आफ्नो माटाको संस्कार, संस्कृति, समाज र परिवार सुखशान्तिको मूल आधार

२१ कार्तिक, २०८१, बुधवार
सारांश
  • आजभोलि शिक्षाको पर्यायवाची कुनै परीक्षामा प्राप्त गरेको “सफलता” अनि प्रमाणपत्रलाई नै मानिएको अवस्था छ । यो अत्यन्त कृत्रिम कुराले हाम्रो वास्तविक सुख-दु:खको अनुभूतिको तौरतरिकामा नै अत्यन्तै ठुलो क्षति पु-याएको कुरामा हाम्रो कमै ध्यान गएको छ ।

सुखशान्तिको इच्छा

 

सुखको इच्छाले वा दु:ख नहोस् भन्ने इच्छाले साधारणतया मानिसका सबैजसो कार्य प्रेरित हुञ्छन् ।  अभिभावकले पनि आफ्ना सन्तानले दु:ख नपाउन् भनेर नै सामान्यतया विचार गर्छन् र तदनुरूप कार्य गरीरहेका वा प्रयास गरीरहेका हुञ्छन् । तर भौतिक रूपमा समृद्ध वा सफल देखिनु नै सुख पाउनु हो दु:खबाट मुक्त हुनु हो भनेर ठान्नु सही हो त ? एक किसिमले हेर्दा धनसम्पत्ति वा भौतिक वस्तुको अभावले दु:ख पाइने कुरो सत्य नै हो तर केवल भौतिकताको पछि लाग्दा सुख पाइञ्छ कि केवल शारीरिक रूपमा दु:ख कम हुने मात्र हो ?

 

 यो कुरो हाम्रो चिन्तनमा सामान्यताया आउन  नसकेकीराखेको  देखिञ्छ । सामान्य शारीरिक आवश्यकताको पूर्ति नहुँदा शरीर र मनले भोग्ने दु:ख र ती कुरा पूर्ति हुँदा पाउने सुखको कुरो सजीलै बुझ्न सकिञ्छ तर ती पाए पनि मनका अरु इच्छाहरुको तृप्ति नहुँदाका अवस्थामा वा आफ्ना लोभ लालच जस्ता विचारले हुने दु:खको अनुभूति मानिसको हुर्काइमा अनि सङ्गतले वा वातावरणले सिकाएका कुरामा पनि भर पर्छ। 

 

 सुख र दु:ख केमा मान्नु भनेर व्यक्तिले  कसरी सिक्छ ?

 

आजभोलि शिक्षाको पर्यायवाची कुनै परीक्षामा प्राप्त गरेको “सफलता” अनि प्रमाणपत्रलाई नै मानिएको अवस्था छ । यो अत्यन्त कृत्रिम कुराले हाम्रो वास्तविक सुख-दु:खको अनुभूतिको तौरतरिकामा नै अत्यन्तै ठुलो क्षति पु-याएको कुरामा हाम्रो कमै ध्यान गएको छ । बालबालिकाहरुले अरु जे गरे पनि परीक्षामा धेरै राम्रो श्रेणी वा अङ्क ल्याऊन् भनेर ठान्ने अभिभावक नै बहुसङ्ख्यक भएको कुरा छर्लङ्ङ नै छ। यो खालको बानीले जीवनमा वास्तविक वा प्राकृतिक कुरामा सफल हुनु र साना साना कुरामा आनन्दको अनुभूति गर्नुभन्दा बनावटी कागजमा देखिने सफलता र दम्भ नै ठुलो वा राम्रो कुरो हो भनेर सिकाउँछ।  

 

शारीरिक कष्ट नहुनु र सुखशान्तिमा के भिन्नता छ ?

 

अनेक किसिमले विज्ञापन गरी गरी  उपभोक्ताको ध्यान आकर्षण गरेर उत्पादनहरू वा सेवा बेच्न खोजिएको आजको समयमा जीवनमा अत्यावश्यक नभएका तर सुविधा दिने भनेर बेचिएका विविध किसिमका उपभोग्य वस्तुहरु तथा केवल  प्रदर्शन गर्न उपयोगी भौतिक साधनहरु जम्मा पार्दा सुख पाइञ्छ भन्ने ठनाइमा बढोत्तरी भैरहेको छ । तर यो कुरो वास्तवमा सत्य हो कि हैन ? समान वस्तुले सबैलाइ सुख दिन सक्छन् ? जस्ता आधारभूत प्रश्नका उत्तर खोज्ने क्षमता विकसित हुनै नदिने हाहामा लाग्नु नै उचित ठान्ने  बानी राम्रो हो भन्ने मान्यता व्यापक बनाउँदै लगिएकाले आजभोलि  भौतिक साधनको उपलब्धता  र सुखशान्तिमा रहेको भिन्नता बुझ्नमा कठिनाइ भएको छ।  अझ तिनमा भिन्नता छ भनेर भन्नु वा बुझ्नु  नै मूर्खता हो भनेरसम्म ठान्नु भौतिकतामा डुबेकाहरुको एउटा लक्षणमध्येको हो भन्नुमा अत्युक्ति नहोला ।

 

आफ्नो समाज परिवार त्याग्नु सुखशान्तिमा बाधक

 

सामान्यतया प्रगति भनेको केवल भौतिक सुविधा वा साधनको प्रचुरता हो भनेर सिक्दै जाँदा ती कुरा प्राप्त गर्नका लागि समाज र परिवार प्रतिको दायित्व तथा तिनबाट प्राप्त हुने विविध सहयोग समेत बिर्सेर पलायन हुनु असामान्य मानिनुपर्नेमा समाजले सामान्य मात्र हैन राम्रो कुरा हो भनेर समेत मान्दै जान खोजेको देखिञ्छ । तर यो कुरो अनुभूतिको तहमा जानुभन्दा समान भौतिक दृष्टिका कारणले मानिएको हो । 

 

हुर्काउने आफ्ना मातापिता अनि जुन माटोले आफ्नो शरीर बनेको छ त्यो चटक्क छोडेर केवल दृश्य भौतिक आकर्षणमा लाग्दाका दु:खद कुरा नबताउनु र केवल सुविधाका कुरा मात्र प्रचार गर्नु यसमा सहयोगी बन्दै गएको छ ।

 

हुर्काउने आफ्ना मातापिता अनि जुन माटोले आफ्नो शरीर बनेको छ त्यो चटक्क छोडेर केवल दृश्य भौतिक आकर्षणमा लाग्दाका दु:खद कुरा नबताउनु र केवल सुविधाका कुरा मात्र प्रचार गर्नु यसमा सहयोगी बन्दै गएको छ । आखिरमा कुनै पनि साधारण मानसिकता भएका  व्यक्तिका सबै प्रयास जीवनमा सुखशान्ति होस् भनेर नै गरिएका हुञ्छन्, तर पनि वास्तविक सुखशान्ति कसरी प्राप्त होला भनेर सोच्नका लागि आफ्नै बुद्धिको प्रयोग गर्नुभन्दा देखासिकीको बानी लाग्दै गएपछि हाहामा अरुले जे ग-यो वा बाहिरी रूपमा देखियो  त्यो मार्ग नै पच्छ्याउनाले सुखशान्ति होला भन्ने अँध्यारो गल्लीमा युवावर्ग प्रवेश गरीरहेका छन् ।  

 

समाज र परिवारको अपेक्षा नराख्नु र तिनबाट आँफुले प्राप्त गरेको सहयोगप्रति कृतज्ञ बनेर आँफुले पनि तिनलाइ सहयोग गर्नु आफ्ना पारम्परिक मूल्य मान्यता, आचार विचार अँगाल्नु पनि जीवनमा सुखशान्तिका लागि अति नै आवश्यक कुरो हो भनेर बुझ्नमा हाम्रो हित विपरीतको बाह्यप्रभावमा चलेको प्रमाणपत्रे औपचारिक शिक्षाले ठुलो बाधा दिएको र केवल “प्रगति”का नाममा ठुला मृगतृष्णा पाल्न र तिनका पछि विना सोचविचार (पश्चिमाले मुसाको दौड पनि भन्ने गरेको) लाग्नु नै उचित हो भनेर सिकाएको परिस्थिति छ । केवल साधन र भौतिक सुविधाका पछि लाग्दा पछि सच्च्याउनै नसकिने गरेर अशान्तिको दलदलमा फसिने र कडा मानसिक रोग लागेर जीवनमा सुखशान्तिको सम्भावना नै समाप्त हुन पनि सक्छ  भनेर बुझ्न नसक्ने यन्त्रमानव जस्ता व्यक्तिको उत्पादन गरेर केवल ठुला उद्योगका पाटपुर्जा जस्ता बनाउनमा लाग्नाले यो स्थिति आएको कुरो बुझ्न कठिन छैन । 

 

एक्लोपन, नैराश्य उद्विग्नता जस्ता कुराले ग्रस्त भैरहँदा पनि लाजले अथवा हाहामा लागेर सुखी भएजस्तो देखाउन लागेको बिरानिएको बहुसङ्ख्यक युवावर्गले आफ्नो वास्तविकता बताउन थाल्नु पनि अरुका लागि सहयोगी बञ्छ । अत: आफ्ना-आफ्ना वास्तविकता देखाउनु बताउनु र सच्चिएर आँफु पनि आफ्ना परिवार र समाज प्रतिको दायित्वबोध गर्नतिर लाग्नु नै सबै किसिमले बुद्धिमत्ता हुञ्छ । मुसाको दौडमा अगाडि नै पुगे पनि मुसा नै भइने कुरा बुझ्न थोरै प्रयासले पनि सकिने कुरो हो ।

 

शिक्षानीति र प्रक्रियामा अनि सोचाइमा आमूल परिवर्तनको आवश्यकता

 

अनूभूतिपरकभन्दा केवल सूचना घोक्नु  र सीमित सीप सिकाउनुमा लागेको आफ्नो माटो चिनाउने तथा लामो अनुभव र प्रयोगले खारिएका पुर्खाका ज्ञानको सम्पदा बिर्साउने व्यापारिक शिक्षाको नीतिमा जरैदेखि सुधार गर्न नसकेमा शिक्षित मानिसहरूलाइ व्यापक रूपमा सामाजिक मानसिक समस्याले आक्रान्त पार्दै लाने कुरा टड्कारो रूपमा हाम्रा समक्ष छ । स्वदेशका आफ्ना मातापिता र पूरै  परिवारको माया ममता गर्नुभन्दा अरु कुराका पछि लाग्न उद्यत व्यक्ति बनाउनु नै अहिलेका धेरै शिक्षित भनिएकाको एउटा लक्षण भएको कुरा साधारण व्यक्तिले पनि अनुभवले बुझ्न थालीसकेका छन् ।

 

सुखदु:खका अनुभूतिका प्रक्रिया के हुन् समाज परिवारप्रतिको कर्तव्य पालनले कसरी दीगो सुखशान्ति दिन सक्छ किन परम्परागत रूपमा आएका नित्यकर्म, चालचलन, रीतिथिति सर्वाङ्गीण महत्त्वका जीवनको सहजता र शान्तिका लागि अत्यन्त सहयोगी छन् भन्ने कुरा पनि सानैदेखि अभिभावकले अनि विद्यालयमा पनि सिक्नु सिकाउनु र विषाक्त भौतिक साधन तथा श्रव्यदृश्य सञ्चार माध्यमका मानसिकता नै खल्बल्याउने छलकपटबाट जोगाउनु प्राथमिकता दिनै पर्ने कुरा भएको छ । पराधीन भएर बाँच्नु  सुखशान्तिको मार्ग हैन भनेर हाम्रा शास्त्रमा "सर्वं परवशं दु:खं सर्वमात्मवशं सुखम्“ अर्थात् अरुको वशमा परेर गर्नुपर्ने कार्य सबै दु:ख हुन्, आफ्नो स्वतन्त्रतापूर्वक गरिने कार्य जेजस्ता भए पनि सुख हुन्” भनेर बताइएको छ । 

 

कलीला बालबालिकालाइ आफ्नि आमासमान मातृभाषामा सबै कुरा सिक्न पाउने वातावरण दिनुको सट्टा मानिसक संवेगात्मक र सामाजिक सबै किसिमले ठुलो हानि गर्ने विदेशी भाषा “शिक्षाको माध्यम” भनेर अत्यन्तै अनैतिक कार्य गर्नुमा गौरव मान्ने कुरा बढ्दो छ र यो अत्यावश्यक हो जस्तो गरी अभिभावकहरुलाइ अन्धकारमा राखिएको छ । आफ्नो भाषा संस्कृति चिन्नै नदिनु सानैदेखि विदेश र विदेशी भाषाको मोह बढाउनु गौरवपूर्ण कुरा हैन र यो बालबालिकाको अधिकारकै उल्लङ्घन पनि हो भनेर बुझ्नु र बुझाउनमा वास्तविक शिक्षाविद् मनोविज्ञहरुले सक्रियता देखाउन पर्नेमा त्यो देखिएको छैन । 

 

आफ्नो भाषा संस्कृति चिन्नै नदिनु सानैदेखि विदेश र विदेशी भाषाको मोह बढाउनु गौरवपूर्ण कुरा हैन र यो बालबालिकाको अधिकारकै उल्लङ्घन पनि हो भनेर बुझ्नु र बुझाउनमा वास्तविक शिक्षाविद् मनोविज्ञहरुले सक्रियता देखाउन पर्नेमा त्यो देखिएको छैन । 

 

आँफ्नो समाजमा आँफुले जन्मेदेखि सिकेका मान्यता, भाषा, संस्कृतिमा रमाएर बाँच्न पाउनु एक किसिमले भन्दा अत्यन्त आधारभूत कुरो हो । यो कुरो बुझाउनमा शिक्षाले सहयोग गर्नुपर्नेमा उल्टो कथित “ठुलो मानिस” बन्न प्रेरणा दिई जतासुकै गएर पनि भौतिक समृद्धि वा बाह्य सुविधा जम्मा पार्नु नै सफलता हो भनेर नै बालबालिका अवस्थादेखि नै अत्यन्त हानिकारक प्रभाव पारेको प्रत्यक्ष छ । 

 

अत: वास्तविक बुद्धिजीवी तथा सचेत अभिभावकहरुले यो कुरा सुधार्नमा लाग्नु आँफ्नो र सन्तानको सुखशान्तिका लागि प्राथमिकता दिनै पर्ने कुरो हो भन्नुमा कुनै अत्युक्ति हुँदैन । केवल कमाउन मात्र सिकाउनु वास्तविक शिक्षा हुन सक्तैन र एकाङ्गी शिक्षा समाजमा ठुला समस्याहरुको कारक बञ्छ भनेर बुझ्दा सबैको कल्याण छ, नत्र एक्लै प्रताडित भएर बाँच्न र मर्दा पनि अशान्तिपूर्वक मर्न पर्ने अनपेक्षित र लज्जास्पद स्थिति आउँछ । 

 

समाजको र व्यक्तिको सुखशान्तिमा योगदान दिन धैर्य, संयम, संवेगात्मक परिपक्वता, अनावश्यक लोभमा नियन्त्रण जस्ता अत्यन्त आवश्यक सद्गुण विकसित गराउन रुचिपूर्ण किसिमले आफ्नो माटो, संस्कार, संस्कृति अनि स्वावलम्बन स्वाभिमान जस्ता गुण भर्न सक्ने सर्वाङ्गीण शिक्षा दिन सकेमा मात्र आँफ्नै परिवेशमा रमाएर बाच्न लालायित तथा समर्थ सुखी युवापुस्ताको निर्माण गरी पुरानो पुस्ताले आफ्नो भार बिसाउन सक्छ ।

  

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु