- प्रधानमन्त्रीमा नियुक्त भएपछि सम्बोधन गर्दै देशमा आशा जगाउने गरी काम गर्ने बताए। उनले युवाहरुलाई केन्द्रमा राखेर कम गर्ने बताउदै छिट्टै सरकार विस्तार गर्ने बताए ।
काठमाडौँ: एन्डी बर्नह्याम बेलायतको ५९औँ प्रधानमन्त्री बनेका छन्।
बेलायतका राजा चार्ल्सले बकिङ्घम दरबारमा भएको निजी भेटवार्तापछि बर्नह्यामलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै बर्नहमले बेलायतको नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अब मन्त्रिपरिषद् गठन गरी सरकार सञ्चालनको प्रक्रिया अघि बढाउनेछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सम्बोधन गर्दै देशमा आशा जगाउने गरी काम गर्ने बताए। उनले युवाहरुलाई केन्द्रमा राखेर कम गर्ने बताउदै छिट्टै सरकार विस्तार गर्ने बताए ।
किएर स्टार्मरले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बर्नह्याम लेबर पार्टीको नेता बन्दै नयाँ प्रधानमन्त्री बनेका हुन् ।
को हुन् बर्नह्याम ?
सन् १९७० मा लिभरपुलमा जन्मिएका बर्नह्यामको बाल्यकाल वारिङ्टन नजिकैको गाउँमा बितेको थियो । उनका पिता ब्रिटिस दूरसञ्चार कम्पनीमा इन्जिनियर थिए भने आमा स्वागतकक्ष कर्मचारी थिइन् । दुवै जना लेबर पार्टीका समर्थक थिए । १४ वर्षको उमेरमै एक टेलिभिजन नाटक हेरेपछि उनी राजनीतिप्रति आकर्षित भएका थिए । उक्त नाटक लिभरपुलका बेरोजगार मानिसहरूको जीवनमा आधारित थियो ।
एभर्टन फुटबल क्लबका आजीवन समर्थक बर्नह्याम खेलकुदप्रेमी पनि हुन् । उनी विद्यालयस्तरको क्रिकेट टोलीका तीव्र गतिका बलरसमेत थिए । विद्यालयमै उनले नमुना चुनावमा लेबर उम्मेदवारका रूपमा भाग लिएर ठूलो अन्तरले जित हासिल गरेका थिए ।
बर्नह्याम र उनका दुई भाइ परिवारबाट विश्वविद्यालय पढ्ने पहिलो सदस्य बनेका थिए । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अंग्रेजी विषय अध्ययन गरेका थिए । आफ्नो पुस्तक हेड नर्थ मा उनले विश्वविद्यालय जीवनमा आफूलाई बाहिरी व्यक्तिजस्तो महसुस हुने गरेको उल्लेख गरेका छन् ।
स्नातकपछि उनले पत्रकारिताबाट करिअर सुरु गरेका थिए । उनले विभिन्न व्यावसायिक पत्रिकामा काम गरेका थिए । पछि उनले तत्कालीन सांसद टेसा जोवेलका अनुसन्धान सहयोगीका रूपमा काम गर्दै राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी संस्कृति सचिव क्रिस स्मिथका विशेष सल्लाहकार बने । सन् २००१ मा उनी ग्रेटर म्यानचेस्टरको ली क्षेत्रबाट सांसद निर्वाचित भए । उनले टोनी ब्लेयर सरकारमा मन्त्रीका रूपमा काम गरे भने पछि गोर्डन ब्राउन सरकारमा संस्कृति तथा स्वास्थ्य मन्त्री बनेका थिए ।
संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री रहँदा उनी हिल्सबरो त्रासदीको २० औँ स्मृति कार्यक्रममा सहभागी भएका थिए । सन् १९८९ मा भएको उक्त दुर्घटनामा लिभरपुलका ९७ समर्थकको मृत्यु भएको थियो । त्यसपछि बर्नह्यामले यो विषय मन्त्रिपरिषद्मा उठाएका थिए, जसले दोस्रो अनुसन्धान सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
सन् २०१० मा लेबर पार्टी आमनिर्वाचनमा पराजित भएपछि उनले पहिलो पटक पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएका थिए । उनी पाँच उम्मेदवारमध्ये चौथो स्थानमा रहे । सन् २०१५ मा उनले फेरि प्रयास गरे तर जेरेमी कोर्बिनसँग पराजित भए । उनका आलोचकहरूले राजनीतिक परिस्थिति अनुसार आफ्नो धारणा परिवर्तन गर्ने नेता भनेर आलोचना गर्दै आएका छन् । यद्यपि समयसँगै उनी केन्द्रवादी धारबाट बायाँ विचारधारातर्फ झुके । उनले पानी र ऊर्जा सेवा सरकारी नियन्त्रणमा ल्याउनुपर्ने पक्षमा आवाज उठाएका थिए । ब्रेग्जिट जनमतसंग्रहका बेला उनी युरोपेली सङ्घमा रहने पक्षमा थिए र भविष्यमा बेलायत पुनः सङ्घमा फर्किने आशा व्यक्त गरेका छन् ।
सन् २०१७ मा उनले सांसद पद छाडेर ग्रेटर म्यानचेस्टरको पहिलो मेयर बन्ने निर्णय गरे । ६० प्रतिशतभन्दा बढी मतसहित विजयी भएका उनी सन् २०२१ मा अझ ठूलो अन्तरले पुनः निर्वाचित भए । उनको नेतृत्वमा लन्डन बाहिर पहिलो पटक बस सेवा पुनः सार्वजनिक नियन्त्रणमा ल्याइयो । ‘बी नेटवर्क’ नाम दिइएको यस प्रणालीमार्फत बस सेवालाई अन्य यातायात सेवासँग जोडियो ।
कोभिड महामारीका बेला क्षेत्रीय लकडाउनको विषयमा तत्कालीन कन्जरभेटिभ सरकारसँग उनको खुला विवाद भएको थियो । उनले उत्तरी इङ्ग्ल्यान्डप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि उनलाई ‘उत्तरका राजा’ भनेर चिनाउन थालियो । सन् २०२५ देखि नै बर्नह्याम शीर्ष नेतृत्वका लागि खुला रूपमा सक्रिय देखिन थालेका थिए । यस वर्ष लेबर पार्टीको कमजोर प्रदर्शन, सुधार बेलायत पार्टीको बढ्दो लोकप्रियता र प्रधानमन्त्री स्टार्मरमाथि बढ्दो दबाबपछि बर्नह्यामको नाम अझै बलियो रूपमा अघि आएको हो ।
केही मन्त्रीहरूले राजीनामा दिन थालेपछि र सांसदहरूले नेतृत्व परिवर्तनको माग गर्न थालेपछि मेकरफिल्डका सांसद जोश सिमन्सले पद त्याग गरे, जसले बर्नह्यामलाई पुनः संसदमा फर्किने अवसर दियो । त्यसपछि उनी लेबरका उम्मेदवार बने र वेस्टमिन्स्टरमा आफ्नो पुनरागमन सुनिश्चित गर्न सफल भए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।