मेटाका एआई प्रोजेक्टबाट कर्मचारीको डाटा लिक

९ आषाढ़, २०८३, मगलवार
सारांश
  • यस घटनाबारे मेटाका प्रवक्ताले कार्यक्रमलाई गोपनीयता सुरक्षालाई ध्यानमा राखेर सावधानीपूर्वक डिजाइन गरिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म कुनै कर्मचारीले चुहिएको डेटाको दुरुपयोग गरेको प्रमाण फेला परेको छैन । तर पूर्ण अनुसन्धान नसकिएसम्म कार्यक्रम स्थगित गरिएको छ ।

काठमाडौँ: सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना कर्मचारीहरूको कम्प्युटर प्रयोग गर्ने तरिका र गतिविधि सङ्कलन गरेर कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिने उद्देश्यले सुरु गरेको आन्तरिक कार्यक्रम ठूलो डेटा चुहावटको घटनापछि विवादमा परेको छ ।

 

मेटाले सन् २०२६ अप्रिलमा ‘मोडेल क्षमता पहल’ नामक आन्तरिक कृत्रिम बुद्धिमत्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको थियो । कम्पनीको मेटा सुपर सुपरइन्टेलिजेन्स ल्याब्स टोलीले विकास गरेको यो कार्यक्रमको उद्देश्य कृत्रिम बुद्धिमत्ता प्रणालीलाई मानिसहरूले कम्प्युटर कसरी प्रयोग गर्छन् भन्ने कुरा सिकाउनु थियो ।

 

यसअन्तर्गत ड्रपडाउन सूची छनोट गर्ने, किबोर्ड शर्टकटको उपयोग गर्ने, विभिन्न स्क्रिन सञ्चालन गर्ने जस्ता गतिविधि बुझाउन कर्मचारीहरूको वास्तविक प्रयोग ढाँचा अभिलेख गरिएको थियो । प्रतिवेदनहरूका अनुसार यो प्रणालीले कर्मचारीहरूले थिचेका कि-स्ट्रोक्सहरू, माउसको गतिविधि, क्लिक गर्ने ढाँचा तथा कार्यस्थलमा हुने विभिन्न गतिविधिहरू अभिलेख गरिरहेको थियो ।

 

मेटाले यो डेटा केवल कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिनका लागि मात्र प्रयोग गरिने र यसका लागि पर्याप्त गोपनीयता सुरक्षा उपाय अपनाइएको जनाएको थियो । एक प्रतिवेदनअनुसार कम्पनीभित्र सङ्कलन गरिएको डेटा व्यापक आन्तरिक सञ्जालमा उपलब्ध भएपछि समस्या गम्भीर बनेको थियो ।

 

सार्वजनिक भएका स्क्रिनसटहरूमा कर्मचारीहरूको अत्यन्तै निजी संवाद, कार्यसम्पादनसम्बन्धी विवरण तथा बैठकका लिखित अभिलेख कम्पनीभित्रका धेरै कर्मचारीले हेर्न सक्ने अवस्थामा पुगेका थिए । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मेटाले यसलाई आन्तरिक रूपमा ‘एसईभी–२’ श्रेणीको ठूलो सुरक्षा जोखिमका रूपमा वर्गीकरण गरेको छ । यो मापन शून्यदेखि पाँचसम्मको स्तरमा आधारित हुन्छ, जसमा शून्य सबैभन्दा गम्भीर अवस्था मानिन्छ ।

 

यति ठूलो परिमाणमा डेटा चुहावट भएपछि कर्मचारीहरूले कम्पनीको डेटा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । यो कार्यक्रम सुरु हुँदा अधिकांश कर्मचारीका लागि अनिवार्य बनाइएको थियो, जसका कारण उनीहरू सुरुदेखि नै असहज थिए । त्यसबेला मेटाले यो डेटा अन्य कुनै उद्देश्यका लागि प्रयोग नहुने र पूर्ण रूपमा सुरक्षित राखिने आश्वासन दिएको थियो । तर डेटा चुहावट भएपछि कर्मचारीहरूको असन्तुष्टि बढेको छ ।

 

एक कर्मचारीले कम्पनीको आन्तरिक समूहमा लेखेका छन्- 'म निकै आक्रोशित छु । बाह्य व्यक्ति वा दुर्भावनापूर्ण पहुँच भएको कुनै प्रमाण नदेखिए पनि सुरुमै गरिएको वाचा अनुसार डेटा पूर्ण रूपमा सुरक्षित नराखिनु निकै निराशाजनक छ ।'

 

यस घटनाबारे मेटाका प्रवक्ताले कार्यक्रमलाई गोपनीयता सुरक्षालाई ध्यानमा राखेर सावधानीपूर्वक डिजाइन गरिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म कुनै कर्मचारीले चुहिएको डेटाको दुरुपयोग गरेको प्रमाण फेला परेको छैन । तर पूर्ण अनुसन्धान नसकिएसम्म कार्यक्रम स्थगित गरिएको छ ।

 

यद्यपि कार्यक्रम रोके पनि मेटाले कृत्रिम बुद्धिमत्ताका लागि डेटा सङ्कलन गर्ने योजना भने नरोकेको जनाएको छ ।

 

कम्पनीका प्राविधिक प्रमुख एन्ड्र्यु बोस्वर्थले अर्को आन्तरिक सन्देशमार्फत ‘कार्यस्थलका लागि कृत्रिम बुद्धिमत्ता’ योजनाअन्तर्गत आन्तरिक डेटा सङ्कलनलाई अझ तीव्र बनाइने जानकारी दिएका छन् । यस योजनालाई अब ‘एजेन्ट ट्रान्सफर्मेसन एक्सेलेरेटर’ नाम दिइएको छ ।

 

मेटाले भविष्यमा यस्ता कृत्रिम बुद्धिमत्ता सहायक विकसित हुनेछन्, जसले मानिसहरूको दैनिक कम्प्युटर प्रयोगसम्बन्धी काममा सहयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार कृत्रिम बुद्धिमत्तालाई मानिसजस्तै काम गर्न सिकाउनका लागि मानिसहरूले वास्तवमा कम्प्युटरसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । यही उद्देश्यका साथ कर्मचारीहरूको वास्तविक गतिविधिका आधारमा कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिइँदै आएको थियो ।

 

प्रतिवेदनहरूका अनुसार यो कार्यक्रम कम्पनीका अधिकांश कर्मचारीका लागि अनिवार्य बनाइएको थियो । यसै कारण सुरुदेखि नै धेरै कर्मचारीहरूले यसप्रति असहजता व्यक्त गरेका थिए । उनीहरूलाई आफ्ना व्यक्तिगत गतिविधि र व्यवहारसम्बन्धी विवरणहरू पनि अभिलेख भइरहेका हुन् कि भन्ने चिन्ता थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार