अमेरिकामा विदेशी ड्रोनमा १०० प्रतिशतसम्म कर

२०८३ श्रावण ३१ आइतवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात हुने ड्रोन र त्यसका पुर्जामा १०० प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेका छन् ।

काठमाण्डौ, ३१ श्रावण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात हुने ड्रोन र त्यसका पुर्जामा १०० प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेका छन् ।

 

राष्ट्रिय सुरक्षा बलियो बनाउने र विदेशी आपूर्ति प्रणालीमाथिको निर्भरता घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ । नयाँ व्यवस्थाअनुसार २५ किलोग्रामभन्दा बढी तौल भएका वा तापीय दृश्य क्षमता भएका ड्रोनमा १०० प्रतिशत कर लाग्नेछ। २५ किलोग्राम वा त्यसभन्दा कम तौलका ड्रोनमा २५ प्रतिशत कर लगाइनेछ ।

 

अमेरिकाका साझेदार मुलुकबाट आउने ड्रोनमा पनि छुट्टाछुट्टै कर तोकिएको छ। युरोपेली सङ्घ, जापान, लिक्टेन्स्टाइन, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र ताइवानबाट आउने ड्रोन तथा पुर्जामा १५ प्रतिशत कर लाग्नेछ। बेलायतबाट आउने ड्रोनमा १० प्रतिशत कर लाग्नेछ ।

 

ह्वाइट हाउसका अनुसार अधिकांश नयाँ कर राष्ट्रपतिको आदेशमा हस्ताक्षर भएको २१ दिनपछि लागू हुनेछन् । संवेदनशीलताका आधारमा छुट्टै वर्गमा राखिएका केही पुर्जामा भने १८० दिनपछि कर लागू हुनेछ ।

 

अमेरिकी ड्रोन बजारमा चिनियाँ कम्पनीको ठूलो प्रभाव रहेकाले नयाँ निर्णयले चीनलाई प्रत्यक्ष असर पार्ने देखिएको छ । चिनियाँ कम्पनीको अमेरिकी बजारमा करिब ७० प्रतिशत हिस्सा रहेको बताइएको छ । यसअघि अमेरिकाले चिनियाँ ड्रोन प्रविधिमाथि विभिन्न प्रतिबन्ध लगाइसकेको छ ।

 

रुस–युक्रेन युद्धमा ड्रोनको व्यापक प्रयोग भएपछि आधुनिक युद्धमा यसको महत्त्व थप बढेको छ । अमेरिकी प्रशासनले ड्रोनलाई राष्ट्रिय तथा आर्थिक सुरक्षाका लागि महत्वपूर्ण प्रविधिका रूपमा लिएको छ ।

 

अमेरिकी विज्ञहरूका अनुसार नयाँ करले अमेरिकी बजारको संरचना परिवर्तन गर्न सक्छ । अमेरिकी सरकारी तथा व्यावसायिक खरिदकर्ताले अब स्वदेशी वा साझेदार मुलुकका उत्पादकतर्फ जानुपर्ने हुन सक्छ, जसले ड्रोनको लागतसमेत बढाउन सक्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार