सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

२७ असोज, २०८३
सारांश
  • प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभा जिल्लाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ ।

 

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो ।

 

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योगलगायतका विद्युत् उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

 

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत आपूर्ति थप भरपर्दो र पर्याप्त भई स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा स्वास्थ्य संस्था, त्यस क्षेत्रमा रहेका कुटानीपिसानी मिल, घरेलु उद्योगलगायतले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

 

खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हाहियास्थित अस्पतालमा थ्रि फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको उपलब्धता, नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनले बताए ।

 

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त क्षेत्रसम्म विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अघि बढिसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य रहेको छ ।

 

सङ्खुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै प्राधिकरणले विकट तथा दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् भने बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ ।

 

दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्राधिकरणको प्रयासले स्थानीय जनताको जीवनस्तर सुधार, स्वास्थ्य तथा शिक्षा सेवाको प्रभावकारी सञ्चालन र स्थानीय आर्थिक गतिविधिको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार