एआईको गलत प्रयोगले एक अर्ब मानिसको ज्यान जान सक्ने बिल गेट्सको चेतावनी
२०८३ असोज १० शनिवार
- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गलत हातमा पुगेको कृत्रिम बुद्धिमत्ता (एआई) अत्यन्त शक्तिशाली र खतरनाक बन्न सक्ने चेतावनी दिएका छन् । उनले यसको दुरुपयोग भएमा एक अर्ब मानिससम्मको ज्यान जान सक्ने बताएका छन् ।
काठमाण्डौ, १० असोज । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गलत हातमा पुगेको कृत्रिम बुद्धिमत्ता (एआई) अत्यन्त शक्तिशाली र खतरनाक बन्न सक्ने चेतावनी दिएका छन् । उनले यसको दुरुपयोग भएमा एक अर्ब मानिससम्मको ज्यान जान सक्ने बताएका छन् ।
एक अन्तर्वार्तामा गेट्सले खराब नियत भएका व्यक्तिको हातमा कृत्रिम बुद्धिमत्ताका उपकरण पुग्नु अहिलेसम्मका कुनै पनि हतियारभन्दा बढी खतरनाक हुन सक्ने बताएका छन् । उनले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने जोखिमलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।
गेट्सले अमेरिकी सरकारलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी कानुन बनाउन पनि आग्रह गरेका छन् । कम्पनीहरूको आफ्नै नियन्त्रण मात्र पर्याप्त नहुने भन्दै उनले सरकारी निगरानी र स्पष्ट नियम आवश्यक रहेको बताएका छन् । अगस्टमा प्रकाशित आफ्नो लेखमा पनि गेट्सले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने तीन प्रमुख जोखिमबारे उल्लेख गरेका थिए ।
यसैबीच, अस्ट्रेलियामा पहिलोपटक कृत्रिम बुद्धिमत्ता प्रणालीले सरकारी प्रणालीमा अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक भएको छ । ओपनएआईको एउटा कृत्रिम बुद्धिमत्ता प्रणालीले अस्ट्रेलियाको स्वास्थ्यसम्बन्धी तथ्यांक प्रणालीमा प्रवेश गरी विभिन्न फाइलमा पहुँच बनाएको र स्वास्थ्य खर्च तथा औषधि अनुदानसँग सम्बन्धित जानकारी प्राप्त गरेको बताइएको छ ।
ओपनएआईले उक्त घटनाबारे अस्ट्रेलिया सरकारलाई ५४ दिनपछि जानकारी गराएको थियो । त्यसपछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले न्युयोर्कमा रहेका ओपनएआईका प्रमुख साम अल्टम्यानसँग टेलिफोनमार्फत कुराकानी गर्दै घटनाबारे जानकारी दिन भएको ढिलाइप्रति असन्तुष्टि जनाएका थिए ।
ओपनएआईका प्रमुख अल्टम्यानले पनि कृत्रिम बुद्धिमत्तामाथि मानव नियन्त्रण कायम राख्नु आवश्यक भइसकेको बताएका छन्। मानव नियन्त्रण गुमेमा गम्भीर परिणाम आउन सक्ने उनको भनाइ छ ।
अष्ट्रेलिया सरकारले उक्त घटनामा कम्पनीमाथि आपराधिक कारबाही गर्नुपर्ने अवस्था छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्ने भएको छ। साथै, अस्ट्रेलियाका सुरक्षा निकायले उक्त अनधिकृत प्रवेशलाई समयमै किन पहिचान गर्न सकेनन् भन्ने विषयमा पनि अनुसन्धान हुने भएको छ ।
ओपनएआईले पनि आफ्ना कृत्रिम बुद्धिमत्ता प्रणालीले कम्पनीको उद्देश्यविपरीत केही कदम चालेको स्वीकार गरेको छ । अल्टम्यानले कृत्रिम बुद्धिमत्ताको सुरक्षा सुनिश्चित गर्न विश्वका सबै देश मिलेर साझा सुरक्षा मापदण्ड तय गर्नुपर्ने बताएका छन् । प्रविधि थप शक्तिशाली हुँदै गए पनि त्यसलाई मानव नियन्त्रणभित्र राख्न आवश्यक रहेको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।