महादेव बताउनुहुन्छ — शाक्त होस्, वा शैव होस्, वा सौर होस् वा वैष्णव होस्, उसले शारदीय महोत्सवमा देवीको पूजन अवश्य गर्नुपर्दछ। मत्स्य, मांस, बोका, भेड़ा, आदिको बलि र अन्य उपचारहरू जगदीश्वरी देवीलाई प्रिय हुनाले यिनैद्वारा देवीको पूजन गर्नू। यो पूजनमा धनको कञ्जुस्याईँ नगरीकन देवीको पूजन अवश्य गर्नू। पशुको रूपमा रहेका दुष्टहरूको बलि देवीले लिनुहुन्छ, त्यसैले देवीको भक्ति गर्ने उपासकले पशुबलि अवश्य दिनू —
तस्माच्छाक्तोऽथ वा शैवः सौरो वा वैष्णवोऽथवा।
अवश्यं पूजयेद्देवीं शारदीये महोत्सवे॥
बलिभिर्मत्स्यमांसाद्यैश्छागकासरमेषकैः।
प्रीतये जगदीश्वर्यास्तथान्यैरुपचारकैः॥
वित्तशाठ्यं न कर्तव्यं कर्तव्यं सर्वथादृतैः।
अवश्यं यजनं देव्याः शारदीये महोत्सवे॥
गृह्णाति चण्डिका यस्मात् दुष्टान् वै पशुरूपकान्।
तस्मात्पशुबलिर्देयो देवीभक्तिपरायणैः॥
(महाभागवतपुराण, अध्याय ४८, श्लोक १५-१८)

 

अतः जसले शास्त्रोक्त पशुबलिको विरोध गरेर देवीको परम्पराप्राप्त पूजाविधानको लोप गर्ने प्रयास गरिरहेका छन्, ती बलिविरोधी पापीहरूलाई नरकमा समेत कुनै स्थान नमिल्ने कुरा यहाँबाट प्रष्ट छ।

 

जसको परम्परामा पशुबलिको अभ्यास छैन, उनीहरूका लागि निरामिष फलफूल, नैवेद्य आदिले पूजन गर्ने विधान पनि देवीपुराणमा दिइएकै छ। तर, सबैको पद्धति आफ्नै जस्तो हुनुपर्ने, सबैजना मैजस्तो हुनुपर्छ भन्ने हठ लिएर बलिको विरोध गर्ने अधिकार कसैलाई पनि छैन।

 

भविष्यपुराणमा महानवमीको प्रसङ्गमा राजा युधिष्ठिरले श्रीकृष्णसमक्ष पशुबलिको बारेमा आफ्नो शङ्का व्यक्त गर्छन् - कि जुन प्राणीहरूको पशुबलि दिइन्छ, र जसले बलि दिन्छ, जसले दिन लगाउँछ, जसले अनुमति दिन्छ, उनीहरूको परलोकमा कस्तो गति हुन्छ? 
यदस्यां प्राणिनः केचिन्मन्यन्ते घातयन्ति च।
हतानां प्राणिनां तेषां का गतिः पारलौकिकी॥
स्वयं घ्नतां घातयतामनुमोदयतां तथा। 
एतन्मे संशयं पूर्वं वक्तुमर्हसि केशव॥
(भविष्यपुराण, उत्तरपर्व, अध्याय १३८, श्लोक ५-६)

 

श्रीकृष्णले उत्तर दिनुहुन्छ कि— यदि बोका, राँगो, आदिको बलि दिइन्छ भने, ती सबै प्राणीहरू स्वर्ग जान्छन्, र बलि दिनेलाई पनि कुनै पाप लाग्दैन। देवीलाई पुष्प, धूप, विलेपन, वा अन्य बलिले त्यति सन्तुष्टि हुँदैन, जति महिषको बलिले हुन्छ। त्यसैले, दुर्गादेवीको उद्देश्यले विधिपूर्वक भक्तिपूर्वक जुन जीवजन्तुलाई मारिन्छ, हे कौन्तेय, उनीहरूले स्वर्ग प्राप्त गर्दछन्। देवी भवानीको प्राङ्गणमा जुन पनि पशुको प्राण जान्छ, उसको स्वर्गमा वास हुन्छ र त्यहाँ ऊ अप्सराहरूको प्रिय हुन्छ—
सा पुण्या सा पवित्रा च सा धर्मसुखदायिनी।
तस्मात्सदा पूजनीया चामुण्डामुण्डमालिनी॥
तस्यां यद्युपयुज्यन्ते प्राणिनो महिषादयः।
सर्वे ते स्वर्गतिं यान्ति घ्नतां पापं न विद्यते॥
न तथा बलिदानेन पुष्पधूपविलेपनैः। 
यथा संतुष्यते लोके महिषैर्विन्ध्यवासिनी॥
उद्दिश्य दुर्गां हन्यन्ते विधानाद्येऽत्र जन्तवः।
स्वर्गं ते यान्ति कौन्तेय घातयन्तोऽपि भक्तितः॥
भवानीप्राङ्गणे प्राणा येषां याता युधिष्ठिर।
तेषां स्वर्गे ध्रुवं वासो वरास्तेऽप्सरसां प्रियाः॥
(भविष्यपुराण, उत्तरपर्व, अध्याय १३८, श्लोक १६-२०)

 

निश्कर्ष :
यसरी, शाक्तविधानमा दशैँमा पशुबलिको विधान अनेकौँ शास्त्रमा स्पष्टै छ। सबैको चर्चा सानो लेखमा सम्भव छैन। जसरी वैष्णवको विधि-विधान पाञ्चरात्रागम अथवा वैखानसागम जस्ता 'वैष्णवागम' को अनुसार चल्दछ; त्यसैगरी अन्य शैव, शाक्त, सौर, आदि को विधिविधान पनि शैवागम, शाक्तागम, सौरागम, आदिको आधारमा चल्दछ। केवल आफ्ना शाखाहरूको अध्ययन गरेर अरुको पद्धतिलाई 'गलत' वा 'अशास्त्रीय' बताउनु; अथवा आफ्नो पद्धतिको विधिनिषेध अन्य पद्धतिमा पनि लागु हुनैपर्छ भन्ने भावले 'आम्नायसाङ्कर्य' को प्रयत्न गर्नु सर्वथा अनुचित कार्य हो।

 

कुन देवताको लागि कुन रङ्गको विधान छ, कुन रङ्गको निषेध छ, कसलाई प्रधानरूपले के चढ्छ, के चढ्दै चढ्दैन, कसलाई दुबो, कसलाई धतुरो, कसलाई तुलसी इत्यादि - तत्तत् शास्त्रहरूले हरेक देवीदेवताका स्वरूपको आआफ्नै पृथक्-पृथक् सपर्य्याविधान बताएका छन्। देवीकै दुई फरक स्वरूपको पूजनमा त कतिपय विधि-निषेध फरक हुन्छन् भने, देवीको पूजन गर्ने प्रसङ्गमा वैष्णवजनले वैष्णव-शास्त्रबाट प्रमाण दिएर, अथवा कोही पूर्वाग्रहग्रस्त आम्नायव्यवस्थाको अनभिज्ञ व्यक्तिले जथाभाबी शास्त्रबाट प्रमाणहरू उठाएर 'यसो गर्नु गलत हो' भनेर अवरोध गर्नु भनेको ती शास्त्र, आम्नाय, देवता र साधकप्रति अपराध गर्नु हो।

 

'शास्त्रमा श्लोक भेटियो' भन्दैमा, यदि जुनसुकै शास्त्रको जुनसुकै प्रसङ्गमा आएको श्लोकलाई अन्धाधुन्ध जहाँ पनि लगेर लागु गराउन खोज्ने हो भने त, हरेक सम्प्रदायले हरेक सम्प्रदायका लगभग हरेक विधि-विधानलाई अवरोध गर्न सकिने पर्याप्त प्रमाणहरू शास्त्रमा पाउन सकिन्छ। त्यसैले, अनावश्यक विवादको पछि नलागेर, जसको परम्परामा जे कुरा जस्तो छ, त्यसरी नै पालन गरौँ, त्यही नै धर्म हो। 

नमश्चण्डिकायै।

 

संकेतसूचि :
१. पृथ्वीनारायण शाहको दिव्योपदेश
२. मनुस्मृति (५।५)
३. मनुस्मृति (५।१८)
४. मनुस्मृति (५।७)
५. मनुस्मृति (५।४१)
६. श्रीमद्भगवद्गीता (३।१३)
७. पारस्कर-गृह्यसूत्र (१।१९।७-१२)
८. पारस्कर-गृह्यसूत्र (३।३।१-३)
९. श्रीमद्भागवतपुराण (९।६।६)
१०. देवीभागवतपुराण (७।९।१-७)
११. ब्रह्मपुराण (७।४८-५०)
१२. वायुपुराण, उत्तरार्द्ध (२६।१२-१५)
१३. हरिवंशपुराण, हरिवंशपर्व (११।१६-१८)
१४. ब्रह्माण्डपुराण, मध्यभाग (६३।१२-१४)
१५. मनुस्मृति (अध्याय ५) 
१६. अग्निपुराण (अध्याय १६३)
१७. ब्रह्मपुराण (अध्याय २२०)
१८. विष्णुपुराण (३।१६)
१९. विष्णुपुराण (५।१०।३८-४४)
२०. श्रीमद्भागवतपुराण (१०।६९।३५)
२१. श्रीमद्भागवतपुराण (१०।५८।१५)
२२. श्रीमद्भागवतपुराण (१०।५८।१६)
२३. श्रीमद्भागवतपुराण (४।५।२४)
२४. श्रीमद्भागवतपुराण (४।२६।७)
२५. वेदान्तसूत्र (३।१।२५)
२६. दुर्गासप्तशती (चण्डी) (वैकृतिक-रहस्य, २६)
२७. महाभागवतपुराण (२३।६०)
२८. महाभागवतपुराण (२३।८८)
२९. बृहद्धर्मपुराण, पूर्वखण्ड (६।७०)
३०. बृहद्धर्मपुराण, मध्यखण्ड (५०।७२)

३१. देवीभागवतपुराण (३।३०।१८-२६)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु