धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै

२०८३ वैशाख ०५ शनिवार
सारांश
  • नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आगामी सोमबारदेखि धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागू हुने भएको छ । 

 

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

 

नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ ।

 

प्रि–ओपन सेसन र सर्किट ब्रेकरमा परिवर्तन

नयाँ विनियमावलीले बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

 

यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४, ५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।

 

लगानीकर्तालाई के फाइदा हुन्छ ?

नेप्सेका अनुसार मूल्य दायरा बढेसँगै सेयरको वास्तविक माग र आपूर्ति अनुसार मूल्य छिटो समायोजन हुन मद्दत पुग्नेछ । यसले कृत्रिम रूपमा मूल्य रोकिने समस्या हटाउनुका साथै लगानीकर्तालाई छिटो प्रवेश र बर्हिगमनको अवसर प्रदान गर्नेछ । कारोबारको मात्रा बढ्ने र बजार थप गतिशील हुने विश्वास गरिएको छ ।

 

नियामक निकाय सेबोनले बजारलाई आधुनिक र लचिलो बनाउन यो कदम चालेको भए पनि, बढेको मूल्य सीमाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै लगानीकर्ताले सतर्कतापूर्वक लगानी व्यवस्थापन गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार