वैदिक परम्परामा नयाँ वर्षको प्रारम्भ : ह्लोसार माघी जस्ता नयाँ वर्षको वैदिकसिद्धान्तसितको सम्बन्ध
२०८१ मंसिर १५ शनिवार
- भोलि तप: शुक्लप्रतिपदाबाट वैदिकसिद्धान्त तथा वेदाङ्गज्योतिषानुसार कलियुगाब्द वा कलिसंवत् ५०९० तथा युधिष्ठिराब्द वा महाभारतयुद्धसंवत् ५१२६ प्रारम्भ हुने अवसरमा
वर्षाणामपि पञ्चानामाद्य: संवत्सर: स्मृत:।
ऋतूनां शिशिरश्चाऽपि मासानां माघ एव च ।।
अर्थ: संवत्सर नाम गरेको वर्ष पाँच वर्षे युगको पहिलो वर्ष हो, ऋतुहरूमा शिशिर र मैनाहरूमा माघ पैलो हो।
ब्रह्माण्ड पुराणमा (पूर्व भाग २४.१४१), वायु पुराणमा (१.१५३.११३) र लिङ्ग पुराणमा (१.६१.५२) पाइने श्लोक।
यो श्लोकले बताएको कुरो धेरैलाई नौलो पनि लाग्न सक्छ तर यो कुरो मूल वैदिक परम्परा र वेदाङ्गज्योतिषले बताएका सिद्धान्त अनुरूप नै पुराणहरुमा पनि बताइएको हो।
माघशुक्लप्रपन्नस्य पौषकृष्णसमापिन:।
युगस्य पञ्चवर्षस्य कालज्ञानं प्रचक्षते ॥( वेदाङ्ग ज्योतिष याजुष पाठ श्लो. ५)
अर्थात् - माघको शुक्लपक्षबाट प्रारम्भ हुने तथा पौषको कृष्णपक्षमा समाप्त हुने ५ वर्षे युगको कालज्ञान ( कालगणनाका विज्ञ मुनिहरुले) बलाउँछन्
भोलि वैदिक कालगणना अनुरूपको तप:शुक्लप्रतिपदा (ऋतु अनुसारको माघशुक्ल प्रतिपदा) हुनाले पाँच वर्षे युगको पाँचौ वर्ष वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन हो अर्थात् वैदिक सिद्धान्तले नववर्षारम्भको दिन परेको अवसरमा यो संक्षिप्तमा चर्चा गरिदैँछ।
हालको चलनचल्तीमा नेपालमा वैशाख १ गते भनेर भनिने गरेको मेषमासको पैलो दिन अर्थात् सूर्य मेष राशि भनेर चिनिने क्षेत्रमा प्रवेश गरेको दिन भित्तेपात्रो वा पात्रोमा पैलो दिनका रूपमा दिइने गरेको हुनाले र शासनले नयाँ वर्ष भनेर अवकाश (बिदा) दिने पनि गरेका हुनाले जनसाधारणमा मात्र हैन कतिपय ज्योतिषीमा समेत हाम्रो मूल सनातन मान्यता अनुसारको नयाँ वर्षको प्रारम्भ वा संवत्सरको परिवर्तन हुने दिन यो नै हो भनेर भ्रम फैलिएको छ।
चल्तीका पात्राहरुमा चान्द्रमास अनुसार चैत्रशुक्लप्रतिपदामा वत्सरारम्भ भनेर लेखिएको र ज्योतिषीहरुलेसम्म त्यो कुरो जानेको पनि देखिञ्छ। हाल चल्तीमा रहेको सूर्यसिद्धान्त ग्रन्थमा वर्षारम्भका विषयमा परस्पर नमिल्ने ३ थरिका कुरा मध्येमा मेषादि ( सूर्य मेष राशिमा प्रवेश गर्दा प्रारम्भ हुने ऋतुसित सम्बन्ध नभएको मैना) १२ सौर मैनाको वर्ष हुञ्छ भनेर उल्लेख छ तर फेरि शिशिर पैलो ऋतु हो भनेर वैदिकपरम्पराको कुरा पनि परेको छ।
विभिन्न समुदायले आ-आफ्ना नयाँ वर्ष मनाउने गरेको हाम्रो विविधतायुक्त समृद्ध सांस्कृतिक परम्परा भएको समाजमा मूल वैदिक सिद्धान्त के हो भनेर धेरैलाइ जिज्ञासा हुनु स्वाभाविक नै हो। वैदिक आध्यात्मिक परम्परामा सौरचान्द्र वर्ष (जसमा १२ वा १३ चान्द्रमास हुञ्छन्) अर्थात् संवत्सरलाइ देवताहरुको एक दिन वा दिव्य दिन (दिव्य अहोरात्र) को रूपमा लिइञ्छ र उत्तरायणलाइ देवताको दिन र दक्षिणायनलाइ रातको रूपमा जानिञ्छ।
मानव वर्ष वा हामी मानिसका वर्षमा दुइ अयन हुञ्छन् अनि साधारणतया १२ मैना वा अधिकमास परेका वर्ष १३ मैना हुञ्छन्। अत: वैदिक सनातन सिद्धान्तमा जसरी वैदिक परम्परामा दिन र रात मध्येमा दिन पैला अनि रात आउँछ त्यसरी नै उत्तरायणको रूपमा देवताहरूको दिनको प्रारम्भ अर्थात् माथि भनिएको सौरचान्द्र उत्तरायणबाट वर्षको प्रारम्भ हुञ्छ।
यो सिद्धान्त सबै शास्त्रहरूमा श्रुति, स्मृति र पुराणहरूमा स्पष्ट रूपमा भनिएको छ, ।
जस्तै-
एकं वा एतद् देवानामहर् यत् संवत्सर: । – (आत्रेय)तैत्तिरीयकृष्णयजुर्वेदब्राह्मण। (३/९/२२/१)
स यत्रोदङ्ङावर्तते देवेषु तर्हि भवति देवाँस् तर्ह्यभिगोपायति ।
- माध्यन्दिनीय-वाजसनेयिशुक्लयजुर्वेदशतपथ ब्राह्मण ।( २/१/३/३)
दैवे रात्र्यहनी वर्षम् प्रविभागस् तयो: पुन:।
अहस् तत्रोदगयनं रात्रि: स्याद्दक्षिणायनम् ।। मनुस्मृति (१/६७)
अत: दिनको प्रारम्भ अरुणोदयबाट भए जस्तै वर्षको प्रारम्भ उत्तरायणबाट हुञ्छ। हुन त वैदिकपरम्परामा शुद्ध सौर उत्तरायणको प्रारम्भ हुने दिनको (आजभोलि पुस ६ वा ७) पनि महत्त्व छ तर वत्सरको प्रारम्भ भने चान्द्रमास (जुन शुक्लप्रतिपदामा प्रारम्भ भै औसीमा समाप्त हुञ्छ) बाट नै गनिञ्छ, किनभने अयन ऋतु र वर्ष पनि चान्द्रमासबाट गनिञ्छन् रअधिकमासका कारण सधैं शुद्ध सौर अयन र ऋतुहरुसित नजीकै रहञ्छन्। यसरी शुद्ध सौर उत्तरायणको धेरै जसो अघि पर्ने शुक्लप्रतिपदा (परेवा) यस पटक वृश्चिकमास (मुङ्सिर वा मार्ग पनि भनिने गरेको)को १६ गते परेको छ र यसै दिनदेखि वैदिक व्यवहारमा उत्तरायण , शिशिर ऋतु र नयाँ वत्सरको पनि प्रारम्भ मानिञ्छ।
प्रचलित ह्लोसारहरु मध्येमा कम प्रचार प्रसार भएको तर मुख्य तिब्बती ह्लोसार पनि यसै दिन पर्छ । विभिन्न हिमाली समुदायका नयाँ वर्ष वा ह्लोसारहरु उत्तरायणको सगैं वा केहि अघिपछि नै पर्नुको कारण पनि ई हिमाली समुदायहरु यसै वैदिक परम्पराबाट अनुप्राणित र प्रभावित हुनाले नै हो।
अरु कुनै पनि सङ्क्रान्तिकोभन्दा हाम्रो समाजमा माघे सङ्क्रान्तिको धेरै ठुलो पर्वको रूपमा मान्यता हुनुमा पनि यही कारण छ। तर वास्तविक अयनको वास्ता नगरेर सूर्यको स्थान हेरेरै मकरराशिमा पुग्दा अयनारम्भ मानीरहने चलन भ्रमात्मक रूपमा १६०० वर्ष जतिदेखि चल्नाले वास्तविक उत्तरायण भन्दा २३ दिन पछाडि मात्रै उत्तरायण भनेर भन्ने चलन चलेको हो। मुहूर्तचिन्तामणि जस्ता ग्रन्थमा पनि यो वास्तविक हैन र वास्तविक रूपमा नै सङ्क्रान्ति मानेर फल प्राप्त नै हुञ्छ भनेर भनिएकै छ।
शुद्ध सौर उत्तरायणारम्भको दिन (सूर्य उत्तरतिर लाग्ने दिन) १५०० वर्षजति पुरानो मकरमास (माघ पनि भनिने गरेको) को १ गतेबाट विस्तारै सर्दै (७२ वर्षमा १ दिनको दरमा सरेर) लगभग ६०० वर्ष पैलासम्ममा १५ दिन अघि पगेर धनुर्मास (पुस भनिने) को १५ गते आइपुगेको थियो जसले गर्दा शुद्ध सौरमानका आधारमा वर्ष प्रारम्भ गर्ने सिद्धान्तमा पुस १५ गते तमु लोसार पर्न गएको हो। ग्रेगोरियन क्यालेण्डर् भनेर चिनिएको अहिले व्यापक रूपमा प्रयोग गरिएको पात्रो पनि हाम्रो उत्तरायणबाट वर्षको प्रारम्भ हुने सिद्धान्तबाट नै प्रभाव लिएर बनेको तर केवल सूर्यको मात्र गति हेर्ने अपुरो तथा तर त्रुटिले गर्दा त्यो सौर उत्तरायणकै आरम्भ हुने दिनभन्दा पनि सधैँ नै १० दिन पछिबाट नयाँ वर्ष मान्ने बनेको छ।
अब वेदाङ्गज्योतिषका विषयमा छोटो चर्चा तिर लागौँ।
ज्योतिष वेदका छवटा अङ्गहरुलाई वेदाङ्ग भनेर चिनिञ्छ। वेदाङ्गहरूमध्ये छैटो वेदाङ्ग ज्योतिष वा ज्यौतिष भनिञ्छ।
यस अङ्गको महत्व परम्पराले गुरुमुखबाट पढिदैँ आएको वेदाङ्ग ज्योतिषमा लगध मुनिले स्पष्ट रूपमा बताउनुभएको छ-
वेदा हि यज्ञार्थमभिप्रवृत्ता:कालानुपूर्व्या विहिताश्च यज्ञा:।
तस्मादिदं कालविधानशास्त्रं यो ज्योतिषं वेद स वेद यज्ञान् ।। ३।।
वेदहरू यज्ञका लागि हुन् यज्ञहरूका लागि कालको विधान छ। यो समयको नियमको शास्त्र हो र जसले ज्योतिष जान्दछ उसले यज्ञ जान्दछ।
ऋतु र अयनको महत्त्व खेतिपाति अनि ऋतुले गर्दा आवश्यक पर्ने लव़ाइ खव़ाइ इत्यादि व्यवहारले नै बुझिञ्छ। उदाहरणका लागि अब जाडो आयो कि भएन भनेर अनुभवले नै थाहा हुञ्छ पात्रो हेरेर न्याना लुगा लाउन प्रारम्भ गर्नुपर्ने हुन्न । अनुभवले नै थाहा हुने वर्षा जाडो गर्मी बाहेक पनि शास्त्रले विहित गरेका कार्यका लागि अयन ऋतु मैना तिथि र नक्षत्रको महत्त्व वैदिक धर्मका अनुयायीहरुले शास्त्रको विधानले प्रतिपादित गरेकाले मान्य भएको हो । उदाहरणका लागि जाडो नै भए पनि हेमन्त ऋतु दक्षिणायनमा पर्छ र शिशिर ऋतु उत्तरायणमा।
शुक्ल यजुर्वेदीहरुको विवाहका लागि उत्तरायण शुक्लपक्षका तिथिमा निश्चित नक्षत्र(चन्द्रमा रहेको स्थान )मा गर्ने विधान पारस्करगृह्यसूत्रमा (संस्कारादि कर्मको मूल शास्त्र वा कल्पशास्त्र) बताइएको हुनाले तल वर्णन गरिए अनुसारको सौरचान्द्र उत्तरायण लागेपछि शुक्लपक्षमा बताइएका नक्षत्र परेका दिन गर्नु शास्त्रसम्मत हुञ्छ।
उत्तरायणको अर्थ
जब सूर्य हामीले देख्ता सबैभन्दा दक्षिण तिरको स्थानमा पुग्छ र फेरि उत्तरतिर फर्कन थालेको देखिञ्छ, तब शुद्ध सौर उत्तरायण तथा सौरमानका आधरमा शिशिर ऋतु प्रारम्भ हुञ्छ। पृथ्वीको उत्तरी गोलार्धमा दिनको वृद्धि र रात घट्ने क्रम त्यही दिनबाट प्रारम्भ हुञ्छ र यो कुरो वेदाङ्ग ज्योतिषमा यसरी बताइएको छ-
घर्मवृद्धिरपां प्रस्थ: क्षपाह्रास उदग्गतौ ।
दक्षिणेतौ विपर्यास: षण्मुहूर्त्ययनेन तु ।। ८।।
उत्तरायण लागेपछि दिनको लमाइ बढ्दै जाञ्छ र रात छोटा हुँदै जाञ्छन् अनि दक्षिणायनमा उल्टो हुञ्छ। अयनभरिमा ६ मुहूर्तले यो घटबढ हुञ्छ। सूर्योदय तथा सूर्यास्त हुने स्थानको निरीक्षण गरीरहनाले, दिन रातको लमाइ अनि शङ्कु (किलो)को छायाँको लमाइ मध्याह्नमा हेरीरहने गर्नाले (३ विधिमध्ये कुनै १ मात्रले पनि) सूर्य कुन दिन देखि उत्तरायण अनि दक्षिणायन लाग्छन् भनेर सजीलै जान्न सकिञ्छ।

उत्तरायण र दक्षिणायनमा सूर्य जाने संक्रान्ति कुन नक्षत्रमा पर्छन् भनेर वेदाङ्गज्योतिषमा माथिका भन्दा अघिका श्लोकमा उल्लेख गरिएको भएता पनि अयनमा कसरी दिन र रातका लमाइमा परिवर्तन हुञ्छ भन्ने निर्णायक वचनले अघिका नक्षत्रका आधारमा भनिएका कुरा सँधैका लागि हैनन् भन्ने बुझ्न सकिञ्छ। अयनचलनको ज्ञान वैदिक परम्परामा थियो भनेर पनि वेदवेदाङ्गको अध्ययनबाट सजिलै बुझ्न सकिञ्छ।
सौरमासको प्रयोग वेदवेदाङ्गमा पाइन्न
वर्तमान कालमा सूर्य को राशि चक्रको भ्रमणको आधार भएका ऋतुसित सोझो र सँधै समान सम्बन्ध नभएका मकरमास, कुम्भमास इत्यादिका निम्ति हाम्रो चलनमा माघ र फाल्गुन मैना जस्ता नामको ( जुन वास्तवमा नक्षत्रहरूसँग सम्बन्ध देखाउने चान्द्रमासका नाम हुन्) पनि प्रयोग गरिञ्छ र माघको १ गते भनेर मिति लेख्ने गरिएको छ ।
चान्द्र मैनाका नामहरू निरयण (अयनसित वा ऋतुसित सम्बन्ध नभएका) सौर मैनाहरूका लागि प्रयोग गर्ने प्रचलनले दुवै समान मान्यताका हुन् भनेर भ्रम पारेको पनि छ। कतिपयले वैदिक संहितामा रहेका मधुमाधवादि मैनाका नाम सौर मैनाहरू हुन् भन्ने पनि प्रमाण विना विश्वास गर्छन्। वैदिक वर्षको प्रारम्भ पनि वेदमा ऋतुका नाममा वसन्त र मैनाका नाममा मधु उल्लेख भएकोले वसन्त पहिलो ऋतु हो भन्ने भ्रम पनि छ ।
वेदको मन्त्रभागमा उल्लिखित मधु र माधव जस्ता मैनाका नाम चन्द्रमासहरू नै हुन् भन्ने कुरा १३औँ मैना वा अधिकमासलाई ती मैनाहरूसँगै अंहसस्पति भनेर १३औँ मैना समेत गणना गरिएकाले र पुनः पुनः वत्सर (वर्ष) १२ मैना वा १३ मैनाको हुञ्छ भन्ने उल्लेखबाट पनि स्पष्ट हुञ्छ।
यद्यपि वेदाङ्ग ज्योतिषमा वर्षमा १२ सौरमास वा सूर्य हुञ्छन् (श्लोक २८) भनेर उल्लेख गरिएको छ, तर वेद, वेदाङ्ग ज्योतिष तथा गुरुपरम्पराले आएका अन्य वैदिक ग्रन्थहरूमा सौर मैनाहरूको नाम कतै पाइँदैन। ३० र आधा अर्थात् साँढे ३० दिनको सौरमास हुने भनाइले पनि यो गणितका लागि मात्र भएको बुझ्न सकिञ्छ।
अनि सुश्रुत संहिता (सूत्रस्थान ६/१०) र अन्य आयुर्वेदिक ग्रन्थहरूमा मैना र ऋतुहरू चान्द्रमासका आधारमा नै बताइएको कुरो पनि विशेष उल्लेखनीय छ । आयुर्वेदका ग्रन्थहरुमा पनि सौर मैना र शुद्ध सौर ऋतुको प्रयोग नभै चन्द्रमास अनुसार नै ऋतु र ऋतुचर्या बताइएकाले सबै थरिका व्यवहारमा हाम्रो मूल परम्परामा चान्द्रमानको नै प्रयोग गर्ने चलन भएको र सौरमासका नाम तथा तिनको प्रयोग पनि नभएको स्पष्ट थाहा पाइञ्छ। तिथिमिति लेख्ता पनि सुदि वदि (क्रमश: शुक्लपक्ष तथा कृष्णपक्षका निम्ति) नै प्रयोग गर्ने हाम्रो परम्परा थियो ।
सौरचान्द्र अयन
माथिको विश्लेषणबाट यो कुरो स्पष्ट हुञ्छ – वैदिक परम्परा अनुसार सूर्य उत्तरायण लाग्ने दिनबाट त्यो दिनमा शुक्लप्रतिपदा परेमा बाहेक मैनाको प्रारम्भ गर्न र मैनाको प्रथम दिनबाट नै व्यवहारका लागि अयन र वर्षको पनि प्रारम्भ गर्नुपर्ने हुनाले वर्षको समेत प्रारम्भ भनेर लिन मिल्दैन ।
अधिकमासद्वारा सौर ऋतुहरूसँग व्यवहारमा प्रयोग हुने २-२ चान्द्रमासबाट बन्ने चान्द्र ऋतुहरूको निकटता स्थापित गर्न गरिञ्छ, यसरी तिनमा निरन्तर सामञ्जस्य रहञ्छ । अधिकमासका विषयमा अरु कुनै बेलामा विस्तृतमा लेखिनेछ। शुक्लपक्षबाट प्रारम्भ भै अमावास्यामा अन्त्य हुने मैना मात्र वैदिक व्यवहारमा भएकाले शुद्ध उत्तरायण लाग्ने दिनभन्दा नजिकैको चान्द्रमासको प्रारम्भ हुने दिन (शुक्लप्रतिपदाको) महत्त्व बढी हुञ्छ।
सूर्यको अयनारम्भ हुने दिनको धेरैजसो अघि र अधिकमास परेमा केही दिन पछि पनि पर्न सक्ने शुक्लप्रतिपदाबाट नै व्यवहारमा अयनारम्भ मानिने भएकाले सो सौरचान्द्र अयन भनेर भन्न सकिञ्छ। माथि बताइएको देवताहरूको दिन मान्दा पनि केवल शुद्ध सूर्यको अयनभन्दा यो सौरचान्द्र अयन नै व्यवहारमा लिइञ्छ ।
हालको निरयण पञ्चाङ्गम पनि वसन्त पञ्चमी प्रायः वैदिक गणना अनुसारको वसन्त ऋतु अनि वैदिक गणनाले मधु भनिने मैनामा पारिएको हुञ्छ तर लेख्ता शिशिर र माघ मैना भनेर लेखिएको हुञ्छ । यहाँ कारण माघ शुक्ल पञ्चमी भने पनि वास्तविक प्राकृतिक ( वैदिक गणना)का आधारमा वसन्तको मधुमास परेको हुनाले एकातिर शिशिर भन्दाभन्दैपनि वसन्त-पञ्चमीका रूपमा वास्तविक ऋतुको उल्लेख हुन पुगेको हो।
कुसुमाकर भनेर चिनिने वसन्त ऋतुको अनुभव रुखबिरुवामा फुलेका फूल तथा पालुवा पलाएको देखेर सजिलै बुझ्न सकिञ्छ। वेदमा ऋतुहरुमा वसन्तको र मैनामा मधु नामक मासको किन उल्लेख गरिएको छ भन्दा कारण ब्राह्मणहरूका लागि अग्न्याधान, सोमयाग उपनयन आदिमा वसन्त ऋतुको मुख्य रूपमा विधान गरिएको हुनाले हो, वसन्त वैदिक संवत्सरको पैलो ऋतु हुनाले हैन ।
वर्षको आरम्भ जुनसुकै ऋतुको प्रारम्भबाट वा मैनाको प्रारम्भबाट मान्न मिल्ने भएकाले समाजमा विभिन्न वर्षारम्भहरू चलेका छन्। तथापि मूल वैदिक परम्परामा संवत्सरको परिवर्तन भने सौरचान्द्र शिशिर ऋतुको आरम्भ अर्थात् तपः शुक्ल प्रतिपदा (ऋतु अनुसारको माघशुक्लप्रतिपदा) मा हुञ्छ जुन वैदिकसिद्धान्तले सूर्य उत्तरायण लाग्ने दिनको धेरै जसो अघि पर्ने शुक्ल प्रतिपदा हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।