विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी

२०८३ जेठ २९ शुक्रवार
सारांश
  • आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

काठमाण्डौ, २९ जेठ । आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

 

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा बिहीबार भएको खेलमा मेक्सिकोका लागि जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइएका थिए।

 

मेक्सिकोले नवौँ मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले गोलकिकपछि बल नियन्त्रणमा गल्ती गर्दा त्यसको फाइदा उठाउँदै किन्योनेसले उत्कृष्ट प्रहारमार्फत गोल गरेका थिए।

 

सिथोलेको खराब दिन दोस्रो हाफको सुरुआतमै थप निराशाजनक बन्यो । उनले प्रतियोगिताको पहिलो रातो कार्ड पाएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै मेक्सिकोले दोस्रो गोल गर्‍यो । राउल हिमेनेजले उत्कृष्ट हेडमार्फत राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । गोलपछि उनी भावुक बन्दै मैदानमै आँसु झारेका थिए । सन् २०२० मा गम्भीर टाउको चोटका कारण करिअर संकटमा परेका ३५ वर्षीय हिमेनेजका लागि यो विशेष क्षण बनेको थियो । उनले यस वर्ष निधन भएका आफ्ना पिताको सम्झनामा पनि उक्त गोल समर्पण गरेका थिए।

 

खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले अर्को झट्का बेहोर्‍यो । थेम्बा ज्वानेले अनावश्यक फउल गरेपछि सिधै रातो कार्ड पाए र टोली नौ खेलाडीमा झर्‍यो । यता खेल सकिन केही क्षण बाँकी रहँदा मेक्सिकोका सेजार मोन्टेसले स्पष्ट गोल अवसर रोकिएको ठहर गर्दै रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए ।

 

अन्तिम समयको सिट्ठिसँगै घरेलु समर्थक उत्सवमा डुबेका थिए । उद्घाटन खेलमा प्रभावशाली जित निकालेको मेक्सिको नकआउट चरणतर्फ बलियो कदम चाल्न सफल भएको छ ।

 

अब मेक्सिकोले अर्को खेल जुन १९ मा दक्षिण कोरिया र जुन २५ मा चेक गणतन्त्रसँग खेल्ने तालिका छ । त्यस्तै, दक्षिण अफ्रिकाले जुन १८ मा चेक गणतन्त्र र जुन २५ मा दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार