बेलायतमा नेपाल–युके टेक फोरम आयोजना हुँदै

२०८२ असर १४ शनिवार
सारांश
  • राजदूत घिमिरेका अनुसार, “अहिले नेपालीहरूले आईटी क्षेत्रमा कार्य गरिरहँदा गुणस्तरीय र सस्तो लागतका कारण विश्व बजारमा विश्वासिलो बनेको अवस्था छ।”

काठमाडौंः बेलायतस्थित नेपाली दूतावासको अग्रसरतामा पहिलो पटक “नेपाल–युके टेक फोरम” आयोजना हुँदैछ। कार्यक्रम यही असार २० गते तदनुसार जुलाई ४ मा हुने दूतावासले जनाएको छ। यस एकदिने कार्यक्रम “डिजिटल व्यापार र लगानीलाई प्रवर्द्धन गर्दै, द्विपक्षीय प्रविधि सम्बन्धलाई सुदृढ गर्ने” भन्ने नाराका साथ आयोजना हुँदैछ।


दूतावासले जनाएअनुसार, बेलायतको किङ्स्टन प्यालेसमा हुने उक्त कार्यक्रममा नेपाल–यूके टेक फोरमले बेलायत र नेपालको सार्वजनिक नीति, कूटनीति, व्यवसाय र प्रविधि क्षेत्रमा रहेका अग्रणी व्यक्तित्वहरूलाई एकसाथ ल्याउनेछ, जसले सीमा पार नवप्रवर्तन र प्रविधि लगानीलाई अगाडि बढाउन सक्ने सम्भावनाको विषयमा छलफल गर्नेछ।


आईटी क्षेत्रको एआई, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र डेटा विश्लेषणमार्फत बेलायत–नेपाल व्यापार सहकार्यलाई सुदृढ गर्दै, फिनटेक, एडटेक, यातायात, स्वास्थ्य सेवा, लेखा, व्यापार प्रक्रिया आउटसोर्सिङ (बीपीओ) आदि क्षेत्रहरूमा सहकार्यलाई सुदृढ गर्ने उद्देश्य रहेको बेलायतस्थित नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बताए।


राजदूत चन्द्र कुमार घिमिरेले भने, “उक्त कार्यक्रमले नेपाललाई एक आकर्षक डिजिटल नवप्रवर्तन केन्द्रको रूपमा उदायमान भएको कुरालाई उजागर गर्नेछ। साथै यसले आईटी क्षेत्रमा रणनीतिक साझेदारीलाई प्रोत्साहन पनि गर्नेछ र दुई देशहरूबीच नयाँ आर्थिक र प्राविधिक अवसरहरू खोल्नेछ।”

राजदूत चन्द्र कुमार घिमिरे
घिमिरेले थपे, “यस कार्यक्रमले पहिलो त नेपालको डिजिटल व्यापारलाई बाहिर प्रवर्द्धन गर्नेछ भने दोस्रो चाहिँ नेपालको आईटी क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्र्याउन मद्दत गर्नेछ। यसले बढीभन्दा बढी आउटसोर्सिङका लागि नेपाललाई उपयुक्त गन्तव्यका रूपमा रहेको विषयलाई उजागर गर्नेछ। नेपालले आईटी क्षेत्रमा निकै राम्रो प्रगति गरिरहेको छ, तर हाम्रो क्षमतालाई बाहिर प्रचार गरेर विदेशी लगानी भित्र्याउन र आईटी क्षेत्रमा कार्यरत जनशक्तिलाई थप अवसरहरू सिर्जना गर्न पनि यो कार्यक्रम महत्वपूर्ण हुन सक्छ,” राजदूत घिमिरेले बताए।


साथै, राजदूत घिमिरेका अनुसार, “अहिले नेपालीहरूले आईटी क्षेत्रमा कार्य गरिरहँदा गुणस्तरीय र सस्तो लागतका कारण विश्व बजारमा विश्वासिलो बनेको अवस्था छ।” उनले भने, दूतावासले यस्ता प्रकारका कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्छ र दूतावासको समन्वयकारी भूमिका सधैं रहनेछ।


उक्त कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन पनि सहभागी हुने जनाइएको छ।


हालसम्म प्राप्त जानकारीअनुसार, कार्यक्रमको पहिलो प्यानल “डिजिटल भविष्यको शासनः सूचना प्रविधिमा नीतिगत दृष्टिकोणहरू” हुनेछ। त्यस्तै, दोस्रो प्यानल “नेपाल–यूके सम्बन्धमा डिजिटल व्यापारको परिवर्तनशील परिदृश्यः सफलता, चुनौती र अगाडिको बाटो”, तेस्रो प्यानल “नेपाल–यूके डिजिटल सम्बन्धमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावनाहरूः सफलता, चुनौती र अगाडिको बाटो” तथा “फायरसाइड च्याटः प्रवासी र डिजिटल कूटनीति – विश्वभरका नेपालीहरूको शक्ति” विषयमा विचार–विश्लेषण हुने जनाइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार