हालान्डको दुई गोलमा विश्वकपमा नर्वे विजयी शुरुवात

२०८३ असार ०३ बुधवार
सारांश
  • ४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती समयमा निकै प्रभावशाली प्रदर्शन गरेको थियो ।

काठमाण्डौ, ०३ अषाढ़ । इर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकप खेलमै दुई गोल गरेपछि नर्वेले समूह ‘आई’ को पहिलो खेलमा इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

 

यस खेलमा दुई गोल गरेसँगै हालान्डले राष्ट्रिय टोलीका लागि ५१ खेलमा ५७ गोल पूरा गरेका छन् । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि उनले उत्कृष्ट प्रदर्शन गरे । यद्यपि खेलको अन्त्यतिर उनको ह्याट्रिक गर्ने अवसर इराकका गोलरक्षक जलाल हसनले उत्कृष्ट बचाउ गर्दै विफल बनाएका थिए । यदि उनले ह्याट्रिक पूरा गरेका भए विश्वकप इतिहासको ५५औँ ह्याट्रिक हुने थियो ।

 

४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती समयमा निकै प्रभावशाली प्रदर्शन गरेको थियो । दुवै टोलीबीच बराबरी कायम रहँदा पहिलो हाफको हाइड्रेसन ब्रेकपछि ५८ सेकेन्डमै नर्वेले अग्रता लियो ।

डेभिड मोलर वुल्फले बायाँतर्फबाट दिएको आकर्षक तल्लो पासलाई हालान्डले पोस्ट नजिकैबाट गोलमा परिणत गरेका थिए ।

 

इराकले ३९औँ मिनेटमा बराबरी गोल फर्कायो । अमिर अल अम्मारीको क्रसमा आइमेन हुसेनले शक्तिशाली हेडरमार्फत गोल गरेका थिए । उनै हुसेनले गत मार्चमा बोलिभियाविरुद्ध अन्तरमहादेशीय प्लेअफको फाइनलमा विजयी गोल गर्दै इराकलाई विश्वकपमा स्थान दिलाएका थिए । तर बराबरी लामो समय टिक्न सकेन । चार मिनेटपछि हालान्डले जलाल हसनको गल्तीको फाइदा उठाउँदै आफ्नो दोस्रो गोल गरे । आफ्नै छ यार्ड क्षेत्रभित्र फर्काइएको बल नियन्त्रण गर्न ढिलाइ गरेका हसनको क्लियरेन्स हालान्डमा लागेर जाली चुमेको थियो ।

 

यद्यपि पहिलो हाफको अन्त्यतिर इराकले फेरि दबाब बढायो । इब्राहिम बायेशको भली प्रहार डिफ्लेक्ट हुँदै बाहिरियो भने अली अल-हमादीलाई क्रिस्टोफर आजेरले पेनाल्टी क्षेत्रमा रोकिदिए । अक्काम हाशिमको २० यार्ड टाढाबाट गरेको शानदार भली प्रहार पनि बारभन्दा थोरैले माथिबाट बाहिरियो ।

 

दोस्रो हाफमा इराकका वैकल्पिक खेलाडी जिदान इकबाल मैदान प्रवेश गरेसँगै पुरुष विश्वकप खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बने । ७६औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नरमा वैकल्पिक खेलाडी लिओ ओस्टिगार्डले हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता थप फराकिलो बनाए । इन्जुरी समयको अन्त्यतिर हालान्डको गोलतर्फ गएको हेडरलाई आइमेन हुसेनले क्लियर गर्ने प्रयास गर्दा आफ्नै पोस्टमा गोल हुन पुग्यो र नर्वेले ४–१ को जित सुनिश्चित गर्‍यो ।

 

यो प्रतियोगितामा पाँचौँ प्रयासमा आएर एसियाली फुटबल महासंघअन्तर्गतको टोलीविरुद्ध कुनै युरोपेली राष्ट्रले जित हात पारेको पहिलो अवसर पनि हो ।

 

जारी विश्वकपमा अब नर्वेले अर्को खेल जुन २३ मा सेनेगलविरुद्ध खेल्ने छ भने जुन २७ मा फ्रान्सविरुद्ध खेल्ने तालिका छ । त्यस्तै इराकले जुन २३ मा फ्रान्सविरुद्ध र जुन २७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार