- तिहार पर्व शरद् ऋतु सकिन लागेको हेमन्तको प्रारम्भ हुने समयमा मनाइने पर्व हो भन्ने देखिन्छ। तर आर्तव वर्ष छोटो र नक्षत्रबद्ध वर्ष अलीकति लामो हुने हुँदा ऋतु ७२ वर्ष जतिमा १ दिन वरतिर सर्छ र लामो समयमा धेरै अन्तर पर्छ।
प्रस्तावना
वैदिक सनातन वर्णाश्रम धर्ममा वर्षका छ ऋतुहरूमा ऋतुअनुसारका विभन्न चाडपर्वहरू मनाइन्छन्। वैदिक यज्ञहरू पनि ऋतुअनुसार मनाइन्छन्। सोमलताको रस निचोरेर ग्रह नामका पात्रद्वारा हवन गरिने ठुलो वैदिक यज्ञ सोमयाग वसन्त ऋतुमा नै गर्न पर्छ भन्ने नियम छ। चातुर्मास्य यागका वैश्वदेव, वरुणप्रघास, साकमेध र शुनासीरीय यी चार पर्वहरू वसन्त ऋतुको प्रारम्भ, वर्षा ऋतुको प्रारम्भ र हेमन्त ऋतुको प्रारम्भमा मनाउने निर्देश छ। शुक्लयजुर्वेदको शतपथब्राह्मणमा र कात्यायनश्रौतसूत्रमा यस्ता यज्ञहरूको विस्तृत विधान छ। जैमिनीय धर्ममीमांसा-दर्शनमा यस्तै वैदिक यज्ञहरूका विविध पक्षमा विशेष विचार गरिएको छ। पारस्करगृह्यसूत्रमा स्मार्तयज्ञ (गृह्ययज्ञ) को विधान छ। पुराणहरूमा वर्षभरि मनाइने विभिन्न चाडपर्वहरूको विधान पाइन्छ भने धर्मशास्त्रनिबन्धहरूमा यी चाडपर्वका बारेमा विशेष विचार गरिएको छ।
चाडपर्व र खानपान
सनातन धर्मका चाडपर्वहरूमा आयुर्वेदले बताएको ऋतुचर्या अर्थात् आहार-विहारका नियमहरूको पनि समावेश भएको पाइन्छ। वसन्त ऋतुमा निमको पात सेवन गर्ने विधान छ। ग्रीष्म ऋतु लाग्दा पर्ने अक्षयतृतीयामा शीतलता प्रदान गर्ने जौको सातु र खुदोपानी खाने तथा दान गर्ने कार्य गरिन्छ। वर्षाको चिसो फाल्न जनैपूर्णिमामा क्वाँटी खाने परम्परा पनि नेपालमा छ। शरद् ऋतुमा चाहिँ मासका पात खाने निर्देश छ। शिशिर ऋतुको चिसो हटाउन माघे संक्रान्तिमा घिउ, चाकु र तिलका लड्डू खानुपर्ने मान्यता छ। त्यसै गरी नेपालमा दसैँमा विविध प्रकारका परिकार तथा मांसभोजनको प्रचलन छ भने तिहारमा विविध रोटी र मिठाई खाने प्रचलन छ।
विविध चाडपर्वहरू
वर्षभरि मनाइने विविध चाडपर्वहरूका प्रकृतिमा केही भिन्नता रहेको पाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्मअनुसार वर्षा ऋतुको आगमनसँगै जनैपूर्णिमा पर्व मनाउन पर्ने निर्देश छ। यो पर्व ब्राह्मणहरूको ठुलो पर्व मानिन्छ। यो पर्व वेदको नियमपूर्वक अध्ययन गर्न प्रारम्भ गर्ने पर्व हो। यो जीवनमा पालन गर्न पर्ने सदाचारसँग पनि सम्बद्ध छ। शरद् ऋतुको नवरात्र र विजयादशमी शक्तिको आराधनासित सम्बद्ध छ। यो पर्व राजा तथा क्षत्रियहरूको विशेष पर्वका रूपमा मानिन्छ। लक्ष्मीपूजा अथवा दीपावलि धनधान्यको समृद्धिसँग विशेष रूपले सम्बद्ध देखिन्छ। यो पर्व वैश्यवर्णको महत्त्वपूर्ण चाडका रूपमा पनि रहेको छ। यसै दिन वाणिज्यमा संलग्न हुनेहरूले बहिखाता परिवर्तन गर्ने पनि पुरानो प्रचलन छ। होली चाहिँ मनोरञ्जनसित सम्बद्ध छ। होली अथवा फागुपूर्णिमा पर्व शूद्र वर्णको मुख्य पर्व मानिन्छ। यसरी यी वार्षिक चाडपर्वहरूका प्रकृतिमा विविधता पाइन्छ तापनि कुनै-न-कुनै रूपमा सबैले सबै चाडपर्व मनाउने परम्परा छ।
तिहार पर्व
शरद् ऋतुको अन्तमा र हेमन्तको प्रारम्भमा पूर्णिमान्त कार्तिक-कृष्णपक्ष (अमान्त आश्विन-कृष्णपक्ष) का त्रयोदशीदेखि कार्तिक-शुक्लपक्षका द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक पनि भन्ने प्रचलन नेपालमा छ। दसैँ-तिहार पर्व शरद् ऋतुको आश्विन महिनामा पर्ने पौराणिक उल्लेख पाइन्छ भने वैदिक कालगणनापद्धतिअनुसार वैदिक महिनाहरूमध्येको शरद् ऋतुको दोस्रो महिना ऊर्ज महिनामा मनाइन पर्ने देखिन्छ। प्राचीन धर्मशास्त्रीय ग्रन्थमा अथवा पुराणहरूमा “यमपञ्चक”को उल्लेख देखिँदैन (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, तृतीय संस्करण २०८०, पृ.१०८७)। तर पनि राणाकालका ऐनमा (वि.सं.२०२० सम्म रहेको ऐनमा) समेत अरू वेलामा जुवामा प्रतिबन्ध भएपनि यमपञ्चकमा जुवा फुक्ने नियमका सन्दर्भमा यमपञ्चमको उल्लेख भएको पाइन्छ। यसबाट पछिपछि लौकिक रूपमा उक्त पाँच दिनलाई यमपञ्चक भन्न थालिएको अनुमान हुन्छ।
आश्विन-कृष्णपक्षका द्वादशीदेखि पाँच दिन साँझमा देव, ब्राह्मण, गाई, घोडा, श्रेष्ठ पुरुष, साना वा कान्छा नर-नारी र मातालगायतका कुटुम्बका मान्य स्त्रीहरूको पनि नीराजन गर्नुपर्छ भनेर निर्णयसिन्धुमा (निर्णयसागर प्रेसको संस्करण, पृष्ठ १४७, नेपाली अनुवादसहितको संस्करण, पृष्ठ ३९६) बताइएको छ। सनत्कुमारीय-कार्त्तिक-माहात्म्यमा (११।७–१३) चाहिँ यो विधि कार्तिकको कृष्णपक्षका द्वादशीदेखि गर्ने उल्लेख पाइन्छ। यसबाट एउटै महिना नै पूर्णिमान्त गणना (पूर्णिमामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार पछिल्लो महिनाको कृष्णपक्ष (कार्तिक-कृष्णपक्ष) भनिन्छ र अमान्त गणना (अमावस्यामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार अगिल्लो महिनाको कृष्णपक्ष (आश्विन-कृष्णपक्ष) भन्ने बुझिन्छ। पहिले-पहिले अमान्तमानको नै प्रचलन थियो र अमान्तमास तथा पूर्णिमान्तमासमा यस्तो भिन्नता थिएन। पछिपछि पूर्णिमान्त मानको प्रचार बढेपछि यस्तो भेद आएको देखिन्छ। अतः आश्विनपूर्णिमापछि आउने कृष्णपक्षलाई नै एउटा ग्रन्थले आश्विनकृष्ण र अर्को ग्रन्थले कार्तिककृष्ण भनेको हो भन्ने कुरा बुझ्नुपर्छ। वैदिक मासगणनापद्धति अनुसार भने यो पर्वको उचित समय ऊर्जमासको कृष्णपक्ष र सहः मासको शुक्लपक्षको प्रारम्भका दिनहरू हुन् भन्ने बुझ्नुपर्छ।
संस्कृतको त्रिरात्र (तीन रात) शब्दबाट अपभ्रंश भएर अथवा विकसित भएर तिहार वा तियार शब्द बनेको पाइन्छ। अपभ्रंश हुनु भन्नु र विकसित हुनु भन्नु भाषाशास्त्रका दृष्टिले तात्त्विक रूपमा एउटै कुरा हो। संस्कृतबाट अन्य भाषामा शब्दरूप परिवर्तन भएका सन्दर्भमा चाहिँ अपभ्रंश भन्नु पनि विशेष रूपमा सार्थक छ। यो कुरा नबुझेर कतिपय मानिसले अन्यथा ठानेको देखिन्छ तापनि वास्तविकता उक्त प्रकारको नै हो। बलिराजाको राज्य हुने तीन दिनको उत्सव बलिराज्य-त्रिरात्रोत्सव-लाई लिएर यो शब्द चलेको देखिन्छ। तर समय बित्दै जाँदा तिहार (तियार) शब्द रूढ भएर यस पर्वका माथि भनिएका पाँच दिनहरूमा नै यो शब्द जोडिन गएको पाइन्छ। तिनमा पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाइतिहार, चौथो दिन गोरुतिहार र पाँचौँ दिन भाइतिहार भन्ने कुरा नेपाली भाषामा रूढ भएको छ।
धार्मिक अनुष्ठान र शुद्धिको भावना
जुनसुकै धार्मिक कृत्य गर्दा पनि शुद्ध भएर गर्न पर्ने मानिन्छ। ऋग्वेदमा नै “शुद्धाः पूता भवत यज्ञियासः” (शैशिरीय-शाकल-ऋग्वेदसंहिता १०।१८।२) भनेर यज्ञहरू शुद्ध भएर गर्न पर्ने कुरा आएको छ। वैदिक धार्मिक नियमका मूल ग्रन्थहरू धर्मसूत्रहरू हुन्। तिनले चान्द्रायण कृच्छ्र, पराक कृच्छ्र इत्यादि विभिन्न प्रकारका प्रायश्चित्तको निर्देश गर्छन् (गौतमधर्मसूत्र, भावमीमांसा नेपाली व्याख्यासहित, प्रमोदवर्धन कौण्डिन्न्यायन, विद्यार्थीपुस्तक भण्डार, २०६९, उन्नाइसौँ अध्याय, पृ. २४४-२५०)। नेपाली समाजमा पनि धार्मिक अनुष्ठान गर्नभन्दा पहिला प्रायश्चित्त गर्ने प्रचलन छ। यो कुरा सबै प्रकारका व्रत-पर्वमा पनि लागू हुन्छ।
तिहारको कालका सम्बन्धमा विचार
तिहार पर्व शरद् ऋतु सकिन लागेको हेमन्तको प्रारम्भ हुने समयमा मनाइने पर्व हो भन्ने देखिन्छ। तर आर्तव वर्ष छोटो र नक्षत्रबद्ध वर्ष अलीकति लामो हुने हुँदा ऋतु ७२ वर्ष जतिमा १ दिन वरतिर सर्छ र लामो समयमा धेरै अन्तर पर्छ। यसलाई अयनचलन भन्दछन्। यस अनुसार त्यो-त्यो ऋतु प्रारम्भ हुने दिन भनी १५०० वर्ष अगाडि निर्धारित दिनमा अहिलेसम्म २४ दिनको अन्तर परीसकेको छ। उदाहरणका निम्ति माघ १ गतेबाट उत्तरायणारम्भ हुने दिन वरवर सर्दै पुस ६ गते आएको छ भने दक्षिणायन आरम्भ हुने दिन पनि साउन १ गतेबाट वरवर सर्दै असार ६ गते आइपुगेको छ। प्रचलित पात्रोहरूको गणना चाहिँ नाक्षत्र वर्षअनुसार छ, आर्तव वर्षअनुसारको छैन। वस्तुतः चाडपर्वहरू ऋतुअनुसार मनाइन पर्ने हुन्। यसरी पात्रोको गणनामा र ऋतुमा फरक पर्दै गएको छ। ऋतु वरवर सर्दा ऋतुका अपेक्षामा चाडपर्वहरू परपर पुग्ने अवस्था अहिलेको पञ्चाङ्गगणना-पद्धतिमा रहेको छ । अतः अरू पर्वको जस्तै तिहार पर्वको समय पनि पात्रोको उक्त प्रकारको गडबडीले गर्दा धकेलिँदै गएर जाडोमा पर्न लागेकाले एक महिना अगाडि सार्नुपर्ने कुरा नेपालमा र भारतमा पनि उठिरहेको छ। वेदाङ्गज्योतिषको कालगणनापद्धतिको प्रयोग गरेर यस्ता गडबडीलाई हटाउनुपर्छ भन्ने कुरा स्वाद्ध्यायशालाले विगत तीन दशकदेखि व्याख्या गर्दै आएको छ (वैदिकमन्त्रसङ्ग्रहः, शिवराज आचार्य कौण्डिन्न्यायन, २०५२, पृ. १३७)।
तिहारका पर्व मनाउने विषयमा वर्षैपिच्छेजस्तो विवाद देखा पर्ने गरेका छन्। यस वर्ष लक्ष्मीपूजा कार्तिक १५ गते गर्ने कि १६ गते गर्ने भन्ने विषयमा भारतमा व्यापक विवाद छ। नेपालमा काठमाडौँ उपत्यकामा र सुदूरपश्चिम क्षेत्रमा लगातार पर्व मनाउने अहोरात्रात्मक-वैदिक-तिथिगणनापद्धतिबाट प्रभावित परम्परा चलिआएको छ। चाडपर्वका निम्ति वैदिक अहोरात्रात्मक तिथिको पद्धति महत्त्वपूर्ण छ। तिहारका तिथिका विषयमा नेवारी परम्पराका ज्ञाताहरूमा पनि दुई थरी मत देखिन्छ। एक थरीले कर्मको काल बिहान, दिउसो, बेलुका, राति जतिखेर हो त्यति खेर रहने तिथि लिने, “यस्य कृत्यस्य यः कालस्तत्कालव्यापिनी तिथिः” भन्ने वचनअनुसार कर्म गर्ने कुरा बताएका छन्। अर्का थरीले सूर्योदयको वेला रहने औदयिक तिथि अनुसार दिनभर कर्म गर्ने, “यां तिथिं समनुप्राप्य उदयं याति भास्करः। सा तिथिः सकला ज्ञेया” भन्ने वचनअनुसार कर्म गर्ने कुरा बताएका छन्। नेवारी परम्परामा कुनै दिन खाली नराखी अखण्ड रूपमा क्रमशः एक-एक दिनमा एक-एक चाडपर्व मनाउन पर्ने भन्ने मूल मान्यता छ। यस्तै कुनै दिन खाली नराखी अखण्ड रूपमा क्रमशः चाडपर्व मनाउन पर्ने भन्ने परम्परागत मान्यता सुदूरपश्चिम-क्षेत्रमा पनि छ। यो कुरा वेदको अहोरात्रात्मक तिथि (एक दिन-रातभर एउटै तिथि) मान्ने सिद्धान्त (मा.वा. शुक्लयजुर्वेदसंहिता २२।२८, २७।४५, शतपथब्राह्मण १२।८।३।१४, १४।६।८।९) सँग मिल्छ। तर कसरी लगातार चाडपर्व मनाउने हो, अगिल्लो दिनबाट थाल्ने हो कि पछिल्लो दिनबाट थाल्ने हो भन्नेमा चाहिँ केही अलमल परेको देखिन्छ। सूर्योदयको तिथि मान्दा सूर्योदयको तिथि पनि पनि टुट्न सक्ने हुँदा त्यसका आधारमा अखण्ड रूपमा चाडपर्व मनाउन सकिँदैन। तत्कालव्यापिनी तिथि पनि त्यस समयमा नपर्न पनि सक्ने हुँदा तिथिको समय घट्दै गइरहेको अवस्थामा त्यस्तो तिथिको आधार लिएर पनि अखण्ड रूपमा चाड मनाउन नमिल्ने हुन्छ। अहोरात्रात्मक वैदिक तिथिको प्रणाली माथि भनेका दुवैभन्दा फरक छ। वैदिक पद्धतिमा औँसीको निर्णय भएपछि अरू दिनमा घडी-पला नहेर्ने लगातार तिथि मानेर कर्म गर्ने सिद्धान्त छ। तिथिहरूको घडी-पला गणना गर्ने चलन सुरु हुनुभन्दा अघि अर्थात् आजभन्दा १५०० वर्षभन्दा अघिदेखि नै यहाँ वैदिक अहोरात्रात्मक तिथिका आधारमा लगातार अखण्ड रूपमा टुट वा बढ नगरी चाड-पर्वहरू मनाइने गरेको थियो भन्ने अनुमान गर्न सकिन्छ। यो कुरा बुझ्न-बुझाउन आवश्यक देखिएको छ। काठमाडौँ उपत्यकाको प्रचलन महत्त्वपूर्ण प्राचीन वैदिक परम्परासँग जोडिएको छ। त्यसैले मल्लकालको चाड-पर्वक लिखतहरू खोजी गरेमा पनि तिथि टुट्दा अथवा तिथि बढ्दा कसरी चाडपर्व अखण्ड रूपमा लगातार मनाउने गरिएको रहेछ भनेर बुझ्न सहायता प्राप्त हुन सक्छ। स्वाध्यायशालाबाट प्रकाशित वैदिकतिथिपत्रम् (वैदिक पात्रो) मा वैदिक तिथिहरू दिइएकाले त्यसबाट अखण्ड रूपमा चाडपर्व मनाउन सहयोग पुग्छ। त्यस अनुसार लक्ष्मीपूजा यस वर्ष कात्तिक १६ गते शुक्रवार पर्छ (वैदिकतिथिपत्र, २०८१, पृ.३७) । संस्कृति-मन्त्रालय र पञ्चाङ्ग-निर्णायक समितिले देशका यस्ता सांस्कृतिक गौरवका कुरालाई विशेष महत्त्व दिनुपर्छ।
त्रयोदशीकृत्य
अमान्तमानअनुसारको आश्विन कृष्णपक्ष र पूर्णिमान्त मानअनुसारको कार्तिक कृष्णपक्षका त्रयोदशीलाई कागतिहार मानी कागलाई भात, तिहुन र रोटी दिने प्रचलन छ। वास्तवमा वैदिक कालगणनापद्धतिमा चाहिँ यो त्रयोदशी ऊर्ज महिनाको कृष्णपक्षमा पर्छ। कागलाई प्रतिदिन खाना दिनुपर्ने पौराणिक नियम छ। कागहरूलाई भोजन दिँदा भन्ने पौराणिक मन्त्र वैदिक-मन्त्र-सङ्ग्रहमा (शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, २०५२, पृ.११७) यस प्रकार दिइएको छ–
ऐन्द्र-वारुण-वायव्या याम्या वै नैर्ऋतास्तथा।
वायसाः प्रतिगृह्णन्तु भूमावन्नं मयाऽर्पितम्।।
अर्थ– इन्द्र देवताका, वरुण देवताका, वायु देवताका, यम देवताका तथा निर्ऋति देवताका वायसहरू (कागहरू) ले मैले भुइँमा अर्पित गरेको अन्नलाई ग्रहण गरून्।
त्रयोदशीकै दिन साँझ ढोकाबाहिर यमलाई दीपदान गर्ने विधान छ। यस त्रयोदशीलाई धनत्रयोदशी पनि भन्दछन्। भारततिर धनतेरस भन्ने र धनलक्ष्मीको पूजा गर्ने दिन भनेर यस दिनलाई महत्त्व दिइने गरेको बुझिन्छ। वैदिक तिथिगणनाअनुसार यो त्रयोदशी यस वर्ष २०८१ कात्तिक १४ गते बुधवार परेको छ।
त्रयोदशीमा नै आयुर्वेदका आचार्य धन्वन्तरिको जयन्ती पनि पर्दछ। आयुर्वेद आजभोलि विश्वभरि नै लोकप्रिय हुँदै गएको छ। अति प्राचीन कालदेखि प्रचारित आयुर्वेदीय ग्रन्थमा भनिएका कुनै पनि स्वास्थ्य-सिद्धान्तमा अत्यन्त विकसित मानिएको प्रविधिको प्रयोग गरी आधुनिक कालमा संसारभरि गरिएका कुनै पनि परीक्षणबाट पनि कुनै पनि त्रुटि पाउन सकिएको देखिँदैन। यसबाट आयुर्वेदको महत्त्व सबैले सजिलै बुझ्न सकिन्छ।
नरकचतुर्दशी
यस कृष्णपक्षको चतुर्दशीलाई शास्त्रीय भाषामा नरकचतुर्दशी भनिएको छ। वैदिक कालगणनापद्धतिमा चाहिँ ऊर्ज महिनाको कृष्णपक्षको चतुर्दशी यसको सही समय हुन्छ। यस दिन बिहानै झिसमिसेमा नै स्नान गर्ने नियम छ। यस दिन सूर्योदय नहुँदै पूर्वका आकाशमा चन्द्रमा हेर्नुपर्छ। चन्द्रमा हेर्दा क्षीण भएका साना चन्द्रमाको आकार देखिएमा त्यसै आधारमा त्यो दिन चतुर्दशी भएको र भोलिपल्ट औँसी पर्ने कुरा पनि निश्चित हुन्छ। त्यसपछि शरीरमा तेल घसेर काँडासहित उखेलिएको दत्तिवनको बोट टाउकोको वरिपरि बारम्बार घुमाएर “हे अपामार्ग मेरा पाप हरण गर” भन्ने अर्थ भएको मन्त्रले दत्तिवन फालेर स्नान गर्ने र नरकप्रीतिका लागि चार बातीले बनाइएको दीप बालेर नदीमा बगाउनुपर्छ भन्ने निर्देश छ। यसै दिन मासका पातहरूको भोजन गर्न पर्ने पनि निर्देश छ। यसरी नरकचतुर्दशीकृत्य सम्पन्न हुन्छ। दत्तिवन घुमाउँदा भन्ने पौराणिक मन्त्र यस प्रकार रहेको छ–
सीतालोष्टसमायुक्त सकण्टकदलान्वित।
हर पापमपामार्ग भ्राम्यमाण पुनःपुनः।। (वैदिक-मन्त्र-सङ्ग्रहः, परिशिष्ट, पृ.११७)
अर्थ– जोतिएका भूमिको माटोले सहित भएको र काँडाले पनि सहित भएको बारम्बार घुमाइँदै गरेको हे दत्तिवन, पापलाई हरण गर।
नेपालमा यो दिन कुकुरतिहारका रूपमा पनि प्रसिद्ध छ। यस दिन कुकुरलाई विशेष रूपमा भात र अन्य खाने कुरा खान दिने प्रचलन छ। कुकुरलाई भोजन दिने कार्य पनि प्रत्येक दिन नै गर्न पर्ने पुराणले बताएको कर्म हो। अरू दिन कुकुरलाई खाना नदिनेले पनि यस दिन दिने गर्दछन्। कुकुरलाई अन्न दिँदा भन्ने पौराणिक मन्त्र यस प्रकार छ –
शुनकौ श्याम-शबलौ वैवस्वतकुलोद्भवौ।
ताभ्यामन्नं प्रयच्छामि स्यातां मे तावहिंसकौ।। (द्रष्टव्य– वैदिक-मन्त्र-सङ्ग्रह, पृ.११७)
अर्थ– कालो र छिर्केमिर्के दुई कुकुर वैवश्वतका कुलमा जन्मेका छन्। म तिनलाई अन्न दिन्छु। उनीहरू मेरा निम्ति अहिंसक बनून्।
बलिराज्यत्रिरात्र (तिहार)
शरद् ऋतुको अन्तमा र हेमन्त ऋतु लाग्दा पर्ने कार्तिककृष्णपक्षका चतुर्दशी, औँसी र शुक्लपक्षको प्रतिपदा यी तीन दिनलाई (वैदिक कालगणनापद्धतिमा चाहिँ ऊर्ज महिनाको कृष्णपक्षका चतुर्दशी, औँसी र सहः महिनाको शुक्लप्रतिपदालाई) बलिराज्यत्रिरात्र भन्दछन्। यी तीन दिन राजाले सबैलाई इच्छाअनुसार खेल्न र उत्सव गर्न अनुरोध गर्नुपर्छ भन्ने कुरा पुराणमा निर्देश गरिएको छ। चतुर्दशीदेखि तीन दिनसम्म सबैले साँझमा घरमा र देवताका मन्दिरहरूमा पनि दीपावलि गर्नुपर्छ भन्ने निर्देश छ। औँसीका दिन चाहिँ निशामुखमा (साँझमा) लक्ष्मीपूजा गर्नुपर्छ भन्ने नियम पुराणमा छ। त्यसैले मुख्य रूपमा दीपमालिका हुने चतुर्दशी, लक्ष्मीपूजा हुने औँसी र गोवर्धनपूजा तथा आत्मपूजा (ह्मपूजा) हुने प्रतिपदाका तीन दिनलाई नै तिहार तथा दीपावलि भनिएको देखिन्छ।
गाईतिहार र लक्ष्मीपूजा
कार्तिककृष्ण अमावास्या (वैदिक कालगणना-पद्धतिमा चाहिँ ऊर्ज महिनाको कृष्णपक्षको अन्तिम दिन औँसी) लाई गाईतिहार भन्ने नेपाली प्रचलन छ। यसै दिन साँझ लक्ष्मीपूजा हुन्छ। लक्ष्मीपूजाका साथै इन्द्रको पनि पूजा गरिन्छ। कुबेरको पनि यस अवसरमा पूजा गरिन्छ। महालक्ष्मीको पूजा गर्दा गरगहनाको पोट्टलिका (पोको) पनि राखेर पूजा गरिन्छ। काठमाडौँ उपत्यकामा परम्परागत रूपमा चित्रकारहरूले बनाउने गरेको लक्ष्मीको विशेष प्रकारको चित्र प्रचलित छ। पूजा गर्दा महालक्ष्मीलाई नीलकमलको फूल चढाउन पर्ने विधान छ। महालक्ष्मीलाई प्रार्थना गर्दा यो पौराणिक मन्त्र भन्नुपर्छ–
वर्षाकाले महाघोरे यन्मया दुष्कृतं कृतम्।
सुखरात्रिप्रभातेद्य तन्मे लक्ष्मीर्व्यपोहतु।। (वैदिक-मन्त्र-सङ्ग्रह, पृ.११७)
मन्त्रको अर्थ– भरखरै बितेको कठिन वर्षाकालमा मैले जे दुष्कर्म गरेँ आजको सुखरात्रिको बिहानीमा त्यसलाई लक्ष्मी देवीले नाश गरिदिऊन्।
गोवर्धनपूजा तथा आत्मपूजा (ह्मपूजा)
कार्तिकशुक्लप्रतिपदा (वैदिक कालगणना-पद्धतिमा चाहिँ वैदिक सहः महिनाको शुक्लपक्षको प्रतिपदा) मा गोवर्धनको प्रतिमा बनाएर बिहान पूजा गर्ने र बेलुका ह्म-पूजा (आत्मपूजा) गर्ने प्रचलन काठमाडौँ उपत्यकामा छ। आत्मपूजाको वैदिक दर्शनसँग सम्बन्ध देखिन्छ। पुराणमा पनि यसको विधान पाइन्छ (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला, तृतीय संस्करण २०८०, पृ.१०८९)।
यसै दिन बाटामा मार्गपाली (तोरण) टाँग्नुपर्छ र त्यसमुनिबाट हात्ती, घोडा, गाई, गोरु, भैँसी र राँगाहरू हिँडाउनुपर्छ भन्ने पनि मान्यता छ। यसै दिन भरखरै गएको एकादशीमा भुटिएको मकैको सातु बनाएर त्यसमा नुन, सातु र ढुटो मिलाई पिँडो बनाएर गाई-गोरु-भैँसीहरूलाई खुवाउने, तिनलाई सिँगार्ने र गाई-गोरु-भैँसी सबै बस्तुभाउहरूलाई नुन हालेको मकैको कुँडो खान दिने पनि कृषिप्रधान जीविका भएका नेपालीहरूको परम्परागत प्रचलन देखिन्छ।
यसै दिन दिउसो नै बलिराजाको पूजा गरेर गोक्रीडोत्सव गर्नुपर्ने पनि उल्लेख छ। कतै यस दिन रातमा घरमा विन्ध्यावलिसहित बलि राजाको पूजा गर्नुपर्ने भनिएको छ। तिहारका यी तीन दिन मीठो खानुपर्छ, राम्रो लगाउनुपर्छ भनिएको छ। पासा खेलेर वा नाच-गान-बजान गरेर रमाइलो गर्नुपर्छ भन्ने पनि उल्लेख छ। वेदमा “अक्षैर्मा दीव्यः कृषिमित् कृषस्व” (शैशिरीय-शाकल-ऋग्वेदसंहिता १०।३४।१३) भनेर ‘जुवा नखेल, कृषि गर’ भन्ने कुरा पनि आएको छ भने वेदमा नै यज्ञमा क्षत्रियले “अक्षैर्दीव्यति” भनेर जुवा खेल्ने अनुष्ठान गर्नुपर्ने पनि निर्देश पाइन्छ (द्र.- अथाक्षान्निवपति –मा.वा.शुक्लयजुर्वेद-शतपथब्राह्मण ५।४।४।२३)। मीमांसादर्शनमा यस विषयमा विचार पनि भएको छ (जैमिनीय-धर्ममीमांसादर्शन-शाबरभाष्य ५।२।२१)। यो कुरा पनि यस सन्दर्भमा स्मरणीय छ। यस अवसरमा रमाइलो गरेमा त्यो वर्ष रमाइलोमै बित्ने हुनाले पनि रमाइलो गर्नुपर्छ भन्ने कुरा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ।
यस वेलाको उत्सवलाई कौमुदी-महोत्सव वा कौमोदिनी-महोत्सव र सुखरात्रि पनि भन्दछन्। नेपालमा कतैकतै औँसीलाई नै गाईतिहार मानी गाईको पूजा गर्ने र जनैपूर्णिमाका दिन नाडीमा बाँधेको रक्षाबन्धनको डोरो फुकाएर गाइका पुच्छरमा बाँधिदिने गर्नुपर्छ भन्ने पनि मान्यता छ। यस दिन (वैदिक ऊर्जकृष्ण अमावास्यामा) केटीहरूले भैलो खेल्ने चलन छ। भैलो खेल्दा “हे औँसिबारो गाइतिहारो भैलो” पनि भन्दछन्। यसबाट पहिलेपहिले गाईतिहार र लक्ष्मीपूजा सधैँ एकै दिन मानिने गरेको कुरा स्पष्ट रूपमा बुझिन्छ। कार्तिकप्रतिपदाका दिन (वैदिक पद्धतिमा सहः महिनाको शुक्लपक्षको प्रतिपदाका दिन) केटाहरूले देउसी खेल्ने परम्परा छ।
भ्रातृद्वितीया
कार्तिकशुक्लपक्षको द्वितीया (वैदिक कालगणनापद्धतिको सहः महिनाको शुक्लपक्षको द्वितीया) लाई भ्रातृद्वितीया भन्दछन्। नेपाली भाषामा भाइतिहार भन्ने चलन छ। यस दिन यमुना नदीमा नुहाउने र यमको पूजा गर्ने निर्देश पद्मपुराणमा छ। यमराज यसै दिन बहिनी यमुनाका घरमा गएको कथा पुराणमा छ। यमुनाले दाजु यमको स्वागत-सत्कार गरी भोजन गराएको र यमले यमुनालाई पनि लुगा र गरगहना दिएर सत्कार गरेको भन्ने पनि वर्णन पाइन्छ।
यस दिन दाजुभाइले दिदीबहिनीका घर गएर तिनका हातबाट भोजन गर्नुपर्छ भन्ने कुरा स्कन्दपुराणादिमा पाइन्छ। दिदीबहिनीले दाजुभाइलाई तेल लगाइदिएर माला इत्यादिले भूषित गरी पक्वान्न भोजन गराउनुपर्ने र सत्कार गर्नुपर्ने निर्देश पाइन्छ। दाजुभाइले पनि दिदीबहिनीहरूलाई लुगा र गरगहना इत्यादि दिएर सत्कार गर्नुपर्छ भन्ने निर्देश छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइहरूको लामो आयु होस् भनेर यमुनाले सहित भएका यमराजको पूजा गर्नुपर्छ। यस पूजामा यमराजको प्रतिमाका रूपमा बिमिरोको प्रयोग गर्ने प्रचलन छ। साथै अष्टचिरञ्जीवीहरूको (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, अश्वत्थामा, कृपाचार्य र परशुरामको) पनि पूजा गर्नुपर्छ। सुदूर पश्चिम क्षेत्रमा दुत्ते (द्वितीया) भनिने मेला पनि विशेष रूपमा लाग्छ। यो मेला अहोरात्रात्मक तिथि गणना अनुसार मनाइने भएकाले भाइटीकाकै दिन पनि पर्न सक्छ, स्फुटतिथि गणनाको भाइटीकाको दिनभन्दा अर्को दिन पनि पर्न सक्छ ।
उपसंहार
वार्षिक चाडपर्वहरूको सामाजिक जीवनमा ठुलो महत्त्व हुन्छ। अतः यस्ता चाडपर्वको शास्त्रीय आधार र ती सबैका निम्ति किन लाभदायक छन् भन्ने कुरालाई सबैले जान्नुपर्छ। तिनमा प्रयोग हुने पौराणिक मन्त्र पनि जान्नु पर्छ। कुनै पनि देशको परिचय भनेको नै त्यस देशको धर्म, संस्कृति र परम्परा हो। तर नेपालको वर्तमान पाठ्यक्रममा यस विषयको समावेश भएको पाइँदैन। पाठ्यपुस्तकमा समेत समावेश गरी नयाँ पुस्ताका बालबालिकालाई शिक्षाका माध्यमले आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिथिति, चाडपर्व, खानपान, मनोरञ्जनका आफ्ना तरिका इत्यादिको शिक्षा दिनु उचित हुने हुँदा सबै विद्यालयहरूमा नैतिकशिक्षा अध्यापन गर्नुपर्ने देखिन्छ। यसबाट हाम्रा परम्परागत चाडपर्वका बारेमा जान्ने अवसरबाट कोही पनि वञ्चित हुनुपर्ने स्थिति आउँदैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।