भारत–इयु स्वतन्त्र व्यापार सम्झौताले नेपालको गार्मेन्ट व्यवसायमा कस्तो असर पर्ला ?

२०८२ माघ १७ शनिवार
सारांश
  • आन्तरिक बजारमा ध्यान दिँदै रणनीतिक योजना बनाउनु अहिले अत्यावश्यक छ ।

भारत–युरोपेली संघ बीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको र्गामेन्ट व्यवसायलाई चुनौतीपूर्ण बनाउने देखिएको छ । हालै आयोजित एक कार्यक्रममा व्यवसायीहरूले यस सम्झौता र त्यसको सम्भावित प्रभावबारे आफ्नो चिन्ता व्यक्त गरे ।


सोही विषयमा विज्ञहरुसँग यस मिडियाले गरेको अन्र्तक्रियामा, पूर्व अर्थ सचिव मधु मरासिनीले भने, “नेपालको भारतीय बजारमा निर्यात र आयात दुवैमा निर्भरताले हामीलाई भारतले गर्ने प्रत्येक स्वतन्त्र व्यापार सम्झौताहरू नजिकबाट र गहिरो विश्लेषण गर्न बाध्य बनाएको छ । नेपाल नोभेम्बर २०२६ मा कम विकसित देश (एलडीसी) बाट स्नातक हुँदैछ । अहिलेसम्म हामी इयुको इबिए योजना अन्तर्गत लाभ उठाउँदै आएका छौं । तर स्नातकपछि जिएस्पी प्लस प्रणालीमा स्थानान्तरण गर्नुपर्नेछ ।” उनले थप भने, “तीन वर्षको समायोजन अवधि दिइए पनि समयअघि हुने वार्ता निर्णायक हुनेछ । भारतले २०२५ मा बेलायतसँग गरेको स्वतन्त्र व्यापार सम्झौताले पनि के देखाउँछ भन्दा नेपालले यस्ता सम्झौताहरुको दुष्प्रभावबाट बच्न भारतको भ्यालु चेनहरू सँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिनु आवश्यक छ ।”


त्यस्तै वरिष्ठ अर्थशास्त्री डा. पोष राज पाण्डेको सुझावमा, “अब आन्तरिक बजारमा र्गामेन्ट आपूर्तिमा ध्यान केन्द्रित गर्ने समय आएको छ । केवल विदेशी बजारमा मात्र निर्भर रहनुले नेपालको व्यापार बदलिँदो विश्व आर्थिक र राजनीतिक परिस्थितिमा संवेदनशील बन्नेछ । त्यसैले नेपाली उत्पादकहरूले स्वदेशी उपभोक्ताको आवश्यकता र प्राथमिकताको अध्ययन गरेर त्यही अनुसार व्यापार सञ्चालन गर्नुपर्ने आवश्यकता अहिलेको अवस्थाले सृजना गरेको छ ।”


अर्थशास्त्री र भविष्यका लागि संस्था 'इन्स्टिच्युट फर फ्युचर'का अध्यक्ष भोजराज पौडेलले भने, “भारत–युरोपेली संघ स्वतन्त्र व्यापार सम्झौता वा अन्य कुनै पनि विश्वव्यापी आर्थिक विकासलाई प्रतिक्रियात्मक दृष्टिले मात्र हेर्नु हुँदैन । उनले जोड दिदै भने कि सम्बन्धित संस्थाहरूले यसको जिम्मेवारी लिनु र चलिरहेका विश्वव्यापी घटनामा नजिकबाट निगरानी राख्नु आवश्यक छ । विशेषज्ञ र सञ्चार माध्यमले सुझाव दिन सक्छन्, तर आर्थिक र व्यापार क्षेत्रहरूमा काम गर्न बनाइएका विशेष संस्थाहरूले मात्र दिगो र सार्थक परिवर्तन ल्याउन सक्छन् ।  त्यसैले यी संस्थाहरूको क्षमता सुदृढ गर्नु, राजनीतिक रूपमा नियुक्त कर्मचारीहरूको समीक्षा गर्नु, र विशेषज्ञ तथा प्राविधिकहरूलाई प्रभावकारी रूपमा प्रणालीलाई मार्गदर्शन र नेतृत्व गर्न नियुक्त गर्ने व्यवस्था गर्नु अत्यावश्यक छ ।”


विशेषज्ञहरूले निष्कर्षमा भने, नेपालले विदेशी बजारमा मात्र निर्भर रहनु हानीकारक हुन सक्छ । आन्तरिक बजारमा ध्यान दिँदै रणनीतिक योजना बनाउनु अहिले अत्यावश्यक छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार