बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।

धनगढी । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ ।

 

भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।

 

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो । टेलिकमले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पु¥याउने प्रयास गरे पनि मौसम अनुकूल नभएका कारण उडान हुन नसकेको उनले बताए । खराब मौसमका कारण जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको थियो ।

 

मंगलबार हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पुर्याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत् बोकाएर लैजानुपर्ने अवस्था रहेको निर्देशक शर्माले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै जनशक्ति व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

 

उहाँका अनुसार सामग्री जडानस्थलसम्म पुर्‍याउने, उच्च उचाइमा काम गर्न सक्ने जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहबाट आवश्यक सहयोग जुटाउने विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको छ । जडानस्थलमा आवश्यक सबै सामग्री पुगेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

 

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिका क्षेत्रमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने तयारी भए पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुने भएको हो । यद्यपि उपकरण जडान र प्राविधिक कामलाई तीव्रता दिएर सकेसम्म छिटो सेवा सञ्चालन गर्ने तयारी टेलिकमले गरेको छ ।

 

बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको छ । उच्च हिमाली भूभागमा अवस्थित उक्त क्षेत्रमा धार्मिक पर्यटनका साथै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध हुन सकेको थिएन । सञ्चार सेवाको अभावले स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो ।

 

नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार उच्च हिमाली क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा पु¥याउने काम अघि बढाइएको टेलिकमले जनाएको छ ।

 

बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ । पर्यटकीय गतिविधि बढिरहेका उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक तथा भौगोलिक अध्ययन भइरहेको छ ।

 

यसअघि पनि नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रका केही स्थानमा ४जी सेवा विस्तार गरिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटरको उचाइमा ४जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटरको उचाइमा समेत ४जी सेवा सुरु भइसकेको छ ।

 

सरकारले दुर्गम, ग्रामीण तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ । भौगोलिक विकटताका कारण सञ्चार सेवाबाट वञ्चित क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने तथा डिजिटल विभाजन घटाउने उद्देश्यले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच विस्तारलाई तीव्रता दिइएको हो ।

 

देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि हाल करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार