- सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडकमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी तथा सावधानीपूर्वक यातायात सञ्चालन भइरहेको छ ।
काठमाण्डौ, १० असोज । लगातारको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडकमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी तथा सावधानीपूर्वक यातायात सञ्चालन भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चाक्लाभीर, ज्वाङ खोला र किर्तिपुललगायत क्षेत्रमा यातायात बन्द रहेको छ । स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । विभिन्न स्थानमा पहिरो पन्छाउने काम सुरु गरिएको र राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
बिपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कडुने र चौकीडाँडालगायत क्षेत्रमा सडक अवरुद्ध भएको छ । सडकमा पहिरो तथा ढुंगा खसेका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
कान्ति राजमार्गको चपली र तकुर्चे लगायतका क्षेत्रमा आंशिक रूपमा सडक प्रभावित भएको छ । मकवानपुर खण्डमा पहिरो पन्छाई यातायात सञ्चालनमा ल्याउने काम जारी छ भने ललितपुर खण्डमा पनि पहिरो पन्छाउने काम भइरहेको छ। बिहान १० बजेदेखि यातायात सञ्चालनमा आउने अनुमान गरिएको छ ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डमा सोलु खोलानजिक सडक अवरुद्ध भएको छ । सडक खुलाउन ढुंगा फुटाउने उपकरण, उत्खनन गर्ने मेसिन तथा माटो बोक्ने यन्त्र परिचालन गरिएको छ । थप वर्षा नभए बेलुकासम्म यातायात सहज बनाउने प्रयास भइरहेको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगर क्षेत्रमा सडक अवरुद्ध भएको छ । लेदो र पहिरो आउने क्रम जारी रहेकाले पहिरो पन्छाउने मेसिन तयारी अवस्थामा राखिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–४ बेलबगरमा सडक अवरुद्ध भएको छ । ठूलो पहिरो खसेपछि पहिरो हटाउन मेसिन तयारी अवस्थामा राखिएको सडक विभागले जनाएको छ । त्यस्तै, बागलुङ–बेनी सडकअन्तर्गत म्याग्दी क्षेत्रमा सडक अवरुद्ध भएको छ । पहिरो हटाउन मेसिन परिचालन भइसकेको छ ।
तमोर करिडोरअन्तर्गत उकुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध भएको छ । खोलामा पानीको बहाव कम भएपछि सडक खुलाउने प्रयास गरिने जनाइएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–खरखोला क्षेत्रमा सडक अवरुद्ध भएको छ। पहिरो हटाउने काम भइरहेको छ ।
कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–गुम्राको रोँका क्षेत्र, बाँझेसिमल–दैलेखोला तथा हारेनजिक विभिन्न स्थानमा साना–ठूला पहिरो तथा ढुंगा खसेका छन् । पहिरो पन्छाउने काम जारी रहेको र हरेक स्थानमा पहिरो पन्छाउने टोली परिचालन गरिएको सडक विभागले जनाएको छ ।
भालुवाङ–चाकचके–लिवाङ सडकका विभिन्न स्थानमा पनि आंशिक अवरोध रहेको छ । सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरिएको छ भने मेसिन परिचालन गरी पहिरो तथा ढुंगा हटाउने काम भइरहेको सडक विभागले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।