पाँच वर्षको तालिबान शासनमा कति बदलियो अफगानिस्तान ?

२०८३ श्रावण ३१ आइतवार
सारांश
  • महिलामाथि शिक्षा, रोजगारी र सार्वजनिक स्थानमा आवतजावतलगायत विषयमा कडा प्रतिबन्ध लगाइएको छ भने शारीरिक सजाय पनि पुनः नियमित रूपमा प्रयोग हुन थालेको छ ।

काठमाण्डौ, ३१ श्रावण । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेको पाँच वर्ष पूरा भएको छ ।

 

सन् २०२१ अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएसँगै तत्कालीन अफगान सरकार ढलेको थियो । त्यसयता तालिबानले देशभर आफ्नो नियन्त्रण बलियो बनाएको छ भने अर्थतन्त्रका केही क्षेत्रमा सुधारका संकेत देखिएका छन् ।

 

तर पाँच वर्षको अवधिमा महिलाका अधिकार, सञ्चार स्वतन्त्रता र मानव अधिकारको अवस्था भने गम्भीर बनेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिवेदनले देखाएका छन् । महिलामाथि शिक्षा, रोजगारी र सार्वजनिक स्थानमा आवतजावतलगायत विषयमा कडा प्रतिबन्ध लगाइएको छ भने शारीरिक सजाय पनि पुनः नियमित रूपमा प्रयोग हुन थालेको छ ।

 

मानव अधिकारसम्बन्धी संस्थाका अनुसार सन् २०२१ अगस्टदेखि २०२२ नोभेम्बरसम्म तालिबानअन्तर्गतका अदालतले कम्तीमा १८ वटा मुद्दामा शारीरिक सजायको आदेश दिएका थिए । तीमध्ये अधिकांश तथाकथित नैतिक अपराधसँग सम्बन्धित थिए । सन् २०२२ डिसेम्बरमा परवान प्रान्तको एक खेल मैदानमा सार्वजनिक रूपमा २७ जनालाई कोर्रा हानिएको थियो ।

 

तालिबानले सत्ता कब्जा गर्दा महिलाका अधिकार सुरक्षित राख्ने र अघिल्लो सरकार तथा विदेशी पक्षसँग काम गरेका व्यक्तिलाई आममाफी दिने प्रतिबद्धता जनाएको थियो । तर त्यसको विपरीत महिलामाथि क्रमशः थप प्रतिबन्ध लगाइएका छन् । अहिले अफगानिस्तान विश्वकै एक मात्र यस्तो देश बनेको छ, जहाँ छात्रालाई माध्यमिक विद्यालय र विश्वविद्यालयमा औपचारिक रूपमा अध्ययन गर्न रोक लगाइएको छ ।

 

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार तालिबान शासनमा महिलासम्बन्धी एक सयभन्दा बढी आदेश जारी भएका छन् । सर्वेक्षणमा सहभागी १० मध्ये सात महिलाले आफ्नो मानसिक अवस्था खराब वा निकै खराब रहेको बताएका छन् । आधाभन्दा बढी महिलाले आफू महिनामा एक वा दुई पटक मात्र घरबाहिर निस्कने बताएका छन् । करिब तीन चौथाइ महिलाले पुरुष अभिभावकबिना घरबाहिर निस्कँदा असुरक्षित महसुस हुने बताएका छन् । अफगानिस्तानमा करिब सात प्रतिशत महिला मात्र रोजगारीमा रहेको अवस्थामा पुरुषको रोजगारी दर ८४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

तालिबान शासनमा सञ्चार क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । सन् २०२१ पछि धेरै अफगान पत्रकारले देश छाडेका छन् । सन् २०२४ मा तालिबान अधिकारीले प्रत्यक्ष राजनीतिक टेलिभिजन प्रसारणमा रोक लगाए । तालिबान नेतृत्वको आलोचनालाई अपराध मानिएको छ भने सञ्चारमाध्यमले अन्तर्वार्ताका लागि अतिथि छनोट गर्दा पनि विभिन्न प्रतिबन्ध सामना गर्नुपरेको छ । यससँगै तालिबानले आफ्नै सञ्चार सञ्जाललाई विस्तार गरेको छ ।

 

अर्थतन्त्र भने पूर्ण रूपमा धराशायी भएको छैन । विश्व बैंकका अनुसार सन् २०२५ मा अफगानिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन ४.८ प्रतिशतले बढेको थियो । सरकारको आन्तरिक राजस्व पनि कुल गार्हस्थ्य उत्पादनको १९.८ प्रतिशत पुगेको थियो। तर यसबाट सर्वसाधारणले व्यापक लाभ पाउन सकेका छैनन् । प्रतिव्यक्ति आम्दानी घट्नु, महँगी बढ्नु, आयातमा उच्च निर्भरता, विद्युत् अभाव र बैंकिङ सेवामा सीमित पहुँच अझै प्रमुख चुनौती छन् ।

 

तालिबानले अफिम उत्पादन नियन्त्रणमा भने ठूलो सफलता हासिल गरेको छ । अफगानिस्तान कुनै समय विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादक थियो । संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयका अनुसार सन् २०२२ मा विश्वको करिब ८० प्रतिशत अफिम अफगानिस्तानबाट उत्पादन भएको थियो । सन् २०२२ अप्रिलमा तालिबानले अफिमका लागि प्रयोग हुने पोस्ता खेतीमा प्रतिबन्ध लगाएपछि सन् २०२३ सम्ममा पोस्ता खेती ९५ प्रतिशतले घटेको थियो ।

 

तालिबान सरकारलाई हालसम्म औपचारिक रूपमा मान्यता दिने प्रमुख देश रुस मात्र बनेको छ । यद्यपि तालिबानले करिब ४० देशसँग सम्पर्कमा रहेको र औपचारिक मान्यताका लागि आवश्यक सर्त पूरा गरिसकेको दाबी गर्दै आएको छ ।

 

भारतले औपचारिक मान्यता नदिए पनि काबुलसँग सम्बन्ध विस्तार गरेको छ । सन् २०२५ अक्टोबरमा तालिबानका विदेशमन्त्री अमिर खान मुत्तकी भारत भ्रमणमा आएका थिए । यो तालिबान सरकारका कुनै वरिष्ठ अधिकारीको भारतमा भएको पहिलो भ्रमण थियो । चीन र संयुक्त अरब इमिरेट्सले पनि तालिबानले नियुक्त गरेका राजदूतलाई स्वीकार गरेका छन्, तर दुवै देशले अहिलेसम्म तालिबान सरकारलाई औपचारिक मान्यता दिएका छैनन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार