मेटाले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड डलर लगानी गर्ने

२०८३ अषाढ़ ०९ मङ्गलवार
सारांश
  • अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।

काठमाण्डौ, ०९ अषाढ़ । अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।

 

यस लगानीपछि क्रेडको मूल्यांकन ४ अर्ब ५० करोड डलर पुगेको क्रेडले जानकारी दिएको छ । यसैसँगै क्रेडका संस्थापक कुनाल शाहलाई विश्वव्यापी रूपमा व्हाट्सएपको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

 

भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन् । कम्पनीले भारतमा सन्देश सेवाबाट अघि बढ्दै भुक्तानी र व्यवसायिक सेवामा समेत विस्तार गरिरहेको छ ।

 

हालका व्हाट्सएप प्रमुख विल क्याथकार्टले सात वर्षको नेतृत्वपछि मेटाभित्रै अर्को जिम्मेवारी सम्हाल्ने भएका छन् । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जानकारी दिदै अब क्रेडका संस्थापक शाहले हवाट्स एपको नेतृत्व सम्हाल्ने बताएका हुन् ।

 

यो लगानी पछिल्ला वर्षहरूमा भारतको वित्तीय प्रविधि क्षेत्रमा भएको सबैभन्दा ठूलो लगानीमध्ये एक मानिएको छ । पछिल्लो चरणको लगानीपछि क्रेडको मूल्यांकन २०२५ को फन्डिङभन्दा बढी भए पनि सन् २०२२ को ६ अर्ब ४० करोड डलरको उच्च बिन्दुभन्दा कम रहेको बताइएको छ ।

 

यस सम्झौताअन्तर्गत मेटाले क्रेडमा अल्पसंख्यक हिस्सा लिनेछ, तर ग्राहकको व्यक्तिगत डेटा पहुँच पाउने छैन । २०१८ मा स्थापना भएको क्रेडले उच्च क्रेडिट स्कोर भएका प्रयोगकर्ताका लागि सदस्यतामा आधारित सेवा सञ्चालन गर्दै आएको छ । यसमार्फत भुक्तानी, ऋण, बीमा, सम्पत्ति व्यवस्थापन र जीवनशैली सेवासम्म उपलब्ध गराइन्छ ।

 

कम्पनीका अनुसार यसले प्रत्येक महिना १ करोड ७० लाख सदस्यलाई सेवा दिइरहेको छ । साथै भारतको क्रेडिट कार्ड बिल भुक्तानीको ४० प्रतिशतभन्दा बढी हिस्सा यसैमार्फत हुन्छ र साझेदार वित्तीय संस्थाका लागि करिब २५ अर्ब डलर बराबरको ऋण सम्पत्ति व्यवस्थापन भइरहेको छ ।

 

नयाँ पूँजीले कम्पनीलाई वृद्धि तीव्र पार्न, नेतृत्व सुदृढ बनाउन तथा उत्पादन विस्तार गर्न प्रयोग गरिने बताइएको छ । हाल क्रेडमा रणनीति तथा वित्त प्रमुख मितेन सम्पतलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

मेटाले भारतमा यसअघि पनि रिलायन्स इन्डस्ट्रिजको डिजिटल इकाइ जियो प्लेटफर्ममा ठूलो लगानी गरेको थियो, जसले हालै प्राथमिक सेयर निष्कासनका लागि कागजात बुझाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार