स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

२७ असोज, २०८३
सारांश
  • नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

 

प्राधिकरणले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको जनाएको हो ।

 

प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृतिभन्दा फरक प्याकेज बिक्री गरेको र नयाँ प्याकेजबारे सेवाग्राहीलाई समयमै जानकारी नदिएको पाइएपछि जरिवाना गरिएको हो ।

 

जरिवानामा पर्ने कम्पनीहरूमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबरवर्ल्ड, भायानेट, एरोनेट, डिश मिडिया नेटवर्क, वाइफाइ नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिङ्क, फर्स्ट लिङ्क कम्युनिकेसन, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु रहेका छन् ।

 

प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। त्यस्ता गतिविधिबाट ग्राहकलाई हानि पुगेको भए मागका आधारमा क्षतिपूर्ति भराउनसमेत भनिएको छ ।

 

प्राधिकरणका अनुसार सेवा प्रदायकले नयाँ शुल्क लागू गर्नुअघि प्रस्तावित दर र लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्छ । स्वीकृतिबिना कुनै पनि सेवा प्याकेज वा शुल्क लागू नगर्न सबै सेवा प्रदायकलाई सचेत गराइएको छ ।

 

यसअघि असोज २४ गते प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि गर्न स्वीकृति नदिएको स्पष्ट पारेको थियो । स्वीकृत दरभन्दा बढी शुल्क लिने वा गैरकानुनी रूपमा सेवा सञ्चालन गर्ने कम्पनीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।

 

प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिइएको वा उपभोक्ताको हितविपरीत सेवा सञ्चालन गरिएको पाइएमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । उपभोक्ताको हित संरक्षण र स्वच्छ प्रतिस्पर्धा कायम गर्न कानुनअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार