ऋतु अनुसारको आहार विहार वा ऋतुचर्या: आयुर्वेदको अमूल्य शिक्षा

२०८१ असोज १३, आईतबार
सारांश
  • आयुर्वेद रोग लाग्नै नदिने र रोग लागेमा उपचार गर्ने समेत कुरामा समृद्ध चिकित्साशास्त्र हो। आहार विहारको महत्त्वको विषयमा स्वास्थ्यप्रति सचेत व्यक्तिहरुलाई धेरै कुरा भनिरहुनु आवश्यक छैन ।

आयुर्वेद रोग लाग्नै नदिने र रोग लागेमा उपचार गर्ने समेत कुरामा समृद्ध  चिकित्साशास्त्र हो।  आहार विहारको महत्त्वको विषयमा स्वास्थ्यप्रति सचेत व्यक्तिहरुलाई धेरै कुरा भनिरहुनु आवश्यक छैन ।  दिनचर्या ऋतुचर्या र स्वस्थवृत्त अर्थात् स्वस्थ व्यक्तिले स्वस्थ रहिरहनका लागि पालन गर्नपर्ने नियमको विस्तृत ज्ञान वास्तवमा अति नै अद्बूत र सबैको हितकालागि साधारण शिक्षामा समेत समावेश हुनैपर्ने अमूल्य निधि हो।

 

ऋतु अनुसार वातावरणमा परिवर्तन भैरहेको प्रत्यक्ष देखिने र सबैले बुझ्ने कुरा नै हो । स्वास्थ्यको रक्षाका लागि नियमित दिनचर्याका साथै ऋतु अनुसारको आहार विहारको विषयमा पनि आयुर्वेदका ग्रन्थहरुमा व्यापक चर्चा पाइञ्छ किनभने वातावरणले हाम्रो शरीरका क्रियाहरुमा प्रत्यक्ष देखिने र नदेखिने दुवै कसिमले प्रभाव पारीरहेको हुञ्छ  । 

 

त्रिदोषको सिद्धान्त अर्तात् वात पित्त र कफ ३ दोषहरु सामान्य  अवस्थामा रहनु स्वास्थ्यका निमित्त आवश्यक हुञ्छ भन्ने नियम अनुसार पनि ऋतुहरुले ई दोषहरुमा पार्न सक्ने प्रभावबाट बच्नु आवश्यक हुने भएकाले ऋतु अनुरूपमा आहार विहारको महत्त्वका विषयमा आयुर्वेदले ठुलो प्राथमिकता दिएको भनेर बुझ्न सकिञ्छ। ऋतु अनुसार स्वस्थ व्यक्तिले पनि दोषहरुको प्रकोप हुन सक्ने भएकाले पहिल्यै उपाय गर्नुपर्छ भनेर हाम्रा ऋषिमुनिले शिक्षा दिएका छन्।


हरेद्वसन्ते श्लेष्माणं पित्तं शरदि निर्हरेत्। 
वर्षासु शमयेद् वायुं प्राग्विकारसमुच्छ्रयात् ॥  
अर्थात् वसन्त ऋतुमा कफ, शरद् ऋतुमा पित्त र वर्षा ऋतुमा वायु(वात) को शमन गर्ने काम गर्नु पर्छ जस्ले गर्दा ती दोषहरु बढेर रोग लगाउने अवस्था नै आउन नपओस्।

 

विशेष गरी शरद्  वसन्त र  ऋतुसन्धिको समयमा खानपानमा सावधान हुन स्पष्ट रूपमा एसरी भनिइको छ: 
वैद्यानां शारदी माता
पिता च कुसुमाकर:।
यमदंष्ट्रा स्वसा प्रोक्ता
हितभुङ् मितभुग् रिपुः।।
अर्थात्  वैद्यहरुका लागि शरद् ऋतु आमा र वसन्त पिता जस्ता हुन् (धेरै रोगव्याध लाग्ने भएकाले) ऋतुसन्धि दिदी हुन् भने हितकर खाने कुरा ठिक्क मात्र खाने मानिस शत्रु हो । 
यहाँ सङ्क्षेपमा चरक सुश्रुत र वाग्भटजस्ता ग्रन्थका आधारमा विभिन्न ऋतुहरुमा के कस्तो आहार विहार गर्नाले स्वस्थ रहन सहयोग पुग्छ भन्ने चर्चा गरिएको छ।   


हेमन्तचर्या
हेमन्ते कटुतीक्ष्णोष्णमम्लक्षारघृतं दधि।
गोधूमतिलमाषेक्षुविकारान् भक्षयेद् बहून् ।।
हेमन्ते दधि दुग्धञ्च घृतं माषतिलान्वितम् ।
शाल्यन्नञ्च नवं भोज्यं जलं सेव्यं सुखोष्णकम् ।।
नीहारानिलसंस्पर्शाद् बलवान् मारुतो यतः।
अतो हेमन्तसमये सेव्या शुण्ठ्या हरीतकी ।।
हेमन्त ऋतुमा तातो, पीरो ,अमिलो नुनिलो , दही गहुँ, तिल , मास,  गुड ,चाकु जस्ता उखुका उत्पादन् खानाले स्वस्थ रहन  सहयोग पुग्छ। प्रशस्त दही दुध, घिउ मास र तिलयुक्त बनाएर खाने नयाँ धानको भात, मनतातो पानी खानु हितकर छ। वायुदोषबाट बच्न सुठो मिसाएर हर्रो खानुपर्छ।  

 

शिशिरचर्या 
निवातमुष्णमधिकं शिशिरे गृहमाश्रयेत्।
कटुतिक्तकषायाणि वातलानि लघूनि च।
वर्जयेदन्नपानानि शिशिरे शीतलानि च ।। 
बतास नलाग्ने न्यानो घरभित्र बस्ने अनि धेरै पीरा, तीता, टर्रा, वात दोष बढाउने, सजिलै पच्ने, चीसा खाने पिउने कुरा त्याग्ने गरेर शिशिर ऋतु बिताउनुपर्छ।

 

वसन्तचर्या
तीक्ष्णरूक्षकटुक्षार-कषायं कोष्णमद्रवम् ।
यवमुद्गमधुप्रायं वसन्ते भोजनं हितम्।।
तीखो रुखो पीरो खारयुक्त तथा टर्रो अनि ठिक्कको तातो धेरै झोल नभएको जौ, मुङ महआदिले युक्त भोजन वसन्तमा हितकर हुञ्छ।

 

ग्रीष्मचर्या
तीक्ष्णांशुरतितीक्ष्णांशु ग्रीष्मे सङ्क्षिपतीव यत् ।
प्रत्यहं क्षीयते श्लेष्मा तेन वायुश्च वर्धते ।।
अतोऽस्मिन् पटुकट्वम्लव्यायामार्ककरांस्त्यजेत् । 
भजेन् मधुरमेवान्नं लघु स्निग्धं हिमं द्रवम् ।।
शीतं सशर्करं मन्थं जाङ्गलान् मृगपक्षिणः। 
घृतं पयः सशाल्यन्नं भजन् ग्रीष्मे न सीदति॥
सूर्यका प्रचण्ड तापले कफदोष हटेर वातदोष बढ्छ । एसबाट बच्नका लागि पीरो, अमिलो, व्यायाम, घामबाट बचेर गुलियो पच्न सजिलो चिल्लो पदार्थले युक्त, शीतल र झोलयुक्त खाने कुरा खानुपर्छ। मिश्री वा चिनीयुक्त चीसो मोइ (मोही), जङ्गली पशुपक्षिका मासु, घिउ, दुध, शालिधानको भात खाने गर्नाले ग्रीष्मका प्रभावबाट बचेर सुखी हुन सकिञ्छ।  

 

वर्षर्तुचर्या
वर्षासु प्रबलो वायुस्तमान् मिष्टादयस् त्रयः। 
रसाः सेव्या विशेषेण पवनस्योपशान्तये ।।
सरोनद्यादि सलिलं स्नाने पाने विवर्जयेत् ।
दिवास्वप्नं श्रमं घर्मं प्रावृट्काले न सेवयेत् ।।
वर्षामा वातदोषको प्रबलता हुने भएकाले गुलियो, अमिलो नुनिलो विशेष लाभदायक हुञ्छ। पोखरीको पानी स्नान र खान पनि योग्य हुँदैन। दिउसो सुत्ने ज्यादै परिश्रम र धेरै घाम ताप्ने काम पनि हितकर हुँदैन।

 

शरच्चर्या
इक्षवः शालयो मुद्गाः सरोम्भः क्वथितम् पयः। 
शरद्येतानि पथ्यानि प्रदोषे चेन्दुरश्मयः ।।
उखु, शालिधानको भात, मुङको दाल, सफा पोखरीको पानी, उमालेको दुध, अनि राति चन्द्रमाका किरण शरद् ऋतुमा पथ्य छन्।

 

ऋतु अनुसार हर्रोको सेवन  
ग्रीष्मे तुल्यगुडां सुसैन्धवयुतां मेघावनद्धेऽम्बरे 
सार्धं शर्करया शरद्यमलया सुण्ठ्या तुषारागमे ।
पिप्पल्या हिमदे वसन्तसमये क्षौद्रेण संयोजितां 
राजन् प्राप्य हरीतकीमिव रुजो नश्यन्तु ते शत्रवः।। 

 
कुन कुन ऋतुमा दही खानु ऊपयुक्त छ ? 
हेमन्ते शिशिरे चाऽपि 
   वर्षासु दधि शस्यते।
शरद्ग्रीष्मवसन्तेषु
       प्रायशस्तद् विगर्हितम् ।। 
हेमन्ते शिशिरे र वर्षा ऋतुमा दही खानु लाभदायक छ।  शरद्ग् ग्रीष्म र वसन्तमा  हानि पु-याउन सक्ने भएकाले सामान्यतया त्याज्य छ। (नखानु राम्रो )

 

आयुःकामयमानेन धर्मार्थसुखसाधनम् ।
आयुर्वेदोपदेशेषु विधेयः परमादरः ॥
(सुखमय दीर्घायुको कामना गर्नले परम हितैषी ऋषिमुनिले उपदेश गरेका आयुर्वेदशास्त्रमा दिइएको उपदेशको अति नै सम्मान र पालन गर्नुपर्छ ) 


सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग्जन: ॥

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप लेखहरु