बयान फेरेका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • उक्त रकम चापागाईले आफ्नो बैंक खातामा जम्मा गरी झलकराम अधिकारीको निर्देशनअनुसार जग्गा खरिदका लागि भुक्तानी गरिएको आयोगको आरोप छ । यसरी चापागाईले भ्रष्टाचारजन्य कार्यमा सहयोगी तथा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको भन्दै ५० लाख रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकासकुमार चापागाईविरुद्ध ५० लाख बराबरको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

 

आयोगका अनुसार विशेष अदालतमा विचाराधीन झलकराम अधिकारीसमेत प्रतिवादी रहेको घुस तथा भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका चापागाईले अदालतमा दिएको बयान अनुसन्धानका क्रममा आयोगसमक्ष दिएको बयान र प्रमाणसँग बाझिएको पुष्टि भएको छ ।

 

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थायी घर भएका चापागाईलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा सहयोग गरेबापत सरकारी साक्षी बनाइएको थियो। त्यसक्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार सजायमा पूर्ण छुट दिइएको थियो । तर, चापागाईले जेठ १३ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अभिव्यक्ति दिएको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार झलकराम अधिकारीले राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पार्ने तथा अनुसन्धान प्रक्रिया अघि नबढाउने उद्देश्यले गैरकानुनी लाभ लिन खोजेका थिए। त्यसका लागि एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालकबाट ५० लाख बराबरको चेक विकासकुमार चापागाईको नाममा काट्न लगाइएको थियो । 

 

उक्त रकम चापागाईले आफ्नो बैंक खातामा जम्मा गरी झलकराम अधिकारीको निर्देशनअनुसार जग्गा खरिदका लागि भुक्तानी गरिएको आयोगको आरोप छ । यसरी चापागाईले भ्रष्टाचारजन्य कार्यमा सहयोगी तथा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको भन्दै ५० लाख रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

 

यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि सहयोगी तथा मतियारको भूमिका खेलेको पुष्टि भएको भन्दै सोही रकमलाई बिगो कायम गरी कानुनबमोजिम सजायको मागदाबी गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार