डा. गोविन्द केसीले धनगढीबाट शुरु गरे अनशन

७ श्रावण, २०८३, बिहिवार
सारांश
  • चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने उनको माग छ । डा. केसीले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन र विगतमा भएका आफूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

धनगढी:  डा. गोविन्द केसीले धनगढीबाट अनशन सुरु गरेका छन् । विहिबार धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा पत्रकार सम्मेलन गरेर अनशन सुरु गरेका हुन् ।

 

डा. केसीले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित र केही अन्य गरी पाँचबुँदे माग अघि सारेका छन् । स्थापित नियम र मूल्यमान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू बदर गर्नुपर्ने माग उनले अघि सारेका छन् । विश्वविद्यालयको ऐनका विवादित प्रावधानहरू संशोधन गर्नुपर्ने माग उनले राखेका छन्।

 

चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने उनको माग छ । डा. केसीले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन र विगतमा भएका आफूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

 

त्यस्तै, गत वर्ष भदौ २३ र २३ गते जेन–जी आन्दोलनका क्रममा जघन्य हत्या, आगजनी, लुटपाट र विनाशमा संलग्नलाई कारबाही गर्न तथा ०४६ सालदेखि हालसम्म उच्चपदस्थ, राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनले माग गरेका छन् ।

 

पत्रकार सम्मेलनमा केसीले गेटा मेडिकल विश्वविद्यालयका नाममा मेडिकल माफियाको स्वार्थ पूर्ति गर्ने काम भइरहेको आरोप लगाए । दशकौँदेखि विशिष्ट सेवा दिँदै आएका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता स्थापित संस्थालाई पन्छाएर गेटामा नयाँ संरचना थोपर्नु र ऐनमा विवादित प्रावधान राखेर आफूअनुकूल निजी संस्थाका व्यक्तिलक्षित कुलपति र उपकुलपति नियुक्त गरिएको केसीको आरोप छ।

 

चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तीन वर्ष शिक्षण अस्पताल चलाएको हुनुपर्ने व्यवस्था भएकाले गेटामा पहिले शिक्षण अस्पताल सञ्चालन गर्न र त्यसपछि मात्र चिकित्सा शिक्षा पठनपाठन सुरु गर्नुपर्ने उनले बताए । यी मागहरू सम्बोधन गर्न साउन ५ गतेसम्मको समय दिइए पनि सरकारले पूर्ण रूपमा बेवास्ता गरेकाले आफूले अनशन सुरु गरेको उनको भनाइ छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार