ललित मोदीलाई १६ बर्षपछि ठूलो राहत

६ श्रावण, २०८३, बुधवार
सारांश
  • न्यायाधिकरणले भने प्रवर्तन निर्देशनालयले ललित मोदीको प्रत्यक्ष जिम्मेवारी पुष्टि गर्न सक्ने ठोस प्रमाण पेश गर्न नसकेको निष्कर्ष निकालेको छ । साथै, दक्षिण अफ्रिका पठाइएको रकम पूँजी खाताको नभई चालु खातासम्बन्धी कारोबार भएकाले मुद्दाको मुख्य आधार नै टिक्न नसक्ने उल्लेख गरेको छ ।

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपिएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले १६ वर्षदेखि चलिरहेको विदेशी मुद्रा व्यवस्थापनसम्बन्धी मुद्दामा ठूलो कानुनी राहत पाएका छन् । सफेमा अपिल न्यायाधिकरणले सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना गरिएको आइपिएलसँग सम्बन्धित मुद्दामा उनीमाथि लगाइएको १० करोड ६५ लाख भारतीय रुपैयाँ जरिवाना खारेज गरेको हो ।

 

सन् २००९ मा भारतमा लोकसभा निर्वाचनका कारण सुरक्षा चुनौती उत्पन्न भएपछि आइपिएल दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो । त्यसक्रममा भारतीय क्रिकेट नियन्त्रण बोर्डले दक्षिण अफ्रिकामा रकम पठाउँदा भारतीय रिजर्भ बैंकको पूर्वस्वीकृति नलिई करिब ४ करोड ९८ लाख अमेरिकी डलर विदेश पठाइएको भन्दै प्रवर्तन निर्देशनालयले विदेशी मुद्रा व्यवस्थापन ऐन उल्लङ्घन भएको आरोप लगाएको थियो । यसै आधारमा सन् २०१८ मा ललित मोदीसहित केही पूर्व पदाधिकारीमाथि जरिवाना लगाइएको थियो ।

 

न्यायाधिकरणले भने प्रवर्तन निर्देशनालयले ललित मोदीको प्रत्यक्ष जिम्मेवारी पुष्टि गर्न सक्ने ठोस प्रमाण पेश गर्न नसकेको निष्कर्ष निकालेको छ । साथै, दक्षिण अफ्रिका पठाइएको रकम पूँजी खाताको नभई चालु खातासम्बन्धी कारोबार भएकाले मुद्दाको मुख्य आधार नै टिक्न नसक्ने उल्लेख गरेको छ । निर्णयमा ललित मोदी बोर्डको विदेशी मुद्रा कानुन पालना गराउने जिम्मेवारीमा नरहेको पनि स्पष्ट पारिएको छ ।

 

निर्णयपछि ललित मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूले सुरुदेखि नै भारतीय क्रिकेट र आइपिएलको हितमा इमानदारीपूर्वक काम गरेको बताए । उनले यो फैसला आफ्नो व्यक्तिगत सफाइ मात्र नभई निष्पक्ष न्याय प्रक्रिया र कानुनी प्रमाणको महत्व पुष्टि गर्ने निर्णय भएको उल्लेख गरेका छन् । साथै, अब आफ्नो ध्यान अन्तर्राष्ट्रिय खेलकुद, व्यापार तथा समाजसेवाका नयाँ अवसरतर्फ केन्द्रित गर्ने बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार