हत्याको धम्कीपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर उडेको खुलासा
२६ श्रावण, २०८३, मगलवार
- तर यसअघि न्युयोर्क टाइम्ससहितका अमेरिकी सञ्चारमाध्यमले इरान समर्थित समूहबाट प्राप्त धम्कीका कारण ट्रम्पले विमान परिवर्तन गरेको विवरण सार्वजनिक गरेका थिए ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्की भ्रमणका क्रममा हत्या गर्ने धम्की पाएपछि गोप्य रूपमा विमान परिवर्तन गरेर टर्कीबाट बाहिरिएको खुलासा भएको छ ।
विमान परिवर्तनसम्बन्धी घटनाबारे अमेरिकी सञ्चारमाध्यमले नयाँ विवरण सार्वजनिक गरेका छन् । ट्रम्प टर्की पुग्दा कतारले उपलब्ध गराएको बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए । तर धम्कीपछि उनले उक्त विमान छाडेर सानो सी ३२ ए विमानबाट बेलायततर्फ उडान भरेको जनाइएको छ ।
वासिङ्टन पोस्टका अनुसार ट्रम्पलाई पुरानो एयर फोर्स वन विमानबाट एउटा सामान ढुवानी गर्ने कन्टेनरमार्फत बाहिर निकालेर सी ३२ ए विमानसम्म पुर्याइएको थियो । यस क्रममा सञ्चारकर्मी र केही अधिकारीलाई ट्रम्प अझै पुरानै ठूलो बोइङ विमानमा रहेको विश्वास दिलाइएको थियो ।
अंकाराबाट पुरानो विमानमा यात्रा गर्ने पत्रकारलाई विमानका झ्यालका पर्दा बन्द राख्नसमेत भनिएको थियो । ट्रम्प नाटोको शिखर सम्मेलनमा सहभागी हुन अंकारा पुगेका थिए । त्यसबेला उनले बेलायतस्थित अमेरिकी सैनिकले नयाँ विमान हेर्न पाऊन् भनेर पुरानो बोइङ ७४७ बाटै यात्रा गर्ने बताएका थिए ।
तर यसअघि न्युयोर्क टाइम्ससहितका अमेरिकी सञ्चारमाध्यमले इरान समर्थित समूहबाट प्राप्त धम्कीका कारण ट्रम्पले विमान परिवर्तन गरेको विवरण सार्वजनिक गरेका थिए ।
वासिङ्टन पोस्टले पुरानो बोइङ विमानबाट एउटा सामान बोक्ने गाडी तल झारिएको भिडियोसमेत सार्वजनिक गरेको छ । ट्रम्प विमानमा चढेको केही मिनेटपछि उक्त गाडीलाई सानो सी ३२ ए विमानतर्फ लगिएको देखिएको बताइएको छ । यद्यपि, उक्त भिडियोको स्वतन्त्र पुष्टि भएको छैन ।
ट्रम्प बेलायत पुगेपछि भने ठूलो विमानबाट बाहिरिएका थिए । दुवै विमान बेलायत पुगेका थिए । त्यसपछि ट्रम्पलाई कतारले उपलब्ध गराएको नयाँ रूपमा तयार पारिएको एयर फोर्स वन विमानमा लगिएको थियो । उनले सानो विमानबाट ठूलो विमानमा कहिले र कसरी यात्रा परिवर्तन गरे भन्ने स्पष्ट भएको छैन ।
विमान परिवर्तनको घटनापछि कतारबाट प्राप्त नयाँ विमानको सुरक्षा क्षमतामाथि पनि प्रश्न उठेको छ । रिपोर्टअनुसार उक्त विमानमा पुराना एयर फोर्स वन विमानमा रहेका केही सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको छ ।
कतारको शाही परिवारले गत वर्ष उक्त विलासी विमान ट्रम्पलाई उपलब्ध गराएको थियो । ट्रम्पले यसअघि लामो समयदेखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका बोइङ ७४७ विमानको आलोचना गर्दै आएका थिए । नयाँ विमानलाई तीव्र रूपमा सुरक्षा सुविधासहित तयार पारिएको थियो। ट्रम्पले जुलाई १ मा पहिलोपटक उक्त विमानबाट नर्थ डकोटाको यात्रा गरेका थिए । त्यसपछि टर्की भ्रमण उसको पहिलो विदेश यात्रा बनेको थियो ।
तर विमानको सुरक्षामाथि उठेका प्रश्नको ह्वाइट हाउसले बचाउ गरेको छ । ह्वाइट हाउसले विमानलाई अत्याधुनिक भन्दै यसमा उच्चस्तरीय सुरक्षा व्यवस्था रहेको दाबी गरेको छ । ट्रम्पको सुरक्षाका लागि उपलब्ध सबै सुरक्षा उपाय प्रयोग भइरहेको पनि अमेरिकी अधिकारीहरूले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।