सिरियाका पूर्व राष्ट्रपति असद र उनका भाइलाई मृत्युदण्डको सजाय

२६ श्रावण, २०८३, मगलवार
सारांश
  • सन् २०११ मा अरब क्षेत्रमा फैलिएको जनविद्रोहको प्रभावमा सिरियामा पनि बसर अल असदको सरकारविरुद्ध आन्दोलन सुरु भएको थियो । सरकारी दमनपछि आन्दोलन लामो र रक्तपातपूर्ण गृहयुद्धमा परिणत भएको थियो ।

काठमाडौँ: सिरियाको एक अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल असद र उनका भाइ माहेर अल असदलाई युद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ । उनीहरू दुवैको अनुपस्थितिमा फैसला सुनाइएको हो । सिरियामा करिब १४ वर्ष चलेको द्वन्द्वका क्रममा भएका युद्ध अपराधमा उनीहरू दोषी ठहरिएका हुन् । उक्त द्वन्द्वमा करिब ५ लाख मानिसको मृत्यु भएको बताइएको छ ।

 

सोही मुद्दामा बसर अल असदका भाई पर्ने आतिफ नजीबलाई पनि मृत्युदण्ड सुनाइएको छ । उनीमाथि सन् २०११ मा दक्षिणी सिरियाको दारा प्रान्तमा सरकारको दमनकारी कारबाहीको नेतृत्व गरेको आरोप थियो । त्यही घटनापछि सुरु भएको विद्रोह विस्तार हुँदै गृहयुद्धमा परिणत भएको थियो ।

 

कडा सुरक्षा व्यवस्थाबीच अदालतमा नजीबलाई कारागारको पोसाकमा पिँजडाभित्र राखिएको थियो । अदालतले त्यहीँ उनलाई सजाय सुनाएको हो। नजीब सिरियाली सेनाका पूर्व ब्रिगेडियर जनरल हुन् र सन् २०११ मा दारामा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । सिरियामा असद परिवारले करिब पाँच दशक शासन गरेको थियो। हाफेज अल असदपछि उनका छोरा बसर अल असदले लामो समय सत्ता सम्हालेका थिए ।

 

सन् २०११ मा अरब क्षेत्रमा फैलिएको जनविद्रोहको प्रभावमा सिरियामा पनि बसर अल असदको सरकारविरुद्ध आन्दोलन सुरु भएको थियो । सरकारी दमनपछि आन्दोलन लामो र रक्तपातपूर्ण गृहयुद्धमा परिणत भएको थियो ।

 

सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार उक्त द्वन्द्वमा ५ लाखभन्दा बढी मानिस मारिएका छन् । विद्रोहीहरू दमास्कस प्रवेश गरेपछि सन् २०२४ को डिसेम्बरमा बसर अल असद र उनका भाइ माहेर रुस भागेका थिए । त्यसपछि पक्राउ परेका आतिफ नजीबविरुद्ध मुद्दा चलाइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार