सनातन धर्ममा वेद र वेदाङ्गशास्त्रको महत्त्व

२०८१ फागुन ३ गते शनिवार
सारांश
  • द्विजोत्तमस्त्रीहरूको पनि वैदिक मन्त्रहरूमा अधिकार हुने र उनीहरूले वैदिक मन्त्र पढेर कर्म गर्नुपर्ने कुरा शास्त्रको तलस्पर्शी अध्ययन र विवेचनबाट स्पष्ट हुन्छ ।

सनातन परम्परामा शास्त्रको महत्त्व
शास्त्र भनेको मानिसलाई उसको स्वाभाविक आहार, निद्रा आदि पशुहरूमा पनि पाइने साधारण प्रवृत्तिबाट उद्धार गरेर परम कल्याणकारी महान् उद्देश्यप्रति अभिमुख गराई व्यापक परिप्रेक्ष्यमा उचित र आवश्यक प्रवृत्तिमा चढ्न बाटो देखाउने तत्त्व हो। यस्तो शास्त्र भनेको मुख्य रूपमा वेदशास्त्र हो। वेदशास्त्रले मानिसमा माथि भनेका उदात्त प्रवृत्तिहरूको राम्रोसँग विकास गर्ने पद्धति देखाएको छ। त्यस्तो प्रवृत्तिमा तत्काल आरूढ हुन नसक्ने व्यक्तिहरूलाई पनि लामो प्रक्रियाबाट माथिल्लो स्तरमा लैजानका निम्ति विभिन्न व्यवस्था र नियमहरू रहेका छन्। मानिसलाई त्यसरी माथि उठाउन नै वैदिक संस्कारहरूको, यज्ञहरूको र यज्ञका अनुकल्प व्रतहरूको विधान शास्त्रमा गरिएको पाइन्छ।

 

सनातनी हिन्दुहरूको मूल शास्त्र वेद
वेद हिन्दुहरूको (सनातनीहरूको) मुख्य धर्मग्रन्थ हो। धर्मका क्षेत्रमा वेद नै परम प्रमाण हो। वेदमा मुख्य रूपमा मन्त्रभाग र ब्राह्मणभाग छन्। मन्त्रभागमा वैदिक यज्ञयागादि कर्ममा प्रयोग हुने मन्त्रहरूको सङ्कलन छ भने ब्राह्मणभागमा यज्ञका अधिकारीको, प्रक्रियाहरूको, सामग्रीहरूको र फलको चर्चा छ। आरण्यक र उपनिषद् पनि वेदकै अवान्तर भाग हुन्। वेदले निर्देश गरेको कुरा नै धर्म हो र वेदले निषेध गरेको कुरा नै अधर्म हो। यो कुरा मनुस्मृतिमा स्पष्ट रूपमा भनिएको छ — 
वेदोऽखिलो धर्ममूलम्।–मनुस्मृति २।६।
वेदाद् धर्मो हि निर्बभौ।–मनुस्मृति ५।४४। 
धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः।–मनुस्मृति २।१३।
मीमांसादर्शनले वेदलाई अपौरुषेय मानेको छ (जैमिनीय-धर्ममीमांसासूत्र १।१।२७–३२) र वेदमा पुरुष(मानिस)मा पाइने अज्ञान, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि दोषको प्रभाव कत्ति पनि परेको छैन भन्ने सुदीर्घ कालदेखि स्थापित मान्यता छ। मीमांसाशास्त्रमा जैमिनि, शबरस्वामी, कुमारिलभट्ट, प्रभाकरमिश्र आदि आचार्यहरूबाट यस विषयमा विस्तृत विवेचना गरिएको छ। मीमांसाशास्त्रले धर्ममा वेदवाक्य नै प्रमाण हुन्छ भन्ने निष्कर्ष निकालेको छ। त्यहाँ भनिएको छ—
चोदनालक्षणोर्थो धर्मः।–जैमिनीय धर्ममीमांसासूत्र १।१।२।
 

वेदले विधान गरेको कुरा नै धर्म हो निषेध गरेको कुरा नै अधर्म हो भन्ने कुरा अन्यत्र पनि बताइएको पाइन्छ–
    वेदप्रणिहितो धर्मो ह्यधर्मस्तद्विपर्ययः।
    वेदो नारायणः साक्षात् स्वयम्भूरिति शुश्रुम।। –भागवत ६।१।४०

 

वेदको अपौरुषेयत्व
वेदशास्त्र अपौरुषेय हुनाले पुरुषमा रहने दोषले रहित मानिन्छ अर्थात् वेद अरू लौकिक वाङ्मयजस्तो रचयिताले अरू प्रमाणले जानेका कुरालाई आफ्ना कल्पनाशक्ति र विवेचना-शक्तिका आधारमा जोरजाम र परिष्कृत गरी रचिएको ग्रन्थ हैन। यो अनादि गुरुपरम्पराले आएको ग्रन्थ हो। अतः यसमा पुरुषमा पाइने अज्ञान-काम-क्रोधप्रभृति दोषहरू छैनन् र सूक्ष्म कुरा बुझाउने सामर्थ्य छ। 

 

मीमांसादर्शनमा भनिएको छ– हाम्रा आँखा, कान आदि इन्द्रियबाट र अनुमान आदि  साधारण प्रमाणहरूबाट हामीलाई छोटो कालको, सानो क्षेत्रको र स्थूल विषयको मात्र ज्ञान हुन सक्छ। किन्तु अपौरुषेय वेदले धर्म र मोक्षका सम्बन्धमा अनादि अनन्त काल, अनन्त देश र अतिसूक्ष्म कुराको पनि हामीलाई ज्ञान गराउँछन् (मीमांसासूत्रको शाबरभाष्य १।१।२)। यही महनीय वेदज्ञान उपलब्ध गर्ने स्रोत गुरु भएकाले सनातन धर्ममा गुरुको विशिष्ट स्थान मानिएको छ। वेदविषयक यी कुरा सबै सनातनीहरुले बुझेर काम गर्न अत्यन्त आवश्यक छ।

 

वेदको नित्यता
सनातन-सिद्धान्तमा वेदलाई नित्य मानिन्छ। वेदमा कुनै परिवर्तन हुँदैन। वेद जस्ताको तस्तै रूपमा गुरुबाट शिष्यले ग्रहण गर्दछन्। शब्दहरूको राशि नै वेद हो। यस वेदशास्त्रमा कसैले छलछाम गरेर थपघट, संशोधन र परिवर्तन गर्न सक्तैन। यस्तो व्यवस्था पनि ऋषि-मुनिहरूबाटै भएको छ। 

 

वेदशास्त्रलाई गुरु-शिष्यपरम्पराद्वारा अध्ययन र अध्यापन गर्नुपर्ने हुँदा कसैले पनि थपघट र परिवर्तन गर्न नसकेको देखिन्छ। त्यसैले ऋग्, यजुः, साम र अथर्व चारै वेदका कतिपय शाखाहरू मूल रूपमा नै आज पनि पाइन्छन् र स्मृति-पुराणहरूमा जस्तो यो कुरा पछि थपिएको हो कि भन्ने शङ्का लिन पर्ने स्थिति वेदमा छैन। वेदको यो विशेषता पनि सबैले बुझ्न अनिवार्य छ। 

 

वेदमा परिवर्तन भएको छैन र हुन सक्तैन भन्ने आजभन्दा कम्तीमा पनि तेह्र सय वर्ष अघिका ठुला मीमांसक कुमारिल भट्टको निष्कर्ष पाइन्छ (जैमिनीय-धर्ममीमांसा-तन्त्रवार्तिक १।३।२४)।

 

वेदाध्ययनका विशेषता
वेदको स्वरूपको एक मात्रा पनि फरक नपारी रक्षा गरेर त्यसबाट धार्मिक आध्यात्मिक इत्यादि समुचित काम लिन भनेर नै वेद विशिष्ट अधिकारीले मात्र पढाउने र पढ्ने; शुद्धकुलीन ब्राह्मणले मात्र पढाउने र पढ्ने गर्नुपर्ने; त्यसरी पढ्दा गुरुमुखबाट नै पढ्नुपर्ने; स्वरसमेत मिलाएर पढ्नुपर्ने; कठोर नियमको पालन गरेर पढ्नुपर्ने; पदपाठ, क्रमपाठ इत्यादिसमेत पढ्नुपर्ने इत्यादि व्यवस्था ऋषिहरूले गरेका छन्। 

 

द्विजोत्तमस्त्रीहरूको पनि वैदिक मन्त्रहरूमा अधिकार हुने र उनीहरूले वैदिक मन्त्र पढेर कर्म गर्नुपर्ने कुरा शास्त्रको तलस्पर्शी अध्ययन र विवेचनबाट स्पष्ट हुन्छ । (वैदिक धर्म मूल रूपमा, तृ.सं. २०८०, पृ. ५३४)


वेदका साथै वेदाङ्गशास्त्रको पनि महत्त्व धेरै छ। वेदलाइ सहायता पुर्‍याउन शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दश्शास्त्र र ज्योतिष यी छ वेदाङ्गहरूको मुनिहरूबाट रचना भएको छ (आर्यसंस्कृति, बलदेव उपाध्याय, द्वि.सं. १९५३,  पृ. ८४-८९)। वेदको स्वरूपको रक्षा गरी वेदार्थको ज्ञान गर्न यिनको रचना भएको हो। वेदको मूल रहस्य अग्निहोत्र, दर्शपूर्णमास इत्यादि वैदिक यज्ञका स्वरूपभित्र गर्भित भई सुरक्षित रूपमा रहेको छ। 

 

त्यसैले स्मृति, पुराण, रामायण, महाभारत, गीता इत्यादि ग्रन्थहरूमा पनि वैदिक यज्ञको ठुलो महिमा गाइएको छ। यजुर्वेदमा अग्न्याधान, अग्निहोत्र, दर्शपूर्णमास, चातुर्मास्य, निरूढपशुबन्ध, सोमयाग, राजसूय, अश्वमेध, पुरूषमेध तथा सर्वमेधजस्ता यज्ञहरूको विस्तृत विधान छ। वैदिक यज्ञको स्वरूप र रहस्य बुझ्न शुक्लयजुर्वेदको शतपथब्राह्मण र ऐतरेयब्राह्मण, ताण्डिब्राह्मण इत्यादि अन्य वेदका ब्राह्मणग्रन्थहरूको पनि गम्भीर अध्ययन गर्न आवश्यक हुन्छ। वैदिक यज्ञको अनुष्ठान गर्न नसक्ने द्विजोत्तमहरुले वेदको विधिपूर्वकको अध्ययन र अर्थज्ञानबाटै ती यज्ञको अनुषठानबाट पाइने फल प्राप्त गर्दछन् भन्ने वचन पाइन्छन्। 

 

यसरी वेदको स्वरूप, अर्थ, प्रयोग र रहस्य सुरक्षित गर्न साह्रै ठुलो प्रयास गरिएको छ। यस विषयमा ‘वैदिक धर्म मूल रूपमा’ भन्ने ग्रन्थमा (शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, प्र.सं. २०४५, पृ. १२–२७, तृ.सं. २०८०, पृ. २५७–३४३) विशेष प्रतिपादन गरिएको पाइन्छ।

 

वेदशास्त्रका उपर्युक्त असाधारण विशेषताहरूलाई ध्यानमा राखी मनुस्मृति, याज्ञवल्क्यस्मृति इत्यादि स्मृतिका रचयिताहरूले पनि धार्मिक, सामाजिक, आर्थिक, राष्ट्रनीतिक आदि सम्पूर्ण व्यवस्थाहरू वेदका आधारमा र तदनुकूल रूपमा नै गर्नुपर्छ भन्ने सिद्धान्त मानेका छन्।

 

त्यसैले स्मृतिहरूमा प्रायः वेदकै अनुसार ती विषयसम्बन्धी व्यवस्था गरिएको पाइन्छ। स्मृतिले आफूले बताएका विषयहरूलाई वेदमूलक भनेका पनि छन्। पुराण, रामायण, महाभारत, गीता इत्यादि शास्त्रहरूमा पनि वेदको शाश्वतता तथा महत्ता गाइएको छ र पुराण, रामायणादि ग्रन्थको महत्त्व देखाउनु पर्दा ती ग्रन्थलाई वेदसमानका ग्रन्थ भन्ने गरिएको पाइन्छ।

 

यसबाट धर्ममा मूल प्रमाण वेद नै हो भन्ने कुरा स्पष्ट हुन्छ। वेदपछि वेदाङ्गहरू, स्मृतिहरू र पुराणहरूको पालो आउँछ। वेदमा छरिएर रहेका विभिन्न सिद्धान्तहरूको सङ्कलन गरेर नै वेदाङ्गहरू बनेका हुन्। 

 

धर्मका र अध्यात्मज्ञानका विषयमा वेदमा विहित कुराहरू नै निश्चित रूपमा कर्तव्य हुन् भन्ने कुरामा स्मृति, पुराण, रामायण, महाभारत आदि ग्रन्थ एकमत छन्। स्मृति-पुराण-रामायण-महाभारतहरूमा बताइएका कुराहरूमा पनि वेदमा स्पष्ट रूपमा भनिएका, सूचित गरिएका र आकाङ्क्षा गरिएका कुराहरू र वेदका अनुकूल तथा अविरोधी कुराहरू मात्र धर्मका र अध्यात्मज्ञानका सम्बन्धमा मान्य हुन्छन्, अरू मान्य हुँदैनन् भन्ने सैद्धान्तिक परम्परा रहिआएको छ। यो कुरा स्मृति र पुराणका वचनहरूमा पनि उल्लिखित पाइन्छ।

 

आगमहरू(तन्त्र)लाई पनि वैदिक र अवैदिक भनेर विभाजन गर्ने कुरा पुरानै ग्रन्थमा पनि देखिन्छ र आगमहरूले पनि आफ्नो महत्त्व देखाउन आफूलाई वेदमूलक भन्ने दावा गरेको पनि पाइन्छ (नेपालमा तन्त्र, तन्त्र चर्चा परिवार, २०७९, पृ. ९७)। यसबाट शास्त्रका रूपमा वेदको अद्वितीय स्थान रहेको कुरा स्पष्ट हुन्छ।

 

मानवनिर्मित व्यवस्थाको दुर्बलता
मानवनिर्मित व्यवस्थाहरू भने तात्कालिक परिस्थितिलाई ध्यानमा राखी तात्कालिक शक्तिसन्तुलनलाई आधार मानेर गरिएका हुन्छन्। साथै मानिस काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, राग, द्वेष इत्यादि दोषहरूबाट अभिभूत या प्रभावित हुने हुँदा उसले त्यस्ता प्रवृत्तिबाट मुक्त भई व्यवस्था दिन अत्यन्त कठिन पनि हुन्छ। स्वार्थसमूहका शक्तिकेन्द्रहरूबाट प्रभावित भई पण्डित, विद्वान् , धर्मप्रवक्ता, न्यायविद्, साहित्यकार, विविध विषयविशेषज्ञ इत्यादिले पनि काम गरेको भनी आलोचित भएको समेत वारंवार सुनिने गरेको छ। त्यसैले देशका संविधान तथा ऐन-कानुनहरू आशिंक वा पूर्णरूपले आलोचित र परिवर्तित भैरहञ्छन्। नेपालका २००४ सालमा राणा प्रधानमन्त्री पद्मशम्सेरले ल्याएका संविधानदेखिका समय-समयमा ल्याइएका विविध संविधानहरू र कानुनहरूको इतिहासले माथि भनिएको कुरा पुष्ट हुन्छ। 

 

लौकिक व्यावहारिक कुराको पनि यथार्थ ज्ञान र मूल्याङ्कन गर्न नसकी मनुष्य-बुद्धिले अपरिष्कृत व्यवस्था दिएको र त्यो तुरुन्तै परिवर्तनीय मानिएको पनि पाइन्छ भने धर्म र अध्यात्मजस्तो अतिसूक्ष्म र गहन विषयमा मानिसको बुद्धिको स्वतन्त्र गति कति हुन सक्ला? अनुमान गर्न सकिन्छ। त्यसैले यस्ता विषयमा वेदशास्त्रलाई नै प्रमाण मानिएको देखिन्छ, वेदानुकूल व्यवस्था गर्ने वेदाङ्गादि स्मृतिशास्त्रलाई पनि वेदमूलक हुनाले नै प्रमाण मानिएको हो।

 

मानवका स्फुरणहरू अव्यवस्थित हुने र त्यसका आधारमा चल्ने समाजमा अत्यन्त अस्थिरता आउने हुन्छ। राजनीतिक अस्थिरताले राष्ट्रको विकासमा बाधा पार्छ भनी राजनीतिक स्थिरताको कुरा वारंवार गर्ने गरिएको पाइन्छ। दर्शनको, धर्मको, समाजसंरचनाको अथवा कुनै पनि कुराको आदर्शको अस्पष्टता र अस्थिरताबाट पनि समाजको प्रगतिको मार्ग अवरुद्ध हुन्छ। आदर्शबाट विचलित हुन खोज्ने समाजलाई र व्यक्ति-व्यक्तिका मन-मस्तिष्कलाई आदर्शतिर उन्मुख हुन वारंवार र निरन्तर प्रेरणा दिने शास्त्र मानव समाजको स्थायित्वको एउटा मूल आधार हो । मानव-समाजको स्थायित्व सबैको अभीष्ट हो भन्ने कुरामा ध्यान गएमा शास्त्रको ऐहलौकिक व्यावहारिक अरू महत्त्व पनि बुझ्न सकिन्छ।

 

शास्त्रश्रद्धा र त्यसको महत्त्व
शास्त्रको यस प्रकारको महत्त्व हुनाले भारतवर्षनिवासी जनताको मनमस्तिष्कमा शास्त्रप्रति हजारौँ वर्षदेखि चलिआएको एउटा उद्बुद्ध अथवा सुषुप्त गम्भीर आस्था छ। त्यसैको लङ्घन हुँदा आफ्ना कुरामा पत्यार पर्दैन भनेर अहिले पनि मानिसहरूले आफूले भनेका कुराहरू वेदादिशास्त्रसम्मत छन् भन्ने देखाउन प्रयास गर्ने गरेको पाइन्छ। कतिपय व्यक्तिहरू त आजभोलि वैदिक सनातन वर्णाश्रमधर्मका सोझै विपरीत हुने आफ्ना कुरा पनि वेदबाट समर्थित छन् भन्दै ठगी गर्न पनि पछि परेका छैनन्। तर त्यस्ता कुराको पछि लाग्न भने हुँदैन। 

शास्त्रज्ञ आचारनिष्ठ विद्वान् ब्राह्मणहरूबाट यथार्थ कुरा बुझ्नुपर्छ। शास्त्रको वास्तविक कुरा बुझेर त्यसमा श्रद्धा गर्ने मानिस नै आस्तिक हो। उपर्युक्त कुराबाट वेद, वेदाङ्ग, स्मृति इत्यादि शास्त्र सारै प्रभावकारी, समाजको स्थायित्वका लागि अति आवश्यक तथा व्यक्तिको ऐहलौकिक र पारलौकिक कल्याण गर्ने मार्ग देखाउने तत्त्व रहेछ भन्ने ज्ञान हुञ्छ।

 

वेदार्थव्याख्यान र वेदाङ्ग
मन्त्र र ब्राह्मण मुख्य दुई भागमा विभक्त वेदको स्वरूप कस्तो छ? वेदको अर्थ के हो? वेदको प्रयोग कसरी गर्ने? र वेदको भित्री रहस्य के हो? भन्ने कुरा स्पष्ट गर्न मुनिहरूबाट वेदका छवटा अङ्गहरूको रचना भएको हो। 


वेदाङ्गकै रूपमा रहेको यास्क मुनिको निरुक्त-ग्रन्थमा वेदाङ्गहरूको महत्त्व बुझाउने एउटा महत्त्वपूर्ण निर्देश पाइञ्छ— 
साक्षात्कृतधर्माण ऋषयो बभूवुः, तेऽवरेभ्योऽसाक्षात्कृतधर्मभ्य उपदेशेन मन्त्रान् सम्प्रादुः, उपदेशाय ग्लायन्तोऽवरे बिल्मग्रहणायेमं ग्रन्थं समाम्नासिषुर्वेदं च वेदाङ्गानि च। (निरुक्त १।६।४) 
यस उक्तिले वेदका मन्त्रहरूको व्याख्या वेदकै ब्राह्मणभागमा पनि भएको तथा वेदको अर्थ बुझ्न वेदाङ्गहरूको आधार लिन पर्ने यी दुई कुरा बताएर वेदका अध्येताहरूलाई स्पष्ट दिशानिर्देश गरेको छ।

 

वेदका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषसमेत ६ अङ्गहरू छन्। वेदको स्वरूपको रक्षाका लागि शिक्षा, व्याकरण र छन्दश्शास्त्र यी वेदाङ्गहरूको मुनिहरूबाट रचना भएको छ। यीमध्ये शिक्षाशास्त्रले वेदको यथार्थ स्वरूपको रक्षा गर्न सहयोग पुर्याउँछ। यस वेदाङ्गमा प्रातिशाख्यहरू र पाणिनीयशिक्षा आदि शिक्षाग्रन्थ पर्दछन्। यसै वेदाङ्गले वेदको र लौकिक संस्कृत भाषाको पनि शुद्ध उच्चारण कसरी गर्ने भन्ने सिकाउँछ। 

 

व्याकरणशास्त्रले वेदवाक्यको अर्थ बुझ्न सहायता गर्छ। निरुक्तशास्त्रले वेदका शब्दको व्युत्पत्ति गरेर अर्थ खुलाउन सहायता गर्छ र वैदिक देवताहरूका विषयमा बताउँछ। यास्क मुनिको निरूक्तग्रन्थ प्रसिद्ध छ। वेदको यज्ञमा प्रयोग देखाउनमा कल्पशास्त्र, छन्दश्शास्त्र र वेदाङ्गज्योतिषशास्त्र प्रवृत्त छन्। कल्पशास्त्रमा श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र र शुल्बसूत्र पर्छन्। वेदको यज्ञमा प्रयोग देखाउने कल्पशास्त्रको धेरै महत्त्व छ। यसबाट नै सनातनधर्मावलम्बीहरूको कर्मकाण्डको मूल रूप जानिन्छ। 


कर्मकाण्डसम्बन्धी विषयको निर्णय कल्पसूत्रका मूल सूत्रसम्म नपुगी गर्न सकिँदैन। तेसै गरी वेदमा आएका गायत्री, उष्णिक्, बृहती इत्यादि छन्दको ज्ञान छन्दश्शास्त्रबाट हुन्छ। पिङ्गलमुनिको छन्दःसूत्र प्रसिद्ध छ। वेदाङ्ग-ज्योतिषशास्त्रले वैदिक युग, वर्ष, अयन, ऋतु, महिना, पक्ष, तिथि र नक्षत्रको ज्ञान दिन्छ।

 

वैदिक परम्परामा यस वेदाङ्गको अहिले प्राप्त सबैभन्दा प्राचीन ग्रन्थ आजभन्दा लगभग ३४०० वर्ष पुरानो लगधमुनिप्रोक्त वेदाङ्गज्योतिष हो। यी वेदाङ्गहरू वेदबाट नै सामग्रीसङ्कलन गरी बनाइएका हुन्। त्यसैले वेदाङ्गहरूमाथि विचार गर्दा हामीले वेदका सन्दर्भमा नै विचार गर्नुपर्छ। यसै कारण शिक्षा, व्याकरण इत्यादि वेदाङ्गहरूको अर्थ गर्दा वेदका मन्त्रसंहिता र ब्राह्मणग्रन्थमा आएका ती शास्त्रसँग सम्बद्ध प्रतिपादनहरूसँग सामञ्जस्य रहने गरी वास्तविक अर्थ गर्नुपर्छ। 

 

यसै गरी वेदाङ्गज्योतिषको अर्थ गर्दा पनि वेदका मन्त्रसंहिता र ब्राह्मणग्रन्थमा आएका कालगणनासम्बन्धी प्रतिपादनहरूसँग सामञ्जस्य रहने गरी अर्थ गर्नुपर्छ। आधुनिक कालका अनुसन्धाताहरूले यस विषयमा ध्यान पुर्‍याउन नसक्ता उनीहरूको व्याख्यान यथार्थ हुन नसकेको पनि देखिन्छ।

 

पाणिनीयव्याकरणभाष्य (महाभाष्य) मा पतञ्जलि मुनिद्वारा व्याकरणाशास्त्रको प्रयोजन देखाउँदा आगमः खल्वपि ब्राह्मणेन निष्कारणो धर्मः षडङ्गो वेदोऽध्येयो ज्ञेय इति भनेर (पस्पशाह्निक) ब्राह्मणले छ अङ्गहरूले सहित वेदको अध्ययन गर्न पर्ने कुरा स्पष्ट गरिएको छ। अध्ययन गरेपछि अर्थबोध र त्यसअनुसार आचरण गर्ने कर्तव्य पनि हुन्छ। 

 

वेद र वेदाङ्गहरू प्रति र तिनले बताएका कुरा प्रति अश्रद्धा गर्नु वा तिनको निन्दा गर्नु वा आफ्ना अल्पज्ञानले वेदाङ्गशास्त्रकारहरूलाई नै अज्ञानी ठान्नु र भन्नु ठुलो नास्तिकता हो, अधार्मिकता हो भन्ने कुरा पनि सबै सनातनीहरूले बुझ्नै पर्छ। 

 

पाणिनिका वेदाङ्गव्याकरणरूप अष्टाध्यायीसूत्रमा रहेका अस्पष्टतालाई वार्तिककार कात्यायन र भाष्यकार पतञ्जलिले व्याख्या गरेर स्पष्ट पारेजस्तै अन्य वेदाङ्गमा पनि आवश्यक परेका ठाउँमा हामीले व्याख्या गरी स्पष्टीकरण गर्ने काम गर्नुपर्छ।

 

वेदको अर्थ गर्नमा मीमांसाशास्त्रको उपयोग
वेदको अर्थ गर्न वेदाङ्गहरूको सहायता लिएपछि विशेष ठाउँमा मीमांसाशास्त्रको पनि आवश्यकता पर्छ। यसका लागि जैमिनीय धर्ममीमांसाशास्त्रको अध्ययन गर्नुपर्ने हुन्छ। अनुष्ठानका निम्ति उपयोगी हुने वेदवाक्यार्थको निर्णय गर्न मीमांसाशास्त्रको अद्वितीय स्थान छ। वैदिक धर्मको यथार्थ स्वरूप बुझ्न मीमांसाशास्त्रको आधार लिनै पर्छ—
अथातो धर्मजिज्ञासा सूत्रमाद्यमिदं कृतम्।
धर्माख्यं विषयं वक्तुं मीमांसायाः प्रयोजनम्।।
–कुमारिलभट्टपादको श्लोकवार्त्तिक १।११। 
त्यसैले कुनै पनि वेदवाक्यका अर्थमा सन्देह पर्दा मीमांसाशास्त्रमा प्रतिपादित न्यायका आधारमा निर्णय गरी सन्देह हटाउनुपर्ने शास्त्रीय व्यवस्था छ। 

 

त्यसपछि सनातन धर्ममा सन्देहले समस्या पार्ने स्थिति आउँदैन। यसै गरी वेदाङ्गवाक्यमा संशय भयो भने पनि मीमांसान्यायको प्रयोगबाटै त्यसको वास्तविक अर्थमा पुग्न सकिन्छ।

 

निष्कर्ष
वैदिक सनातन वर्णाश्रमधर्मानुयायीका निम्ति वेद-वेदाङ्गादि शास्त्रको महत्त्व अत्यन्तै धेरै छ। वैदिक मूल शास्त्र र तिनले देखाएको मार्गका विषयमा यथार्थ जानकारी राख्नाले वर्तमान परिस्थितिमा वैदिकमार्गअनुसार यथाशक्ति आचरण गर्न पूर्वाधार बन्छ। 

 

वेदाङ्गशास्त्रअनुसार गरिएको वेदको अर्थ र मीमांसाशास्त्रअनुसार गरिएको शास्त्रार्थनिर्णय नै व्यवहारमा काम लाग्छ। अतः कुनै एक-दुई वेदाङ्ग मात्र पढेर वेदै नपढी शास्त्रको तात्पर्य र त्यसबाट स्पष्ट हुने सनातनीहरूको धर्ममार्ग बुझ्न नसकिने हुनाले समग्र रूपले अध्ययन गर्नुपर्ने आवश्यकता स्पष्ट हुन्छ। वेदमा ज्ञानकर्मसमुच्चय-मार्ग बताइएकाले यो सर्वाङ्गीण छ। 

 

अयथार्थ कुराबाट नबहकिनका निम्ति वेदका अनुकूल कुरा के हुन् र प्रतिकूल कुरा के हुन् भन्ने विषयमा निश्छल रूपमा राम्रोसँग ऊहापोह गर्नु र ठम्याउनु पनि वर्तमान समयमा आवश्यक छ। मुख्य रूपमा वेद र वेदाङ्गका धार्मिक निर्देशहरू समाती धार्मिक कृत्य गर्ने गर्नाले नै सनातनीहरूको कल्याण हुञ्छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु